आह्वान छ तिमीलाई

आह्वान छ तिमीलाई

जमुना क्षेत्री, इटहरी,  सुनसरी

गर्नु छ खेती जीवनको
परिश्रमको बाली काटेर सम्पूर्ण
भर्नु छ भोकोपेट निमुखाको
अनि अराजक मनुवालाई
नार्नु छ खलोको मियोमा
दँगेरे भएर तिमी र म
ओल्टाइपल्टाई पारेर अखनीले
उरेल्नु छ सामाजिक कुरीतिलाई
बनाउनु छ पराले त्यान्द्रा
र, निमिट्यान्न पारेर
पुर्नु छ विभेदित खाडल ।

वेदनाको विशाल तालभित्र
नतमस्तक भएर पौडिरहेको बेला
बनेर पानीकवच वस्त्र तिमी
उतारेर तालको किनारमा मलाई
जिउनु छ तृष्णारहित जीवन ।

जिन्दगीको फलामे दराजभित्र
लिएर साथ तिम्रो बाहुबलको
ठड्याउनु छ सपनारुपी स्तम्भलाई
पोतिएका कुसंस्कृतिले विधवाका
कोर्नु छ सुन्दर सफेद क्यान्भासमा
मेरो मुटुको रङमा चोपलेर कुची
कोर्नु छ तिमीले रङ्गीन सुन्दर चित्र ।

बर्सौंदेखिको अनवरत निशामा
कोरेर तिमीले सलाईको काँटी
सल्काउनु छ मेरो मनको दियो
छर्नु छ ज्योति जीवन जगत्मा ।

आह्वान छ तिमीलाई मेरो
आँसुले भरिएका दहलाई
काटेर मञ्जुश्रीको खड्गले
बसाल्नु छ बस्ती आँखाभरि
बन्नु छ तिमीले भीमसेन थापा
बनाएर मेरो मनमा विशाल धरहरा ।

(इटहरी, सुनसरी निवासी कवि बाल्यकालदेखि नै साहित्यको क्षेत्रमा अनवरत क्रियाशील रहनुभएको छ । उहाँका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँको कविता कृति प्रकाशनको मझेरीमा रहेको छ ।)

प्रतिकृया दिनुहोस्