युगान्तकारी सङ्कल्प र निष्कर्षको सागर: ‘निरपेक्ष अस्तित्वको खोज'(एक अनुभूतिमय समीक्षा)
देबी कँडेल /चितवन
नेपाली डायस्पोराका यस्ता एक अनौठा स्रष्टा हुन् डिल्ली अम्माई (अनाथ अङ्कल), जो केवल वर्तमानका लागि लेख्दैनन्; बरु युगौँ पछि फुल्ने फूलहरूको भविष्य समेत लेख्छन्। सम्भवतः त्यसैले होला, वर्तमानका कतिपय बुद्धिजीवीहरूले उनलाई ठम्याउन र उनका बारेमा बोल्न खासै रुचि देखाउँदैनन्। मलाई उनी फ्रान्ज काफ्का, एमिली डिकिन्सन, एडगर एलन पो, एनी फ्राङ्क, जोन किट्स, हर्मन मेलभिल र स्टिग लार्सन जस्तै लाग्छन्—जसले बाँचिरहेको समयभन्दा मृत्युपश्चात् बढी ख्याति र न्याय पाए।उनका फेसबुकमा अभिव्यक्त हुने लेख, निबन्ध र आत्मचिन्तनका हरफहरूमा भविष्यका रङ्ग र चित्रहरू कोरिएका हुन्छन्। ती चित्रहरू केवल शब्द पढेर मात्र अनुभूत गर्न सकिँदैन। उनका रचनामा केवल वैयक्तिक अनुभूति मात्र छैन, बरु समाजको सूक्ष्म गतिलाई छाम्न सक्ने ‘दिव्य दृष्टि’ पनि निहित छ, जसको जीवन्त नमुना उनको कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’ मा पाउन सकिन्छ।उनलाई पढ्दा भविष्यद्रष्टा सन्यासी वा तपस्वीको आभास हुन्छ। मैले उनका पङ्क्तिहरूलाई अत्यन्त गहनतापूर्वक अध्ययन गर्ने गरेको छु। त्यसैले, यो टिप्पणी केवल उनको कविता सङ्ग्रहको चर्चा मात्र नभएर, उनले देख्ने ‘भविष्य’ प्रतिको आकर्षणले जन्माएको एक बौद्धिक मोह पनि हो।
कवि डिल्ली अम्माईको ‘निरपेक्ष अस्तित्वको खोज’ भित्रको दार्शनिक चेतना:
कवि डिल्ली अम्माईको कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’ मा नेपाली साहित्यका नवीन प्रयोग र नवप्रवर्तनलाई आत्मसात् गर्ने महाकाव्यकार डा. नवराज लम्साल र वरिष्ठ समालोचक प्रा. डा. नारायणप्रसाद खनालका भूमिकाले कृतिको ओज अझ बढाएका छन्। गुरुद्वयका भूमिकाले यस सङ्ग्रहको गाम्भीर्यलाई राम्रोसँग उजागर गरेको पाएँ। ती भूमिका पढेपछि जब मैले सङ्ग्रहका कविताहरूमा डुबेर अध्ययन गरेँ, तब मलाई यो सङ्ग्रह स्वयं एउटा पूर्ण दर्शन जस्तो आभास भयो।
यदि कविले यी कविताहरूलाई विभिन्न वैचारिक खण्ड वा विभागमा वर्गीकरण गरिदिएको भए पाठकलाई बुझ्न अझ सहज हुने थियो कि भन्ने मेरो अनुभव रह्यो। यस सङ्ग्रहमा आन्तरिक मन र ऊर्जाको व्यवस्थापन, सामाजिक विभेदको निराकरण, असहायप्रति करुणाभाव, र युद्ध एवं हिंसाको विरोध मात्र छैन, बरु प्रकृतिको विनाशप्रति गहिरो चिन्ता र नवजागरणको सन्देश समेत समाहित छ। शारीरिक ऊर्जा र चेतनाको केन्द्रीकरणका लागि शील र ध्यानमार्फत प्राप्त हुने निर्वाणको मार्गलाई धेरै कविताहरूले सङ्केत गरेका छन्, जसलाई यस सङ्ग्रहको बलियो मनोवैज्ञानिक पाटो मान्न सकिन्छ।
