कोपेनहेगन बन्दरगाहको झिलिमिली

डिल्ली अम्माई

ब्याक्तिले आर्जित गरेको शारीरिक वा मानसिक दुख सुख सबै प्राय ब्याक्तिगत हुन्छन् । जतिसुकै घनिष्ट मित्र वा आफन्त नै भएपनि एउटाको मानसिक दुख अर्कोले प्राय बेहोर्दैन/बेहोर्न खोज्दैन। दुखहरु दुवै आयामभित्र एकापसमा निबद्ध छन्। अन्त्यमा शरिरको दुख पनि भावात्माले धान्न सक्दैन र शरीरबाट प्राण अलग्गीन्छ। तर मेरो मानसिक दुखलाई मबाट आश्रव्क्षय गराउन मद्दत गर्ने एउटा भाई छन् डेनमार्कमा। उनलाई भेट्ने र मन साट्ने धोको यो पटक समयले पुरा गरायो।

 उनै सुरेन्द्र भाई अहिलेको बर्खे बिदामा पेरिसको पाँच दिने अबलोकन भ्रमण लगत्तै डेनमार्क जाने परिस्थितिको लागि निर्णायक बने। उनले अघिल्लो वर्ष पनि हामीलाई डेनमार्क बोलाएका थिए। ‘कहिले आउने हो र दाई यता !’ फोन गरे लगत्तै उनको यहि प्रश्न हुन्थ्यो। भान्जा प्रकाश र खगेश्वर दाजुका छोराहरु क्रमश श्याम र शालिकले पनि त्यहि प्रकारको सोधनी गर्ने गर्थे। प्रिय भाई सुरेन्द्र अम्माई र श्याम छोराको डेनमार्क घुम्न आउने पटक पटकको आग्रहलाई स्वीकृति दिनु पुर्व मैले कोपन्हेगेन शहरको मोटामोटी जानकारी खोजेँ। त्यहाँ घुम्न लायक र एक लेखकको लागि लेख्य जानकारी दिन योग्य महत्वपुर्ण प्राकृतिक,सांस्कृतिक,ऐतिहाँसिक र आधुनिक स्थानहरुको लिष्ट बनाएँ। एक लेखकको लागि आफुले जाने बुझेका ठाउँ चिजहरुको महत्वबारे अरुलाई पनि जानकारी दिन पाउनु भन्दा खुशीको कुरा के हुन सक्छ र !

सुचनाको लागि चाहिने प्रारम्भिक कुराको जानकारी लिएर नर्डिक देशहरूको सुदूर दक्षिण भागमा स्थित डेनमार्क जाने योजना बन्यो ।

जुलाई २७ बेलुकाको ८ बजेको लागि हामीले कोपनहेगेन जाने फ़िलिक्स बसको टिकट किन्यौ। बस छुट्ने समय भन्दा करिव २० मिनेट अगाडी नै जीवन संगिनी तारा र म बेल्जियम स्थित आन्त्वेर्पेनको ‘रोजबेल्ट’ बस स्टेशनमा पुगी सकेका थियौँ। फिलिक्स बस छुट्ने समय भन्दा आधि घण्टा ढिलो आयो। हाम्रा लगेज बसको क्याबिनमा राखेर सिटमा गएर बस्यौँ। झण्डै २० मिनेट पछि बस हिड्यो। फिलिक्स एक्सप्रेस हाइवेमा प्रवेश गरेपछि रहरलाग्दो हरियालीले सुरक्षा घेरा बनाएका बेल्जियमका उत्तर पूर्वी गाउँहरु चिर्दै बायु बेगमा हुइकिइ रह्यो। मकैका लहलह बारी,कतै कतै आलुबारिमा आलुका हरिया पातले पुरिएका माटाका घेराहरु,कतै मानिसले खनेका कृत्रिम क्यानल र क्यानल माथि तैरिएका डुंगाहरुलाई हावाका साउतीबाट बाइबाइ गर्दै निदरल्याण्डको ठुलो शहर इण्डहोबन पुगेको हामीलाई पत्तै भएन। आकाशमा प्रकाशको साम्राज्य हट्दै गर्दा हाम्रा आँखाको नानि वरिपरि काला बेलुनहरु झुण्डिन थालि सकेका थिए। त्यहाँबाट केहि यात्रु चढाएर बस जर्मनीको डुसेल्डोफ़तिर हिड्यो। रात छिप्पिदै गएकोले बसभित्रका बत्तीहरु निभाउदापनि घरको अगाडी बलेका बत्तिका लहरहरु बाहेक केहि देखिएन। बुढा-बुढीले लगेका सुक्का खाजा आधाआधि डुसेल्डोफ़ पुगी नसक्दा सकिएका थिए। उज्यालोमा बाटोको बियालिने माध्याम दृश्य भए जस्तै अँध्यारोको सुक्का खाना हुने रहेछ।

रातको ठिक १२:४०मा बस जर्मनीको डुसेल्डोफ़ पुग्यो। बसको गन्तब्य त्यहीँसम्म भएकोले हामीले कोपनहेगेंन जाने अर्को बस कुर्नुको अर्को विकल्प हामीसंग थिएन। हामीलाई अर्को बस कुर्न झण्डै एक घण्टा लाग्यो। चिसो मौसम भएको भए हामीलाई एक घण्टाले अत्याउने थियो। तर समर हुनाले हामीलाई त्यो समय बिताउन खासै केहिजस्तो लागेन।

मैले घण्टा बिताउन चाखलाग्दा केहि कुराहरु छन् कि भनेर डुसेल्डोफ़को बस स्टेशन वरपर घुरिरहें। सबै यात्रुहरुले नयाँ गन्तव्यको लागि आएका बसहरु आफ्नो होकी, हैन भनेर बुझ्न दौडी रहेका हुन्थे। जर्मन भाषा नबुझ्नेले अंग्रेजीमा ड्राइभरहरुसंग सोधी रहेका हुन्थे भने ड्राइभरले झिजो मानि मानि यात्रुहरुलाई जानकारी दिई रहेका हुन्थे। अरुको सिको गर्दै मैले पनि उनिहरुले झैँ गर्दथेँ। अचम्मको कुरा त्यहाँको अन्तराष्ट्रिय बस स्टेशनमा बसका गन्तब्य समयको तालिका देखिन।

स्टेशनको एक दृश्य, एकजना पियक्कडले यात्रुहरुलाई थर्काएर पिसाब फेर्नकोलाई पैसा मागी रहेको थियो। ताराले पैसा तिरेर त्यसलाई सार्वजनिक फ्रेस हाउसको ढोका खोल्दिनु भनेर मलाई कर गरिरहेकी थिइन्। मैले यो फ़्रड हुन सक्छ भनेर त्यसोगर्न मानिरहेको थिइन। कतिपय सहरमा रातको समयमा यात्रुहरु लुटिएका घटनाहरुबारे मैले सुनेको थिएँ। पेरिसमा त एक पटक म आँफै पनि त्यस्ता घटनामा परेको थिएँ। त्यसले म रातको अँध्यारोबाट भन्दा मान्छेहरुबाट बढी तर्सिन्छु।

