आऊ हे शुभ्र मोती
– आऊ हे शुभ्र मोती –
सुदीपभद्र खनाल
 
सारा यो सृष्टिमा छन् जति चिज गुणले छन् सबैनै अपूर्ण
जस्तै होस् शक्तिशाली तरपनि मुलुकी प्राप्ति मानिन्न पूर्ण ।
बुझ्दै जाँदा धरामा मनुजमन छुने ज्ञान मात्रै छ सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो ।
 
सम्झन्छौँ सिर्जनामा टलक थपिदियौ टल्किए भानुभक्त
नौलो ल्यायौ विधामा गजल गति दियौ मण्डलीमा प्रशस्त ।
हे प्यारा दिव्य तारा क्षितिजसरि अझै लेखनी लाग्छ अग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो ।
 
तिम्रो त्यो पत्र पढ्दा अझपनि घरका प्रेयसी स्तब्ध हुन्छन्
मायाको बोल बोल्ने गजल प्रबल हुँदा अश्रुधारा बहन्छन् ।
सानो तिम्रो हुँदानै वय मृदु कविता धार हो तीक्ष्ण सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो ।
 
अर्काको कीर्तिलाई चमक थपिदिने मोती साँच्चै महान
स्वार्थी छन् आज धेरै शयर अति अहम् को चढेझैँ विमान ।
सोझा चढ्छन् सुलीमा समय बदलिँदा चोरको सान सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो ।
 
नेपाली कीर्ति उच्चा युगुनयुग हुने काव्यका धार ल्यायौ
नौला नौला विधामा सबल कलमले झल्ल भै चम्चमायौ ।
तिम्रो गाथा सुनौलो अनुपम कविता भित्र सौन्दर्य सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो ।
प्रतिकृया दिनुहोस्