नयाँ वर्षको उपलक्ष्यमा ‘ठमेल काव्योत्सव’

काठमाडौं । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा काठमाडौंमा ठमेल काव्योत्सव सम्पन्न भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजना र चि:वहाल परिवारको सह-आयोजनामा ठमेलको चि:वहालमा उक्त काव्योत्सव सम्पन्न भएको हो ।
काठमाडौं महानगरपालिका २६ नं. वडाका वडाध्यक्ष ख्यामराज तिवारी, बरिष्ठ कवि, चलचित्र निर्देशक तथा गीतकार राजेन्द्र शलभ र विशिष्ठ लोक गायक मच्छेश्वर सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका उक्त काव्योत्सवमा तीन दर्जन कविहरुले आ-आफ्नो रचना सुनाएका थिए ।
कार्यक्रमका विशेष अतिथि वडाध्यक्ष ख्यामराज तिवारीले कविहरुको कलम समाजका नकारात्मक कुराको विरुद्ध चलोस् भन्दै समाजलाई सही र व्यवस्थित दिशातर्फ लैजाने त्यस्ता कार्यक्रममा आफू सहकार्यको निम्ति हरदम तयार रहेको बताए ।
अर्का विशिष्ठ अतिथि कवि राजेन्द्र शलभले कविता सुनाउँदै आयोजक संस्थालाई धन्यवाद दिए भने लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत गाउँदै विकृति र विसंगति विरुद्ध दर्विलो आवाज उठाउन जरुरी भएको बिचार व्यक्त गरे ।
अतिथि स्नेह सायमीले चिस्वहालको बारेमा आफ्ना कुरा राख्दै आफ्नो कविता सुनाएका कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले सुनकोसी वाङ्मय प्रतिष्ठानले स्थापनाको शुरुवातदखि नै उल्लेख्य साहित्यिक गतिविधिहरु सञ्चालन गरेकोमा खुशी व्यक्त गरे ।
सो काव्योत्सवमा श्रीबाबु कार्की, डा.अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियेशरत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, दिपक चौलागाई, सुष्मा आचार्य ‘अंशु’, शशीश्री आचार्य, रुपा रिसाल, धुर्व थापा पुरुष, राजुबाबु श्रेष्ठ, माधव विंडारी, लक्ष्मण सापकोटा, रमा अधिकारी ‘कादम्बरी’, गंगा थापा अधिकारी, मिनकुमार नबोदित, पूर्णबहादुर श्रेष्ठ ह्रदयंकृत, विष्णु थापा, गोविन्दराज पौडेल लगायतका कविहरुले आफ्ना काव्यिक रचना सुनाएका थिए ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न काव्योत्सव महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेका थिए भने उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखेका थिए ।