करिव एक बजे हाम्रो बस पनि अड्डामा आएर उभियो। तारालाई झोला र लगेज हेर्न लगाएर म बस भएतिर लम्किएँ। बसको नम्मर टिकटमा भएको नम्मरसंग मिलेपछि मैले ड्राइभरलाई सोध्ने लेठा नगरी तारालाई बोलाएँ। लगेजहरु बसको क्याबिनमा राखेर आफ्नो सिटमा गएर बस्यौँ। बस खचाखच भरिएको थियो। बस हिड्न बेर गरेन;शहरलाई छिचोलेर हाइवेमा पस्यो। रातको अँध्यारोमा बलिरहेका बत्तिहरुबाट जर्मनीका गाउँ शहरको मनभित्र नक्सा कोर्दै उत्तरतिर हुइकिरह्यौँ।

अचानक बस भित्रै म कतिबेला निदाएछु पत्तै भएन। बस ‘फ़्लेन्सबर्ग’ पुगेपछि म ब्युझिएँ। म ब्युझिदा बस रोकिएको थियो। त्यहाँ केहि जर्मन यात्रीहरु झरे र केहि डेनमार्क जानको लागि चढे। फ़्लेन्स्वर्ग पनि जर्मनी र डेनमार्कको सिमा शहर रहेछ। शहर सबै हरियालीले ढाकेको। त्यो शहर काटेपछि बस डेनमार्कको इरित्सो शहरमा केहीबेर रोकियो। उक्त शहर डेनमार्कको दक्षिण-पश्चिम अर्थात जुटल्याण्डमा पर्दछ। त्यो शहर पछि आउने पुल तरेर हामी डेनमार्कको फ़ुनेन टापुमा अबस्थित ओडेन्स शहरमा पुगेपछि बसबाट केहि यात्रीहरु झरे। लगत्तै शहरलाई चिरेर जिल्याण्ड टापु र फ़ुनेनलाई जोड्ने बिशाल पुलमा पुग्दा बिहानको ११ बजिसकेको थियो।

उज्यालोमा हामीले नाइबर्गको बिशाल पुलमाथि गुड्दै ग्रेटवेल्ट खाडीमा चम्कि रहेको पानीको निलो गहिराइबाट परावर्तन भएको सुर्यको प्रकाश र हरियालीमा लुकेका साना बस्तिको मन लोभ्याउने दृश्यपान गर्दै हाल्स्कोभ छोडेर पेडेसवर्ग पुग्यौँ। त्यहाँ पनि केहि यात्रीहरु बसबाट बिदा भए। करिव बिस मिनेटपछि त्यहाँबाट बस हिड्यो। हामीहरु ‘कोगे’ हुँदै कोपनहेगेंनको कार्स्तेन निएबुर्स गाड, ३० स्थित बस टर्मिनल पुग्दा दिनको करिव २ बजेको थियो।

बसबाट झरी सकेपछि मैले भाई सुरेन्द्र अम्माई र भान्जा प्रकाश कंडेल हामीलाई लिन आएको हुनु पर्छ भनेर टर्मिनलको यताउता हेरेँ। अलिक पर हाम्रा भाञ्जा जस्तै लाग्ने एक दारिवाल उभिएका रहेछन्। उस्तै मान्छे अरुपनि हुन सक्छन् भन्ने लागेर मैले उनलाई बोलाउन नसकेपनि नजिक पुगेर चियाएँ।

“ए ल मामा माइज्यु डेनमार्कमा तपाइहरुलाई स्वागत छ।” डेढ़ दशकपछि भेट भएका भान्जालाई मैले अँगालो हाली एकापसमा मायाँ पोख्यौँ।

‘अनि खै त सुरेन्द्र मामा ! ‘मलाई आफ्नो खर्च दिएर बेल्जियम पठाउने मेरो प्रिय भाई सुरेन्द्र अम्माईबारे भान्जासंग जिज्ञासा राखेँ।

‘मामा पुरानो बस पार्कतिर जानु भएछ,टर्मिनल यता सरेको उहाँहरुलाई थाह रहेनछ। यतै आउदै हुनुहुन्छ,मेरो भर्खरै कुरा भयो मामा।’ भान्जाले एकै स्वासमा जवाफ फर्काउनु भयो।

तिनै जना करिव दश मिनेटजति दुख सुखका गफ गरेर त्यहि उभियौँ। टर्मिनलहरुमा यात्रुहरुको भिड नै थियो। त्यतिकैमा प्रिय भाइ सुरेन्द्र र हरि भट्टराई हामी भएको ठाउँमा आइपुगे। धित मरुन्जेल दुई भाइले अंकमाल गर्यौँ। त्यतिन्जेल हामीले भान्जासंग फोटो खिच्न भ्याई सकेका थियौँ। टर्मिनलको पछाडीपट्टि रहेको बहुआयामिक कोण भएको बिशाल भवनको दृश्य लिएर पुन भाइहरुसंग केहि तस्विरहरु लिई भाइको गाडी पार्क गरेतिर सोझियौं।

युरोपको अति बिकशित देश, जिल्याण्ड र अमागर टापुमा अबस्थित डेनमार्कको राजधानी साइकल यात्रुहरुको शहर,कति सान्त रफ्तारमा चलेको छ त्यहाँको स्वच्छ हावा। अहा ! मनमा अनौठो ठाउँका मनमोहक दृश्य, त्यहाँको जनजीवन र मानव खुशीको रहस्य बुझ्न पाउने रहरले मन चंगा झैँ उडेको थियो। त्यहाँ पनि छ हाम्रो रगतको सानो संसार,अम्माई परिवारका लगभग एक दर्जन रगतहरु बर्षौदेखि चलमलाई रहेका छन् कोपन्हेगेनमा। सबै भाइ,बुहारी,छोरा,छोरी भान्जा,भान्जी,नाति नातिना एकै ठाउमा पोको पार्ने हो भने सानो टोल नै बन्ने छ अर्को पुस्तासम्म। एकै ठाउँमा बस्लान् नबस्लान् त्यो त परिस्थितिजन्य कुरा भयो तर एउटालाई दुख्दा अर्कोलाई पनि पिडा भयोभने प्रवासको भूमिमा दाजुभाई भएको अर्थ हुन्छ। सबै प्रेमले रहुन् मेरो कामना !

