अनेसासकी आमा “नन्दादेवी सुवेदी स्मृतिग्रन्थ” बजारमा

२०८१ भदौ ६ गते बिहीवार ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदीकी धर्मपत्नी तथा अनेसासकी आमा अनेसासकी संस्थापक सदस्य नन्दादेवी सुवेदीको स्मृतिग्रन्थ बजारमा आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिले प्रकाशन गरेको यस ग्रन्थ अध्याय १ देखि अध्याय ७ सम्म र परिशिष्ट र आवरणसहित गरी ४४२ पृष्ठको रहेको छ । ग्रन्थको लोकार्पण आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेन पोचुर्गलमा भएको थियो । तात्कालीन अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको प्रकाशकीय मन्तव्य रहेको यो ग्रन्थको सम्पादन मण्डलमा डा.कल्पना सत्याल, गणेशकुमार जिसी, गुणराज लुइटेल, जगन्नाथ पौडेल, पुरुषोत्तम सुवेदी, प्रकाश सुवेदी, विमला निरौला, भीमप्रसाद रेग्मी, होमनाथ सुवेदी रहेका छन् । ग्रन्थको आवरण डिजाइन तथा आकृतिविन्यास सम्पादक रमेश दाहालले गरेका हुन्।

सम्पादन मण्डलका अनुसार— “नन्दादेवी सुवेदी स्मृति ग्रन्थ यो नन्दाको अन्त्येष्टिक्रिया भएको लगत्तै थोरै समयभित्रमा प्रकाशित भएको छ । यसमा भिडियो रेकर्डिङ डकुमेन्टलाई सारेर टाइप गरेर, सम्मान गरेर प्रकाशन विमोचन पनि गराउन तयार गर्नु सजिलो थिएन । यस्तो द्रुतगतिमा काम गरे गराएको अनेसास केन्द्र र च्याप्टरहरू धन्यवादका पात्र छन् । दिएको काम नौजना सम्पादकको जत्थाले मरिमेटेर नलागेको भए यो ग्रन्थ तयार हुने नै थिएन । नन्दा जनवरी १५, २०२४ मा दिवङ्गत हुनु भएको थियो । यो छोटो समय करिब २.५ महिनामा सबै काम सकेर २७ मार्च २०२४ को नेपाली साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन पोर्चुगलमा विमोचन गराउन पनि सकिने थिएन । यस्तो कार्य सम्पादनको लागि सम्पादन परिषद्का सदस्य सबै आफैमा धन्यवादका पात्र छन् । त्यो त प्रकाशकको तर्फबाट अनेसासका अध्यक्ष गोवर्धन पूजाजीले लेख्नुभएकै छ ।

यो कृति खासगरी नन्दाजी स्वर्गे भएपछि गरिने अन्त्येष्टिक्रियापछि तेह्रदिनभित्र भएका साहित्यिक शोकसभामा प्रस्तुत गरिएका साहित्यिक संस्मरणहरूलाई मात्र समेटेर तयार गरिएको छ । कोही मित्र साहित्यकार यो कृतिमा छुट्नुभएको छ भने त्यो उहाँको शोकसभामा भएको अनुपस्थितिको कारणले हो किनकि पूर्वयोजना विना नै तेह्र दिनभित्रकै शोकसभामा घोषणा गरिएको थियो । यी शोकसभामा प्रस्तुत भएका संस्मरणहरूको सङ्कलन गरेर स्मृति ग्रन्थ प्रकाशित हुनेछ । त्यसैले त्यही शोकसभामा भाग लिएकालाई मात्र यसमा समेट्न खोजिएको हो ।

