नानीबाबाको ‘मायामा माया’ सार्वजनिक

ललितपूर । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाकक्षमा हालै सम्पन्न एक साहित्यिक कार्यक्रमका बिच मुक्तककार नानीबाबा अधिकारीको ‘मायामा माया’ मुक्तकसंग्रह सार्वजनिक गरिएको छ ।
गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने लगायत व्यक्तित्वहरुले उक्त मुक्तक कृतिको लोकार्पण गरे ।
नेपाल स्रष्टा समाजको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि खरेलले पछिल्लो समयमा मुक्तकमा प्रगति भएको चर्चा गर्दै अभियन्ताहरुलाई धन्यवाद र कृतिकारलाई बधाई दिए ।
समाजका संरक्षक पवन आलोक, पूर्व अध्यक्ष कवि विधान आचार्य, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, मुक्तककारका पिता मुक्तिनाथ खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मुक्तककार अधिकारीले स्कूल पढ्दा गुरुले वाचन गरेको कविता सुनेर साहित्यमा प्रवेश गरेको, सुनाइदेखि भोगाइसम्मका कुराहरुले लेख्न प्रेरित गरेको तथा साहित्यकार विधान आचार्यले घच्घचाएर कृति निकाल्न सफल भएको बताइन् ।
समालोचक डा. शान्तिमाया गिरीले मुक्तकहरु उमेर,समय र अनुभवको त्रिवेणी रहेको भन्दै लोकार्पित मुक्तकसंग्रह पठनीय भएको टिप्पणी गरिन् ।
कार्यक्रमका सभापति एवं स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले एउटै विषयमा चार सय पचास थान मुक्तक लेखेर प्रकाशन गर्ने आँटको निम्ति मुक्तककारलाई बधाई दिए । उनले मुक्तक अभियानमा नेपाल मुक्तक प्रतिष्ठानको भूमिकाको चर्चा समेत गरे ।
समाजका सचिव प्रकाश घायलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समाजका सदस्य माधव बिंडारी चेतनपथले गरेका थिए ।
चार सय पचास थान प्राय: श्रृङ्गारिक मुक्तक समाविष्ट अधिकारीको सो पहिलो मुक्तक संग्रह हो ।