मैले सम्झन्छु,हाम्रा बुबाहरुमा त्यो हदको आत्मीय प्रेम थियो। एक भाइलाई पिडा हुँदा सबै बुबाहरु एक ठाउँमा डल्लो परेर एकापसमा दुख बाँड्थे। हाम्रो प्रेमले कसिएको बनहुँ गाउँ,त्यसमा पनि अम्माईका दाजुभाई। कस्तो प्रेम थियो उनीहरुको। छुट्टि-भिन्न हुँदा रुँदै अलग हुन्थे रे हाम्रा बा,हजुरबाहरु। हजुरआमाले समेत हाम्रा सबै दाजुभाइलाई उस्तै वात्सल्य दिनु हुन्थ्यो। आँफैले भोगेको कुरा !

यस्तै यस्तै भाव, बाल्टिक सागरको किनारी दृश्यसंग मिसाउदै भाबुक मुद्रामा आधि घण्टाको यात्रापछि हामी भाई सुरेन्द्रको ढोकाबाट भित्र छिर्यौँ।’अफ़लोइन’ टोलमा अबस्थित सुरेन्द्र भाइको घरभित्र छिरेर केहीबेर अविभादन आदान प्रदान भयो। बुहारी रमा काममा जानु पर्ने साढे ४ बजेतिर। हामीले खाना खाएपछि भान्जा रोडोभरमा रहेको आफ्नो बासतिर लाग्नु भयो। रमा कामतिर लागिन् भने हामी सुरेन्द्र भाइका साथीहरुले आयोजना गरेको बारबिक्युको आनन्द लिन पार्कतिर लाग्यौँ। त्यहाँ अफलोइनका हरि भट्टराइ,तारापति कंडेल,डिल्ली राम कंडेल,जमुना कंडेल लगायत स्थानिय धेरै नेपालीहरुसंग भेट भयो। राति दश बजेसम्म कोपनहेगेनका नेपालीहरुको जीवन संघर्षका कथा सुनेर पोलेका मकै र मासुको स्वाद लिई पार्कबाट फर्कियौँ। अर्को दिन हामीहरु बिहान भाई सुरेन्द्रको छोरा सिद्धान्तलाई लिएर फुटबल तालिम हेर्न त्यहाँको खेल मैदान गयौँ। उसले करिव एक घन्टाको तालिम लियो। हामी दुई भाई चौरको एक कुनामा बसेर तालिमको अबलोकन गर्यौं। गजब फुर्तिलो केटो,हाम्रो कुलको एक खेलाडी,जुन डेनमार्कको राष्ट्रिय टिममा खेल्दै गरेको मनमनै कल्पना गरेँ। मन त्यसै त्यसै रोमाञ्चित बन्यो।

दोश्रो दिन,दिउसो हामीले त्यहाँको टिभोली बगैंचा,अमालियनबोर्ग दरबार, फ्रेडरिक चर्च,रोजेनबोर्ग महल लगायतका प्रयटकिय स्थलहरुको भ्रमण गर्यौँ। टिभोलि बगैँचा पुग्दा हामीलाई अद्भुत आनन्द आयो। निदर्ल्याण्डको एफ्टेलिंग जस्तै मनोरम र दर्शनीय छ यो बगैँचा। मलाई लाग्यो नेपालको ढोरपाटन र शुदुर पश्चिमका ठुलाठुला पाटनमा यस्तै मनोरम पार्क बनाउन पाए कति प्रयटक जान्थे होला ति ठाउँहरुमा।

कोपेनहेगनको मुटुमा रहेको अमालियनबोर्ग दरबारमा पनि हामी पुग्यौँ। विश्वको सबैभन्दा पुरानो राजतन्त्रहरू मध्ये एकको राजगद्धी रहेको त्यो दरवारको भ्रमणले मलाई नारायणहिटीमा राखिएको राज सिंहासनको याद दिलायो र सम्झन पुगेँ बंश नास गरिएका राजा बिरेन्द्र र उनको परिवारलाई। त्यसले मलाई केहीबेर भाबुक बनायो। वास्तविक शाही दरबारको पर्दा पछाडि गएर केहि तस्विर लियौँ । शाही इतिहासको रुचि भएका जो कोहीको लागि दरबार पुग्दा राम्रै हुन्छ। डेनमार्कको बिशाल साम्राज्य त्यहि दरवारबाट हाकिन्थ्यो इतिहाँसमा। त्यहाँको दरबार स्क्वायर पनि भब्य र मन लोभ्याउने खालको छ।

कोपेन्हेगेन शहरमा सन् १७४०मा बनेको सबैभन्दा शुन्दर चर्चलाई मार्बल चर्च वा फ्रेडरिक चर्च पनि भनिन्छ।यो अमालियनबोर्ग दरबारको पश्चिममा अवस्थित छ। यस भित्रको बास्तुकलाले हरेक कलाप्रेमीहरुलाई सहजै लोभ्याउछ। हामीहरु पनि त्यहाँको कलाबाट मोहित नै भयौँ। त्यति मिहिन र सौन्दर्यपूर्ण वास्तुकला मैले कोपनहेगेनको त्यो चर्च भित्र देख्न पाउँदा असाध्यै खुशी लाग्यो।

त्यसपछि हामीले घुमेको ठाउँ रोजेनबोर्ग महल डेनमार्कको धार्मिक पुनर्जागरणको सम्झनामा सन् १६०६ बनाइएको रहेछ। जसलाई पुरानो समरहाउस पनि भनिन्छ।

अर्को दिन प्रकाश भान्जा बसेको टोल रोडोभरबाट भान्जा,म,तारा,भान्जी अनिता र नातिनी ट्रेन चढेर हामी घुम्न निस्कियौँ। हामीलाई प्रकाश भान्जा र अनिता भान्जीले वेद स्ट्रान्डेन (अर्थात् “समुद्र तटमा”) नहरको छेउमा रहेको सार्वजनिक ठाउँ र सडक सबै घुमाइ दिनु भयो। शहरका ऐतिहाँसिक स्थलहरु घुम्दा त्यो दिन उतै बित्यो।

आमलिन्बोर्गको क्यानल पनि डुंगामा चढेर शहरको किनारा हेर्नको लागि अति आनन्दित स्थान रहेछ। डुंगाबाट नहरमा पनि घुम्यौँ। वेद स्ट्रान्डेन खासमा स्लोशोलमेन, जील्याण्ड छेउको छोटो भागबाट बग्ने नहर किनाराबाट देखिने मनोरम चर्च र अन्य रंगिन भवनहरुको दृश्य रहेछ।’द लीटल मर्मेड’ (The Little Mermaid) सन् १९८९ मा बनेको एक अमेरिकी एनिमेटेड फिल्म जसको प्रतिक स्वरुप ढुंगामा जलपरीको जस्तो मुर्ति बनाएर क्यानलको किनारमा राखिएको रहेछ।। यसको निर्माण वाल्ट डिज्नी एनिमेसन स्टुडियोद्वारा गरिएको थियो। त्यसको सम्झनामा सुटिंग स्थलमा बनाइएको जलपरीको दृश्यले उक्त फिल्मको सम्झना गरायो। त्यस्तै कोपेनहेगनको रोसेनबोर्ग महल पनि त्यहाँ पुगेर छुटाउन नहुने भवन रहेछ। जहाँ डेनमार्कका केही महत्वपुर्ण सांस्कृतिक खजानाहरू संरक्षण गरेर राखिएका छन् । यो महल सन् १६०६-३४ मा क्रिश्चियन चतुर्थले आनन्द महलको रूपमा निर्माण गरेका थिए।