यो यसप्रकार क्रियाकै अङ्ग जस्तै गरी एउटी महिलाको स्मृतिग्रन्थ तयार भएर महिला दिवसकै दिन विमोचन भएको घटना विरलै होलान् । जे भए पनि नन्दा आमाले जिउँदो हुँदा त पुस्तकाकार कृति नलेखेर पनि नेपाली साहित्यको सेवा गरेकी थिइन्, मरेर गएपछि पनि यो उनको नाउँमा निक्लेको स्मृति ग्रन्थले नेपाली साहित्यमा यौटा ग्रन्थ इटा थपेको छ । विदेशबाट नेपाली भाषाको सेवामा प्रस्तुत भएको छ र महिलाको प्रोत्साहनमा उपस्थित छ । यसैगरी अन्त्येष्टिक्रियाको अन्तमा अन्त्येष्टिक्रियाको बेलामा शोकसभा गरेर त्यसलाई भाषा साहित्यसित जोडेर यौटा साहित्यिक रचनाको सङ्ग्रह स्मृति ग्रन्थको रूपमा प्रकाशन गर्ने यौटा गौरवशाली परम्परा बन्न सक्छ । यो भयो भने स्वतः प्रवासमा नेपाली भाषा साहित्यको विकासमा ठूलो टेवा पुग्छ । किनभने यो घटना र यसका सहभागी तथा दर्शनले नेपाली भाषा नै बोकेको हुन्छ र नयाँ पिँढीका बालबालिकाहरूको रचना अङ्ग्रेजी भएको भए पनि त्यो सम्प्रेषणले नेपाली सँस्कृति बुझाउँछ र यसप्रतिको मायालाई जगाउँछ । यो स्मृतिग्रन्थ यसरी आयो कि पूर्वयोजना बिना नै यो आयो । श्रद्धाञ्जली र समवेदनाको रूपमा आयो । त्यसैले यसमा मानव मनको यथार्थ प्रस्तुति छ । जीवनको सटीक व्याख्या र दर्शन पनि सन्निहित छ ।

नन्दाजीका विशिष्ट कुराहरूमा जन्मनु विवाह हुनु छोराछोरी पाउनु मात्र त नभै नहुने कुरा हो पाशविक सत्य हो आहार निन्द्रा भय मैथुनं च सामान्यमेतद् पशुभिर्नराणाम् । यसभन्दा माथि उठेर उहाँले समाजलाई दिएको योगदान उल्लेखनीय छ । एएन्एसको मञ्चमा गाएका लोकगीतहरू, नेपलिज अमेरिकन काउन्सिल (नाक)को सेकेण्ड नेशनल कन्भेन्सनमा गाएका लोकगीतहरू, एएनएका सम्मेलनका साँस्कृतिक कार्यक्रममा गाएका लोकगीतहरू र अनेसासका स्थापनाकालमा पहिलो आकर्षण नै उहाँको लोकगीत र नृत्य नै हुन्थ्यो अनि नेपाली भाषा साहित्यसेवी र यसका अतिथिहरूको सत्कार र अनेसासको संस्थापक सदस्य नै भएर उहाँले दिएको प्रेम, माया र सेवाको कदर गर्दै नन्दादेवी सुवेदीलाई अनेसास केन्द्रले ई १९९६ मा र अनेसास डिसी च्याप्टरले गरेको अभिनन्दन, सम्मान, ‘अनेसासकी आमा’ नामक पदवी महत्वपूर्ण कडी थिए । पछि पनि उहाँलाई सम्मानपत्र राजदूतको हातबाट दिइएको थियो । नारी दिवसका सम्मान, नन्दाको काम र सेवाको सम्मानमा भीमप्रसाद रेग्मी, पुरुषोत्तम सुवेदी र रीता प्रधानको प्रायोजनमा अनेसासले घोषणाा गरेको अनेसास नन्दादेवी सुवेदी लोक साहित्य पुरस्कार महत्वपूर्ण छन् । यसमा कुनै आश्चर्य मान्नुहुँदैन र अचानक नन्दाको निधनको अवसरमा शोकसभाहरू भए र यो कृति पनि आउनु नै थियो, आयो ।

नेपाली भाषा साहित्य, कला र सँस्कृतिको सेवा धेरै प्रकारले गर्न सकिन्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण पनि हो । हामीले सम्पादन गरेको यो स्मृति ग्रन्थमा हामीले नै धेरै कुरा बोल्नु ठीक पनि हुन्न । यो कृति पाठकको अगाडि छ । मूल्याङ्कन गर्नुहोला । यसले अरू धेरै नरनारीको स्मृतिग्रन्थ तयार गरेर परोक्षमा नै भए पनि भाषासाहित्य र दर्शनको क्षेत्रमा योगदान पुर्याउन टेवा देओस् भन्ने कामना गर्दै यो कृति सम्पादन गरिएको छ । यो कृतिमा कविता, कथा, संस्मरण, फोटा, शोकसभामा उपस्थित सबैप्रति आभार व्यक्त गर्छौँ र नन्दा आमाप्रति श्रद्धाञ्जली र परिवारमा भावपूर्ण समवेदना प्रकट गर्दछौँ ।”

नन्दादेवी स्मृतिग्रन्थ अध्ययनका लागि तलको पिडिएफ फाइल खोल्नुहोस् ।

final All page-compressed

प्रतिकृया दिनुहोस्