मञ्जुललाई ‘विश्वज्योति काव्य सम्मान’

काठमाडाौँ । ‘विश्वज्योति काव्य सम्मान’ द्वारा प्रसिद्ध साहित्यकार मेघराज नेपाल  ‘मञ्जुल’ सम्मानित भएका छन् ।  ‘एपेक नेपाल’ ले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सो समारोहका प्रमुख अतिथि अभि सुवेदीले ५१,००० नगद राशी र सम्मानपत्र समर्पण गरे ।

सोही अवसरमा ‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’बाट हिमा रोकाको ‘प्रतिज्ञा’ लाई पुरस्कृत  पनि गरियो । समारोहमा विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार द्वारा पुरस्कृत उक्त कृति सभाध्यक्ष विश्वविमोहन श्रेष्ठ, प्रमुख अतिथि अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, मञ्जुल, उषा शेरचन, रश्मि शर्मा, सुधाकर पाठक, राजेन्द्र सलभ, कृतिकार रोकाले कृतिको सामूहिक लोकार्पण गरे ।

पाण्डुलिपिका निर्णायक श्रीओम श्रेष्ठ रोदनले कृतिकार रोकाको परिचय दिँदै प्रतिज्ञा लघुकथामा निकै सशक्त लघुकथाहरू समेटिएको बताउँदै कृतिकारलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा नेपालका ३१ र भारतका ३१ गरी ६२ कविहरूका १२४ थान कविता सङ्ग्रहित नेपाली-हिन्दी कवितासंग्रह “अनुभूति” पनि लोकार्पण गरियो ।

लेखिका एवं सञ्चारकर्मी लीला अनमोलद्वारा सञ्चालित कार्यक्रममा हिन्दुस्तान भाषा एकेडेमीका प्रतिनिधि भारतीय साहित्यकार सुधाकर पाठकले नव-लोकार्पित लघुकथा संग्रह ‘प्रतिज्ञा’ लाई हिन्दी अनुवादमा प्रकाशन गरी भारतमै लोकार्पण गर्ने चाहना व्यक्त गरेका आयोजकले बताए ।

प्रतिकृया दिनुहोस्