अर्को हेर्नु पर्ने, शहरको मुटुमा रहेको कोपेनहेगन बन्दरगाहको सानो टापु “स्लोटशोलमेन”, क्यासल आइलेटमा रहेको क्रिश्चियनबोर्ग दरबार पनि हो,जसलाई डेनमार्कको संसद भवन पनि भनिन्छ।

कोपेनहेगेन घुम्न जाँदा अर्को छुटाउन नहुने त्यहाँको बिशाल फुटबल रंगशाला हो। इन्ड्रे ओस्टरब्रो (इनर ओस्टरब्रो) क्षेत्रमा रहेको यो फुटबल रंगशाला सन् १९९० देखि १९९२ सम्म निर्माण गरिएको रहेछ। फोल्डिंग छाना भएको यो रंगशालामा हाल ३८,१९० जनाको क्षमता भएको कुरा भान्जाले बताउनु भयो। यो एफ.सी. कोपेनहेगन र डेनमार्क राष्ट्रिय फुटबल टोलीको संयुक्त खेल मैदान रहेछ। यो रंगसालामा बिशाल सांगीतिक कन्सर्टहरू पनि हुने कुरा प्रकाश भान्जाबाट थाह पाइयो ।

बाल्टिक सागरमा अबस्थित कोपेनहेगन बन्दरगाह (डेनिस: Københavns Havn) सबैभन्दा ठूलो डेनिस बन्दरगाह हो र बाल्टिक सागर किनाराको सबैभन्दा ठूलो बन्दरगाह मध्ये एक हो। यो उत्तरमा स्वानेमोले समुद्र तटदेखि दक्षिणमा ह्विडोभ्रेसम्म फैलिएको छ। यो बन्दरगाह बिशाल हुनुको साथै अत्यान्त शुन्दर छ।

कोपेनहेगन एक समृद्ध इतिहास भएको बन्दरगाह शहर हो। बन्दरगाह राजधानी हेर्ने सबैभन्दा सुन्दर तरिकाहरू मध्ये एक पानीबाट शहरको बिम्ब हेरेर आनन्द लिनु हो। आम्स्टर्ड्रममा जस्तै यो बन्दरगाह पनि क्रूज वा रोमान्टिक गोन्डोला सवारीबाट यात्रा गर्न सकिन्छ। साना मोटर डुङ्गाको कप्तान आँफै बनेर डुंगा चलाउन पनि पाइन्छ। शौखिनहरुको लागि यहाँ माछा मार्ने ठाउँहरु पनि छन् । बाल्टिक सागरबाट निर्मित नहरहरू नगर भ्रमण गर्ने फरक बाटाहरु हुन्। बिम्बको रुपमा  कोपेनहेगन शहर हेर्ने हो भने पानीभित्र पस्न हिच्किचाउनु हुँदैन। धेरै कोपेनहेगनवासीहरूले आफ्नो राजधानीलाई फरक दृष्टिकोणबाट हेर्नेको लागि पटक पटक पानीबाट भ्रमण गर्दा रहेछन्। भन्दछन्,’ जति पटक हेर्छौँ,शहरलाई उस्तै देख्दैनौँ,फरक देख्छौँ ।’ हामीले पनि भान्जा प्रकाश र भान्जी अनिता र नातिनी संगै पानीबाट कोपनहेगेनको दृश्य हेरेर भरपुर आनन्द लियौँ।

साथै ‘द ट्युब’ अन्तरक्रियात्मक संग्रहालय कोपेनहेगनमा बच्चा र साथीहरूसँग रमाइलो गर्ने उत्तम ठाउँ हो । तर समयाभावका कारण त्यो ट्युबभित्र पसेर क्रिडा युक्त आनन्द लिन पाइएन।

राष्ट्रिय संग्राहलयहरुको अनुगमनबाट थाह भयो,त्यहाँको ऐतिहाँसिक स्वतन्त्रता संग्राममा कम्युनिष्ट पार्टीको नेतृत्वदायी भूमिका रहेछ। जर्मनीले ९ अप्रिल १९४० मा डेनमार्कमा आक्रमण गर्दाका तस्विरहरु संग्रहित छन्। जर्मन कब्जाको पहिलो १४ महिनासम्म, डेनमार्क कम्युनिष्ट पार्टीलाई कानुनी रूपमा पार्टी सञ्चालन गर्न अनुमति दिइएको रहेछ, तर सोभियत संघमा जर्मन आक्रमण पछि, २२ जुन १९४१ मा संसद सदस्यहरू सहित ३०० भन्दा बढी कम्युनिष्टहरूलाई डेनिश प्रहरीले नजरबन्दमा राखेको कुरा तथ्यहरुबाट थाह हुन्छ । दुई महिना पछि २२ अगस्ट १९४१ मा कम्युनिस्ट बिरोधि कानून लागू भएपछि उक्त पार्टीलाई गैरकानूनी घोषित गरियो।

५ मे १९४५ मा डेनमार्कको मुक्ति पछि, अल्फ्रेड जेन्सेनलाई ट्राफिक मन्त्री बनाइएपछि पहिलो पटक कम्युनिस्ट मन्त्रीलाई नयाँ सरकारमा समावेश गरिएको रहेछ। त्यस्तै बामपन्थी नेता अक्सेल लार्सनलाई पनि विभाग बिना मन्त्री बनाइएको रहेछ।

स्वतन्त्रता पछिको पहिलो संसदीय चुनावमा, कम्युनिष्ट पार्टीले १२.५% मत (२५५,२३६ मत) र १८ सिटहरू प्राप्त गर्यो, यद्यपि यो चुनाव पछि भेन्स्ट्रेको निर्वाचित नेतृत्वको सरकारमा कम्युनिष्ट पार्टीलाई समावेश गरिएन। त्यो बेला डेनमार्क कक्युनिष्ट पार्टीले नेटोमा सहभागितालाई लिएर बिरोध गरेको रहेछ,उसले डेनमार्कमा नेटोको हवाई अड्डा राख्ने कुराको पनि खुलेर बिरोध गरेछ। त्यसै कारण उक्त पार्टीलाई पछिल्ला सरकारहरुले क्रमश: प्रतिबन्धित गरे।

