अनेसास न्युयोर्क च्याप्टरद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
न्युयोर्क, अप्रिल १८, शनिवार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरद्वारा नयाँ वर्ष वि.सं. २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम भव्य र अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
पूर्वीय समयअनुसार बेलुकी ८ बजे जुममार्फत सञ्चालन गरिएको उक्त कार्यक्रम च्याप्टरले निरन्तर गर्दै आएको साहित्यिक श्रृंखलाअन्तर्गत आयोजना गरिएको हो। कार्यक्रम नेपाली तथा अंग्रेजी राष्ट्रियगानबाट सुरु गरिएको थियो।
कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव नीरु न्यौपानेले कुशल, संयमित र आकर्षक ढङ्गले गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र जीवन्त बनाएको थियो। उहाँको संयोजन र सक्रियताले कार्यक्रमलाई अझ उचाइमा पुर्याएको अनुभूति सहभागीहरूले गरेका थिए। त्यसपछि च्याप्टर उपाध्यक्ष नदिया लिवाङले हार्दिक स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण साहित्यकार तथा सहभागीहरूलाई आत्मीय स्वागत गर्नुभएको थियो।
|
|
कार्यक्रमको सभापतित्व च्याप्टर अध्यक्ष श्री जानुका वस्ती ढकालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बहुआयामिक व्यक्तित्व, समकालीन नेपाली साहित्यका उज्ज्वल नक्षत्र तथा जीवनका कठिनतम् चुनौतीहरूलाई परास्त गर्दै पुनः साहित्य क्षेत्रमा सशक्त उपस्थिति जनाउनुभएका वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी रहनुभएको थियो।
विशेष अतिथिका रूपमा गोर्खामा जन्मिएर नेपाली भाषा-साहित्यप्रति समर्पित रहँदै न्यारेटोलोजीमा विद्यावारिधि हासिल गर्नुभएका साहित्यकार डा. वीरेन्द्र पुडासैनी सहभागी हुनुभएको थियो।
समय त आफ्नै किसिमले आइरहन्छ, गइरहन्छ, तर समयलाई चिनाउने भनेका हाम्रा कार्यहरूले नै हुन्। भाषा साहित्यको उन्नयनले नै राष्ट्रको उन्नति हुनेछ। नेपाल बाहिर बसेर पनि सृजनशील बन्नु माटोप्रतिको माया हो। यस्ता किसिमका कार्यक्रमले नेपाली धर्तीको समृद्धि हुनेछ भन्दै डा. पुडासैनी द्वयले खुशी व्यक्त गर्नुका साथै हौसला थप्नुभएको थियो।
मातातीर्थ औँशीको सन्दर्भसँगै आयोजना गरिएको यस कार्यक्रममा आमाको ममता, त्याग र प्रेरणालाई केन्द्रमा राख्दै विभिन्न सर्जकहरूले आफ्ना सृजनाहरू पस्किनुभएको थियो। आ–आफ्ना सृजनाहरू पस्कने क्रममा अनेसासका केन्द्रीय पूर्व उपाध्यक्ष राजेन्द्र श्रेष्ठले कवितात्मक शैलीमा शुभकामना व्यक्त गर्नुभएको थियो भने केन्द्रकै सदस्य शकुन ज्ञवालीले देशप्रेमले ओतप्रोत गजल प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी केन्द्रीय महासचिव राजु सिटौलाले “अंक फेरिएझैँ फेरिँदैनन् मान्छेका स्वभावहरू, अँध्यारा बस्तीमा उज्यालो जुन लागिदिए हुन्थ्यो” भन्दै आफ्नो शुभकामना सन्देश मीठो शैलीमा व्यक्त गर्नुभएको थियो।
यसै क्रममा बिओटी सदस्य/महिला सदस्य, समालोचक साहित्यकार रश्मि भट्ट, साहित्यकारहरू न्युयोर्क च्याप्टर पूर्व अध्यक्ष पूनम काफ्ले, उपाध्यक्ष शान्ता अधिकारी, निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाली भाषा तथा संस्कृति केन्द्रकी सञ्चालिका, आदर्श गुरुआमाबाट सम्मानित पद्मालिंखा मगर, नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष आनन्द श्रेष्ठ, डा. गोविन्द कोइराला, कवि कोइराला, ताराकिशन फाउन्डेशनका संस्थापक कवि किशन सिंह धामी, अनेसास न्युयोर्क च्याप्टरका सदस्यहरू शारदा क्षेत्री, सिन्धु पौड्याल, कोषाध्यक्ष पुष्पा अधिकारी गौतम, तुलसी एन, चित्रकार, सुधा तुलाधर थापा, गण्डकी पुत्र, कवि कोइराला, भगवती खनाल लगायतका सर्जकहरूले नयाँ वर्षको शुभकामनासहित कविता, गजल, हाइकु तथा मुक्तकमार्फत सामाजिक यथार्थ, प्रवासी जीवनका अनुभूति तथा पारिवारिक प्रेमका भावहरू प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको थियो।
यसै क्रममा च्याप्टरका सचिव विष्णु हरी भण्डारी र समाजसेवी पेसल ढकालले पनि उपस्थितिका साथ सहयोग पुर्याउनुभएको थियो।
नेपाली भाषा र साहित्यको जगेर्ना तथा प्रवर्द्धनमा निरन्तर रूपमा जीवन्त योगदान पुर्याउँदै आउनुभएका स्रष्टाको कदरस्वरूप च्याप्टरले प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनीलाई सम्मानपत्र प्रदान गरेको थियो। उक्त सम्मानपत्र च्याप्टर अध्यक्षले पढेर सुनाउँदै हस्तान्तरण गर्ने जानकारी दिनुभएको थियो।

अत्यन्त सुन्दर शैलीमा च्याप्टर महासचिव न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा आफ्नो व्यस्त जीवनबाट समय निकालेर कार्यक्रमलाई सफल पारिदिनुहुने, गौरवमय उपस्थिति जनाउनुहुने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै सधैं सल्लाह, सुझाव र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा च्याप्टर अध्यक्षले गर्नुभएको थियो।
यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच साहित्यिक एकता, आपसी सद्भाव तथा चिनापर्चीलाई अझ सुदृढ बनाउन सहयोग मिल्ने आयोजकको ठम्याइ रहेको छ।
