चिनारी मेरो   मीरा काफ्ले

चिनारी मेरो

मीरा काफ्ले

 

चाँदीको जस्तै हिमाल मेरो तराई सूनको
नेपाली चित्त बिशाल मेरो, होइन बित्तको।
कर्मठ मेरा हत्केला छन ठेलाले ससक्त
सिमाना पनि भत्किन दिन्न बन्दछु स्तम्भ

जङ्गल जल जमिन पनि रक्षार्थ खट्दछु
गुरिल्ला बन्छु लुकेर बरु छेप्यास्त्र फाल्दछु
माटोको टिको माथमा मेरो चिनारी टड्कारै
भालेको डाक काट्दिन नित्य उठ्दछु सखारै

टुक्रिन दिन्न आमाको ज्यान ढालनै बन्दछु
उल्लुका आँखा सापटी लिइ रातमा बल्दछु
आमाको माया आशिष भए कमिन्छ सम्पत्ति
समयले ब्याधी लिएर आयो पारेर बिपत्ति

घर्बारी सबै बाँझियो अब माटोको आग्रह
उर्वर भूमि समय छनी जुटेर सम्हाल
कोरोना जीव निमित्त भयो गाँउले बोलायो
कृषिमा क्रान्ति गाँउमा शान्ति औसधि रचायो

चियाका बुट्टा पूर्वीय छ्टा सुन्दर बाटिका
उत्तिस चाप सखुवा सिसौ अग्राख बृक्षका
पीयूष जल गण्डकी काली शीरमा सिंचिदै
गर्मीको डाह शीतल गर्छ कर्ममा होमिदै

मदेशी भैया पहाडी लुङ्गा काँधमा मिलेनी
सेर्पिनी दिदी थरुनी बैनी आपसी मितिनी
बेदका ब्यास किराँती शिव खेलेका आँगन
पबित्र धरा नेपाली पारा जोगाइ समेट्न ।

ह्लोत्सार छेर्ता जितीया बीउ तिहार देउसी
बालन रोदी बिस्केट छठ साकेला रत्यौली
चिनारी हाम्रा ऐस्वर्य राम्रा जोगाउ संस्कृति
आफुनै बिते रोगले टिपे केगर्नु सम्पत्ति !

मनमा माया मुटुमा माया देशकै छाओस
भाग्यमा भन्दा कर्मको जोड सदैव रहोस
सुरक्षाआफ्नो आफैले गर अरुले गर्दैन।
क्रान्तिमा शान्ति नरहे सम्म विकास हुंदैन।

छेर्ता= झापा र मोरङका विभिन्न क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत किसान जातिको मुख्य पर्व।

झ्याउरे छन्द १६ अक्षर

प्रतिकृया दिनुहोस्