लगभग ६० लाख मानिसहरूद्वारा मात्र डेनिस भाषा बोलिने हुँदा डेनिस साहित्यले बिश्वब्यापी हुने अवसर साहित्यको अंग्रेजी अनुबादन पछि मात्र प्राप्त गर्यो। डेनिस साहित्यका अनुवादित संस्करणहरू विश्वभर लोकप्रिय छन्।’हान्स क्रिस्चियन एन्डरसन’ डेनमार्कका सबैभन्दा प्रिय उपन्यास, नाटक, परी कथा र कविताका लेखक हुन्। उनका परी कथा संग्रहहरू,जसमा “द लिटिल मरमेड” र “द अग्ली डकलिंग” समावेश छन्। उनका ति पुस्तकहरु १२५ भाषाहरूमा अनुवाद गरिएका छन्।बिश्व प्रसिद्ध डेनिस साहित्यकार करेनको सालिकमा पुगेर श्रद्धा ब्याक्त गर्न हामी रंगस्टेट पनि पुग्यौँ। तर समयाभावका कारण साहित्यकार हान्स क्रिश्चियनको म्युजियममा भने पुग्न सकिएन।

अफ्रिका र त्यहाँका मानिसहरूप्रति गहिरो प्रेम गर्ने ‘अफ्रिका बाहिर’ उपन्यासकी लेखिका करेन ब्लिक्सन (१८८५-१९६२) बीसौं शताब्दीकी महान् डेनिस साहित्यकार हुन् । उनले डेनिस एकेडेमी अफ फाइन आर्ट्समा समेत भाग लिइन् र त्यसपछि उतैका ब्याक्तिसँग विवाह गरिन्। उनको कफी बगान चलाउन मद्दत गर्न उनीसँगै अफ्रिकाको यात्रा गरिन्। उनी अफ्रिका १७ वर्षसम्म रहिन्। अफ्रिका महादेश र उनले भेटेका अफ्रिकी मानिसहरूप्रतिको लगाव,संस्मरण,उनको लेखनीमा स्पष्ट देखिन्छ। मूल रूपमा सन् १९३७ मा ‘इसाक डाइनसेन’ छद्म नाममा प्रकाशित ‘अफ्रिका बाहिर’ कृति ब्लिक्सनको सबैभन्दा प्रसिद्ध कृति बन्यो। यो पुस्तकलाई पछि पर्दामा रूपान्तरण गरिएको थियो, र उनकै कथामा आधारित मेरिल स्ट्रिप अभिनीत चलचित्रले धेरै ओस्कर जितेको थियो। अहिले ब्लिक्सनको घरलाई पनि संग्रहालयमा परिणत गरिएको रहेछ, जुन कोपेनहेगनको उत्तरमा रहेको रङस्टेड कोस्टमा पर्दछ ।

धेरै लामो अन्तरालमा भैहरुसंग भेट भएको थियो। अर्को दिन हामीले पुर्व दमेक निवाशी तथा मेरा छिमेकी राधाकृष्ण सापकोटालाई सुरेन्द्र भाइको घर बोलायौं र बेलुका उनकै घरमा पुगेर गफगाफ गरियो। अर्को दिन बेलुकातिर हामीहरु शालिक छोरो, भगवती र बेबी नातिलाई भेट्न ‘भेस्कोभाई’ पुग्यौँ। शालिक बाबुको परिवारलाई भेटेर सुत्नको लागि श्याम बाबुकोमा आयौँ।

जुलाई ३० तारिकको दिन हामीहरुलाई प्रिय राधाकृष्ण भाइले अनेसासकी पुर्व केन्द्रिय उपाध्यक्ष सिता बरालको ‘इसोए’ टोल पुर्याई दिए। त्यहाँ पुगेपछि उनीहरु तुरुन्त फर्के भने हामीहरुले  सिता बराल,उहाँको परिवारसंग गफ़िएर दिनभरको समय ब्याथित गर्यौँ। त्यो दिनको खाना पनि त्यहि खायौँ। खाना खाइसक्दा अनेसास डेनमार्कका बरिष्ठ उपाध्यक्ष रमेश घिमिरे पनि आइपुग्नु भयो। संगठन र साहित्यकाबारेमा धेरै गफहरु भए। हामीहरुबीच पहिलो पटक भेट्दा पनि परिवार भेट्दाको जस्तै मिठास थियो। तर दुखको कुरा धेरै पटकको प्रयासमा पनि अनेसास डेनमार्कका अध्यक्ष पूर्ण बस्नेतसंग भेट हुन सकेन। प्रकाश सापकोटा लाई पनि मैले खवर गर्न भनेको थिएँ तर खवर पुगेन वा केभायो,थाह भएन।

तर ‘इसोए’ बास्तवमा डेनमार्कको साहित्यिक मंच जस्तो भयो मेरो लागि,त्यसको लागि आदरणीय सिता बहिनीप्रति आभारी छु। मैले लेखेको कविता संग्रह ‘निरपेक्ष अस्तित्वको खोज,र अनेसासको क्यालेन्डर उहाँहरुलाई हस्तान्तरण गरेँ। पछि हामी रमेशजीको गाडीमा स्ट्रेण्ड पार्कतिर घुम्न गयौँ।

बेलुका भाइ सुरेन्द्र लिन गएपछि तारा र म ‘इसोए’बाट ‘अफ़लोइन’ फर्कियौँ। पुज्य खगेश्वर दाजुको छोरा श्यामको घरमा बेलुकाको खाना खायौँ। अबेलासम्म घरायसी गफ भयो।

जुलाई ३१को दिन हामीहरु नवराज भाइको घर जाने योजना बन्यो। नवलपुर,भेडाबारिका हाम्रा छिमेकी नवराज लामिछानेजी सुरेन्द्र भाइको घरमा हामीलाई लिन आएका थिए। हामी त्यहाँ पुगेर सुनिता बहिनीले बनाएको नेपाली स्वादको खाना खायौँ। उनि बस्ने घरको सत्रौँ तलाबाट कोपनहेगेन शहरको तस्विर लियौँ। खाना खाएपछि माधव भाइको ‘गोलोस्टफ़’ टोलमा अबस्थित घर पुगी मधु मेडम र उहाँको परिवारलाई समेत भेट्यौँ। भेटघाट अचम्म रमाइलो भयो। बेलुका अबेरसम्म नवराज, सुनिता र उनका दुई छोराहरु सहित स्थानिय पार्क घुम्यौँ। बेलुका अबेर हामीहरुलाई भाई नवराजले ल्याएर ‘अफ़लोइन’ छोडिदिए। यसरि त्यो दिन हामीले जन्मभूमिका गाउँलेहरुसंग भेटेर  त्यो दिनको समय बितायौँ।

