मातृका दाहाल र दीपा दाहाललाई “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार”

२०८१ असार ३०, काठमाडौं ।

अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित “भ्रष्टाचार विरुद्ध”को “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार” पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय गरेको छ ।

दुई लाख राशिको “भ्रष्टाचार विरुद्ध”को “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार”को नतिजा प्रकाशित गर्दै नेपाली पत्रकारितामा चर्चित प्रकरणहरुमा निष्पक्षतवरमा निडर भएर समाचार सम्प्रेषण गर्नुहुने कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको हेम-सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वा जारी बिज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सक्रिय छ । यहीमध्येको अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार” पत्रकार दाहालद्वयलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष लेकालीले बताउनुभयो ।

वि. स. २०४१ असार २९ गते पञ्चन, सोलुखुम्बुमा जन्मिनु भएका पत्रकार मातृका दाहाल नेपाल पत्रकार महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को पनि सदस्य हुनुहुन्छ ।

उहाँले उजागर गर्नु भएका नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण, बालमन्दिर जग्गा अपचलन प्रकरण, पशुपतिनाथ जलहरी हिनामिना प्रकरण, सहकारी बचत अपचलन प्रकरण, नेपाल प्रहरीको हतियार खरिदमा भएको अनियमितता, पतञ्जली जग्गा अपचलन प्रकरण, राष्ट्रिय परिचयपत्र प्रकरण, नवलपरासीको रामग्रामको १ सय २० बिघा जग्गा हिनामिना प्रकरण चर्चित अनियमिततता तथा घोटालाका रूपमा स्थापित छन् ।

राष्ट्रिय सुरक्षा तथा अपराध, सुशासन, जनचासो र समसामयिक विषयमा केन्द्रीत पत्रकारिता गर्नु हुने दाहालले खासगरी राज्य संरक्षित तथा नीतिगत भ्रष्टाचार र यसबाट देशलाई भएको अहितका विषयमा खोजविन गर्नुहुन्छ ।

पत्रकार मातृका दाहालले कान्तिपुर भन्दा अघि कारोबार आर्थिक दैनिक, नागरिक दैनिक, दिव्यदर्शन र रहस्य साप्ताहिक जस्ता विभिन्न संचार माध्यममा योगदान काम गरिसक्नु भएको छ ।

हाल उहाँ कान्तिपुर दैनिकमा वरिष्ठ उपसम्पादक हुनुहुन्छ । विगत गत १८ वर्षदेखि पत्रकारिता गर्दै आउनु भएका मातृका बारबरा फाउण्डेसन खोजपत्रकारिता पुरस्कार २०८१, सेजन खोज पत्रकारिता पुरस्कार २०८० र २०७६, बाट पुरस्कृत भइसक्नुभएको छ ।

यसैगरी दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुशासन अवार्ड–२०८० र २०७९, नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जालबाट इञ्जा खोजपत्रकारिता पुरस्कार–२०७९, कान्तिपुर दैनिक वर्ष पत्रकारिता पुरस्कार–२०७८ पाइसक्नु भएको छ । पत्रकार मातृकाले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातक गर्नु भएको छ भने पत्रकारितामा विभिन्न तालीम तथा प्रशिक्षणहरूसमेत लिनुभएको छ ।

यसैगरी वि. स. २०४७ वैशाख १९ गते वीरेन्द्रनगर नगरपालिका -१२, सुर्खेतमा जन्मिनु भएकी पत्रकार दीपा दाहालले बालमन्दिर जग्गा अपचलन तथा नेपाल बाल संगठनको बालगृहबाट बालबालिका बेचबिखन प्रकरण, बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरण, विमानस्थल निर्माण प्रकरण, चिया विकास निगम जग्गा प्रकरण, खानेपानी प्रकरण र जुद्दोदय स्कुल प्रकरण जस्ता भ्रष्टाचार विरुद्धमा समाचार सम्प्रेषण गर्नु भएको छ ।

शिक्षा, वातावरण, स्वास्थ, वैदेशिक मामिला, महिला सशक्तीकरण र राजनीति लगायतका विषयमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार दीपा दाहाल सुशासन, जनचासो र समसामयिक विषयमा केन्द्रीत पत्रकारिता गर्नु हुन्छ । दाहालले नीतिगत भ्रष्टाचार र यसबाट देशलाई भएको अहितका विषयमा खोजविन गर्नुहुन्छ ।

पत्रकार दीपा दाहालले रेडियो भेरी, जागरण एफ. एम., रेडियो कान्तिपुर, अन्नपूर्ण राष्ट्रिय दैनिक, देश संचार (अनलाइन) र उकालो डट कम जस्ता विभिन्न संचार माध्यममा योगदान गर्नु भएको छ ।

विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आउनु भएकी दीपा दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरुबाट पुरस्कृत र सम्मानित भइसक्नु भएको छ ।

उहाँले बारबरा फाउण्डेसन खोजपत्रकारिता पुरस्कार २०२४, एन. आर. एन. इन्टरनेसनल जर्नालिजम अवार्ड २०१५, विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ तथा उमा सिंह स्मृति पत्रकारिता पुरस्कार लगायतबाट सम्मानित र पुरस्कृत भइसक्नु भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा पत्रकारिता विषयमा अध्यापन गर्नुहुने पत्रकार दीपाले पूर्वान्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गर्नु भएको छ भने भारत सरकारको इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनमा विकास पत्रकारिताको अध्ययन तथा पत्रकारितामा अन्य विभिन्न प्रशिक्षण लिनु भएको छ ।

यसअघि हेम- सरिता पाठक फाउन्डेसनले एक लाखको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१”को उत्कृष्ट पच्चीस र एक लाखको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१” को लागि भ्रष्टाचार “विरुद्धको गीत प्रतियोगिता”को नतिजा घोषणा भइसकेका छ ।

यस्तै प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ ।

यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।

पुरस्कार निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्