  ‘फ़्रेडेरिक्बर्ग हावे’को चिडियाखाना जाने धोको यो पटक पुरा हुन सकेन। त्यो युरोपको ध्रुबिय (लेकाली) जनावर र चरा चुरुंगीहरुको प्रसिद्ध चिडियाघर पनि जनावरको बारेमा जिज्ञासा राख्नेहरुले हेर्नै पर्ने स्थान हो। तर त्यो दिन मौसमले पनि अलिक साथ दिएन। पानि बिदो भएपछी हामीहरु ‘फ़्रेडेरिक्बर्ग हावे’को सट्टा जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति नवीनराज पौडेल र सभापति बुद्धिप्रसाद सापकोटाको निमन्त्रणामा तारापति कंडेल,सुरेन्द्र अम्माई र हामीहरु’गेंताप्पे’ गयौँ। बाटोमा पर्ने उपबनमा फलेका जंगली आरुबखडाको पनि स्वाद लियौँ । पछि ‘स्टेन एण्ड कूल’ पिजेरियामा नविन र बुद्धि दुबैजनासंग भेट भयो। उनिहरुसंग करिव दुई घण्टा पिजाको स्वाद लिँदै सांगठानिक अबस्थाबारे गफ गरेर बितायौँ। फिचर समाचारको लागि मुख्यमुख्य कुराहरु टिपेर हामीहरु फर्कंदा,छोरा बुहारी भेट्न आएका चितवन प्रेम्बस्ती फुपूका छोरा,भाइ बुद्धि प्रसाद सापकोटा र बुहारीलाई भेटेर भाई सुरेन्द्रको घर आउँदा राति अबेर भैसकेको थियो।

यो शहर घुमेर अबलोकन गर्दा,त्यहाँका म्युजियमहरुमा भएका तथ्यहरुबाट कोपनहेगेनको मात्र नभएर डेनमार्ककै प्राकृतिक,ऐतिहाँसिक र बौद्धिक सम्पदाको बारेमा धेरथोर बुझ्न पाइयो।

त्यहाँ पुगेर अबलोकन गरिएका र आँफुले बुझेका कुराहरुलाई अरु घुमंतेहरुलाई पनि काम लाग्ला भनेर क्रमश:निम्नानुशार राखेको छु :

डेनमार्क र कोपन्हेगेनको ऐतिहासिक पृष्ठभुमि:

कोपेनहेगनको स्थापना सन् १००० मा स्वेन फोर्कबर्ड प्रथम (स्वेन्ड त्भेस्केग) द्वारा गरिएको रहेछ । १२ औं शताब्दीको मद्धेसम्म कोपनहेगेनालाई “ह्वान” नामक माछा मार्ने गाउँ भनेर चिनिने रहेछ। यद्यपि, सन् ११६७ मा यो अब्सालोन नामक बिशप(क्रिश्चियन धर्मको पादरी)को अख्तियारमा आएपछि यो गाउँले अझ बढी महत्त्व प्राप्त गरेको जानकारी प्राप्त भयो । उत्कृष्ट बन्दरगाहले शहरको विकासलाई क्रमश बलियो बनाउदै लागेका तथ्यहरु भेटीए र उत्तरी युरोपमा यो शहर वाणिज्य(ब्यापार)को एक महत्त्वपूर्ण केन्द्र बन्यो। त्यसैले “कोपेनहेगन”,जसको अर्थ डेनिशमा “ब्यापारीहरुको बन्दरगाह” भन्ने बुझाउछ।

राष्ट्रिय म्युजियमबाट पाएको जानकारी अनुशार, सन् १२५४ मा मात्र यो गाउँले क्रमश शहरको रुप धारण गर्यो। राजा क्रिस्टोफर तृतीयले यसलाई आफ्नो राजधानी बनाएपछि यसले  अझ फस्टाउने मौका पायो । सन् १७०० मा डच, स्विडेनी र बेलायतीहरूले गरेको बमबारी, सन् १७२८ र १७९५ मा आगलागी र सन् १८०७ मा फेरि बेलायतीहरूले गरेको बमबारीले यो शहरलाई गम्भीर क्षति पुर्‍याएको रहेछ। १९ औं शताब्दीको मध्यमा सुस्ताएको यहाँको व्यापार सन् १८९४ मा करमुक्त बन्दरगाहको निर्माणले पुनर्जीवन पाएको इतिहाँसबाट प्रष्ट हुन्छ। हाल लार्स विस(Lars Weiss) कोपनहेगेनका मेयर रहेछन् ।

कोपनाहेगेनमा प्राकृतिक र मानव निर्मित गरेर दुई किसिमका बन्दरगाहहरु छन्। गोगल डेटा अनुशार,डेनमार्कको प्रमुख निर्यातहरूमा मासु, दुग्धजन्य पदार्थ, पोर्सिलेन, सिरेमिक, घडी, मेसिनरी, कपडा, रसायन, चिनी, मदिरा, डिजेल इन्जिन, जहाज, काठका उत्पादन, कागज र चकलेटलगायत पर्दछन् ।

 झन्डै साठी लाख मानिसहरु बसोबास गर्ने यो देशमा घुम्नको लागि बर्षेनी लाखौँ घुमन्तेहरु आउने कुराको तथ्याङ्क त्यहाँको प्रयटन साइडमा राखिएको छ। घुमन्तेहरुको लागि डेनमार्कमा थुप्रै मनोरम टापु छन, प्राकृतिक,सांस्कृतिक र बौद्धिक सम्पदाले भरिपुर्ण कोपनहेगेनमा कुनै पहाड भने देखिएन। पहाडी भूभाग नभएपनि प्रयटकको लागि डेनमार्कको ग्रिन्वेल्ट,समुन्द्री किनारा र मानव निर्मित दरवार,स्मारक,ऐतिहाँसिक धरोहर,बास्तु कला लगायत प्रसस्त हेर्ने,बुझ्ने कुराहरु कति रहेछन् कति। डेनमार्क एउटा राजतन्त्र भएको देश भएपनि उन्नतिको शिखरमा रहेको ‘खुशी मान्छेहरुको देश’ हो भन्ने कुरा त्यहाँका मान्छेको अनुहारमा देखिएको चमकले प्रष्ट पार्छ।  

राजतन्त्र भएको देश:

सन् २०२४ मा आफ्नी आमा मार्गरेथ सेकेन्डको गद्दी त्यागपछि  फ्रेडरिक एक्स(Frederik André Henrik Christian) डेनमार्कका राजा भएका हुन् । उनि कोपेनहेगनमा रहेको अमालियनबोर्ग (दरवार) भित्र रहेको शाही निवासमा बसोबास गर्दछन् । अमालियनबोर्ग परिसरमा अष्टकोणीय चौराहा वरिपरि बनाइएका भब्य चार दरबारहरूले डेनमार्क साम्राज्यको ऐतिहाँसिक भव्यतालाई प्रदर्शन गर्दछ। त्यहि रहेका भवनहरु भित्र राजपरिवारको अफिस र निवास रहेको कुरा भान्जा प्रकाश कंडेलबाट थाह पाइयो। कोपेनहेगन ‘जिल्यान्ड र अमागर’ टापुहरूमा अवस्थित एक शुन्दर नगरी हो ‘जहाँ बग्ने नालीको पानीमा समेत मानिसले पौडी खेल्न सक्छन्’ भनिदो रहेछ।

धर्म संस्कृति र जनसंख्या :

डेनमार्क,एउटा स्कैंडिभियन देशहरुको वरिष्ठ सदस्य राष्ट्र मात्र नभएर युरोपियन युनियनको सदस्य राष्ट्र समेत हो। यहाँको पैसालाई डेनिस क्रोनर भनिन्छ।  डेनिसहरू क्रिश्चियन सभ्यताबाट प्रभावित भएपनि कुल जनसंख्याको २० प्रतिशत जतिले मात्र आफूलाई ” धार्मिक” ठान्छन्। अर्थात यहाँ धर्ममा आस्था राख्नेहरु भन्दा असंलग्न(निरपेक्ष)हरुको संख्या धेरै छ। यति हुँदाहुँदै पनि ईसाई धर्मले डेनमार्कको संस्कृतिलाई धेरै नै प्रभाव पारेको छ, र डेनिस ग्रामीण इलाका अझै पनि परम्परागत चर्चहरूले भरिएको देखिन्छ।

यस क्षेत्रकोबारेमा पहिलो लिखित दस्तावेजहरू ११ औं शताब्दीबाट शुरु भएको भेटिन्छ  र कोपेनहेगन १५ औं शताब्दीको सुरुमा र ईसाई चतुर्थको शासनकालमा डेनमार्क साम्राज्यको राजधानी बन्यो। सन् २००० मा बिशाल ओरेसुन्ड पुलको निर्माण सम्पन्न भएपछि, कोपेनहेगन ओरेसुन्ड क्षेत्रको केन्द्र बनेको छ। त्यहि पुलले गर्दा डेनिस राजधानी कोपेनहेगन र स्विडेनी शहर माल्मो, एक साझा महानगरीय क्षेत्र बन्ने प्रक्रियामा छन्। दुई देशीय महानगरको बिकासमा यसलाई युरोपको पहिलो प्रयोग भन्न सकिन्छ। ५० किलोमिटरको दायरा भित्र २.७ मिलियन मानिसहरू भएको कोपेनहेगन,उत्तरी युरोपको सबैभन्दा घना बस्ति क्षेत्रहरू मध्ये एक हो।

वातावरण मैत्री शहर:

कोपेनहेगेनले बारम्बार विश्वको गुणस्तरीय मानव जीवनयापनकोलागि विश्वकै उत्कृष्ट शहरको रूपमा मान्यता पाउँदै आएको छ। यसलाई विश्वकै सबैभन्दा वातावरणमैत्री शहरहरू मध्ये एक मानिन्छ। भित्री बन्दरगाहको पानी समेत यति सफा छ कि यसमा पौडी खेल्न सकिन्छ। यहाँका ३६% बासिन्दाहरू हरेक दिन साइकल चलाएर काम गर्छन्, जुन प्रति दिन १.१ मिलियन किलोमिटर साइकल चलाउनु बराबर हो।

कोपेनहेगन शहर खास गरेर  विश्वविद्यालय, सैद्धान्तिक भौतिकशास्त्र संस्थान (१९२० ईस्वी), रोयल डेनिस भौगोलिक समाज (१८७६ ईस्वी), शैक्षिक तथा अनुसन्धान संस्थानहरू र विश्व प्रसिद्ध संग्रहालयहरूको घर हो। यहाँको रोयल पुस्तकालयमा लगभग १५,००,००० पुस्तकहरू छन्। शहरमा धेरै मनोरञ्जन पार्कहरू,तालहरू र भव्य भवनहरू छन् जुन क्रिश्चियन चतुर्थ (१५८८-१६४८ ईस्वी) र फ्रेडरिक पाँचौं (१७४६-१७६६ ईस्वी) को शासनकालमा निर्माण गरिएका थिए। त्यसैले होला,क्रिश्चियन चतुर्थलाई कलाकार र इतिहासकार दुवैले डेनमार्कको राष्ट्रपिताको रूपमा चित्रण गरेका छन्। अनि डेनमार्कको आधुनिक एकीकृत राज्य १० औं शताब्दीमा भाइकिङ राजाहरू ‘गोर्म द ओल्ड र हाराल्ड ब्लुटुथ’द्वारा स्थापना गरिएको कुरा डेनिस इतिहाँसले बताउँछ।

डेनमार्कमा जुन ५ मा संविधान दिवस (Grundlovsdag) मनाइन्छ। यो दिन डेनमार्कको संविधानलाई सम्मान गर्दै बिशेष किसिमका कार्यक्रमहरु हुने गर्दछन्। भनिन्छ,सन् १८४९ को पहिलो संविधान र १९५३ को वर्तमान संविधान दुवै आ-आफ्नो वर्षको एउटै मितिमा हस्ताक्षर गरिएको थियो।

राष्ट्रिय खाना,पेय,जनावर र फूल :

अनि उत्कृष्ट परिकार, क्लासिक सुँगुरको मासुको रेसिपी (stegt flæsk med persillesovs) लाई मानिदो रहेछ। अजमोदाको सस र आलुसंग क्रिस्पी सुँगुरको मासु डेनमार्कको धेरै पुरानो परिकार हो जसले शताब्दीयौंदेखि डेनिसहरूको मन र पेट जित्दै आएको छ। ‘अक्वाभिट’ जसको अर्थ जीवन जल हुन्छ, यो आलु र अन्न तथा जडीबुटीबाट बनाइएको स्वादिष्ट स्क्यान्डिनेभियन पेय पदार्थ हो। यो नै डेनमार्कको राष्ट्रिय पेय हो जसलाई उत्सवहरुमा पिएर आनन्द लिइन्छ।

मार्गेराइट डेजी, जसलाई वनस्पतिको भाषामा ‘आर्गीरान्थेमम फ्रुटेसेन्स’ भनिन्छ, डेनमार्कको राष्ट्रिय फूल हो।डेनिसको राष्ट्रिय जनावर मौन हंस हो, जुन यसको हिउँ जस्तो सेतो प्वाँखको लागि प्रसिद्ध छ, र एच. सी. एन्डरसनको ‘परी कथा, द अग्ली डकलिंग’को मुख्य पात्रको रूपमा पनि यो हाँस प्रसिद्ध छ।

आय स्तर:

डेनमार्कको कुल राष्ट्रिय उत्पादन २०२५ को पहिलो त्रैमासिकमा ६६१६३९ डेनिस क्रोनर (DKK) मिलियनमा झरेको छ जुन २०२४ को चौथो त्रैमासिकमा ६८६९८५ DKK मिलियन थियो। विश्व बैंक(२०२४) को तथ्याङ्क अनुशार कोपन्हेगेनको प्रतिव्यक्ति कुल ग्राह्यस्थ उत्पादन: ७१,८५१.७६ अमेरिकी डलर (USD) रहेको छ भने आर्थिक वृद्धिदर कुल ग्राहस्थ उत्पादनको ३.७% रहेको छ। स्थानिय पत्रिका (EUROSTAT) का अनुसार, २०२५ को मार्चमा डेनमार्कमा कुल राष्ट्रिय आय १०३५१५.०० मिलियन युरो रहेको छ ।

घुम्न योग्य प्रसिद्ध ठाउँहरु :

कोपेनहेगनका प्रयटकिय स्थलहरुमा क्रमश: टिभोली बगैंचा, द लिटिल मरमेड मूर्ति, अमालियनबोर्ग र क्रिश्चियनबोर्ग दरबारहरू,ओरेसुन्ड पुल, रोसेनबोर्ग महल, फ्रेडरिक चर्च, बोर्सेन, र धेरै संग्रहालयहरू, रेस्टुरेन्टहरू,कालो हीरा, फ्रिटाउन क्रिश्चियानिया – प्रवेशद्वार,कोपेनहेगन ओपेरा हाउस,अमेजर स्ट्र्यान्डपार्क,काल्वेबोड बोल्जे – शहर भित्र सार्वजनिक समुद्र तट,फ्रेडरिक्सबर्ग दरबार, शहरको केन्द्रमा रहेको सिटी हल स्क्वायरमा रहेको कोपेनहेगन सिटी हल,रोजेनबोर्ग महल र पार्क,अमेजर्टोर्भ,डेनमार्कको सम्पदा एजेन्सीमा सूचीबद्ध भवनहरू,कोपेनहेगन कोर्ट हाउस कोपेनहेगन (Gammeltorv), युरोपेली वातावरण एजेन्सी(Kongens Nytorv),हाम्रो लेडीको चर्च,क्रिस्टल, (Nykredit) बैंकको मुख्यालय,पवित्र आत्माको चर्च, ट्रिनिटाटिस कम्प्लेक्स, सेन्ट निकोलस चर्च, र होल्मेन चर्च,न्याहभन,टिभोली भोन,मार्मोर्किकेन (मार्बल चर्च),क्रिस्चियनबोर्ग प्यालेस तथा स्लटसोल्मेनमा चैपल, आलर मिडिया समूह भवन(Havneholm),रिग्शोस्पिटलेट,प्यान्टोमाइम थिएटर,राष्ट्रिय ग्यालरीको भित्री भाग,मुख्य बिशाल सार्वजनिक पुस्तकालय,कला संग्रहालय(Ny Carlsberg Glyptotek),लिटिल मरमेडको मूर्ति,फ्रेडरिक्सबर्ग दरबार,गेफियन फाउन्टेन,ड्रोनिङ लुइस ब्रो,भेस्टरब्रोमा रहेको हल्मटोर्भेट,हिरूप म्युजियम,कुकुर पार्क,बाल्प्लाड्स – ब्रोन्डबिस्कोभेन(बिशाल पार्क),बिशाल माछा घर र नाइटक्लबहरू महत्त्वपूर्ण रहेका छन्।

यो पटक,कोपनहेगेनबाट स्विडेनको माल्मो जोड्ने ओरेसुंड पुल हेर्ने ईच्छा यत्तिकै रह्यो। ओरेसुन्ड पुल संसारको सबैभन्दा लामो पुलहरू मध्ये एक हो, जुन डेनमार्क र स्वीडेनबीचको ओरेसुन्ड टापुमा अबस्थित छ। यो पुल एउटा सुरुङसँग जोडिएको छ जहाँबाट सडक र रेलवे एउटा सानो कृत्रिम टापुमा प्रवेश गर्छ। ति सबै सम्पदाको पूर्ण अबलोकन गरि नसक्दै त्यहाँ रहने समयले रोके पछि हामी नवागत कोपन्हेगेनको रागरंजित शहरलाई बिदाइ गर्ने तरखरमा लाग्यौँ।

अन्त्यमा,अगस्त ३ तारिक फर्कने दिन टुप्लुक्क आइहाल्यो। भाई बुहारी,छोरा,छोरी र बुहारीहरुसंग बिदा हुँदा नयनद्वार रसिला भए। भाई सुरेन्द्र र श्याम बाबुले हामीलाई बस स्टेशन ल्याएर छोडीदिए। छुट्टिने बेला हामीले एकापसमा तितीक्षाका प्रतिरुपहरु हेरी रह्यौँ। फेरी भेट हुने दिदृक्षा दर्शायौं। प्रेम प्यास र करुणाकालागी सीमारेखा महत्वहीन हुँदा रहेछन् जस्तो भावले तन रन्थनियो। केहि समय पछि बसले बाल्कनको कसिलो उरोजलाई छेड्दै आफ्नो गति समात्यो। केहि समय पछि डेनमार्कको ‘रोडवि हावन’ हुँदै क्रमश: ४५ मिनेट पानीजहाजमा चढेर जर्मनीको हेइलिगन हावन आयौँ। सन् १९६३ देखि दुवै टापु जर्मन टापु फेहमार्न साउन्ड ब्रिज मार्फत जोडिएको छ। त्यसबेलादेखि, फेमेर बेल्टको घाँटीबाट बाल्टिक सागर पार गर्न नियमित फेरी(पानीजहाज) सेवा प्रदान गरिएको छ।जर्मनीकै लुवेक शहरको रात्रि दृश्य पान गर्दै हेम्बर्ग आउँदा बिहानको करिव ५ बजिसकेको थियो। ब्रेमेन आएर हामीले बिहानको नास्ता गर्यौं। त्यसपछि बस ब्रेमेन हुँदै जर्मनीको मुन्स्टर आएर दश मिनेट रोकियो। क्रमश इसेन र इन्डहोवनमा केहि यात्रीहरु झरे। अनि टुर्न्हाउट हुँदै बस आन्त्वेर्पेन आयो। अहिले हामी बेल्जियम तिरै छौँ तर भातृत्व प्रेमले गर्दा बुद्धको देशना पछिका परिब्राजक भिक्षु जस्तै उतैका बन्धुहरुको सम्झना बन्धनबाट अझै मुक्त हुन सकेका छैनौँ।

 

 

 

प्रतिकृया दिनुहोस्