त्यस्तै, सामाजिक र वर्ग विभेद, युद्धोन्माद, अन्याय, अत्याचार र मानव निर्मित अप्राकृतिक दुःखबाट मुक्त हुनुलाई कविताहरूले मानिसको नैसर्गिक अधिकारको रूपमा व्याख्या गरेका छन्। व्यक्तिगत र सामाजिक कष्टहरूलाई चिन्तन, मनन र ध्यानमार्फत कसरी न्यायपूर्ण समाधान दिन सकिन्छ भन्ने कुरामा कविले विशेष जोड दिएका छन्। संक्षेपमा भन्नुपर्दा, यी कविताहरूले लौकिक जगत्को मुक्तिका लागि ‘जागरण र सङ्घर्ष’ तथा आत्मिक शान्तिका लागि ‘आत्मिक जागरण र ध्यान’ को मार्ग प्रशस्त गरेका छन्।
साधना र सङ्घर्षको त्रिवेणी: ‘निरपेक्ष अस्तित्वको खोज’:
सङ्घर्षको मार्गबाट मुक्तिको अभिलाषा राख्नु, प्रकृति र मानव सम्बन्धलाई प्रकृतिमैत्री बनाउनु, अनि आत्मिक ज्ञानमार्फत निर्वाण वा कैवल्य प्राप्तिको खोजी गर्नु नै कवि डिल्ली अम्माई (अनाथ) का कविताका आधारस्तम्भ हुन्। योगाभ्यासबाट सहस्रारसम्मको यात्रा र भावाभ्यासबाट समभावी चेतको विकास गर्दै प्रवासदेखि घरबाससम्मलाई मौलिक भावले सुम्सुम्याउनु उनका कविताका विशिष्ट पहिचान हुन्। वास्तवमा, वस्तुगत जगत्को सुख ‘समतामूलक समाज’ मा सम्भव छ र आत्मिक सुख ‘कैवल्य वा निर्वाण’ बाट मात्र प्राप्त हुन्छ भन्ने कविको निष्कर्ष रहेको छ।
कविले निर्वाणलाई परम शान्तिको अवस्था वा ‘शून्य’ को रूपमा व्याख्या गर्दै चेतनालाई कमलको फूलको बिम्बमा सजाएर कविता सङ्ग्रहको उठान गरेका छन्। चेतन प्रवाहको उत्कर्षबारे अन्तिम निष्कर्षलाई थाँती राख्दै ‘खोजी जारी छ’ भन्नुले सत्यको खोजी अनन्त र असीम छ भन्ने सङ्केत गर्दछ। उनले रोजेको यो चिन्तनको मार्ग एउटा गहन उज्यालो तर्फ उन्मुख छ। भविष्यका सिर्जनाले उनलाई कुन उचाइमा पुर्याउनेछन्, त्यो समयले नै बताउनेछ।
सङ्ग्रहभित्रका कविताहरूमा व्यक्तिगत स्वतन्त्रता, मानवता, आत्मिक चाहना र परम्परागत सोचबिचको द्वन्द्व झल्किएको छ। प्रचलित संस्कृतिभित्रका अन्ध-मान्यता र समग्र राजनीतिक प्रणालीबिचका विरोधाभासहरूलाई पनि उनले कलात्मक रूपमा पस्किएका छन्। पौराणिक साहित्य र धार्मिक मान्यताका बिचमा कविका अन्तर्द्वन्द्वहरू छरपष्ट देखिए पनि ती तमाम वैचारिक अन्योलका बिच कविको स्पष्ट दृष्टि भने ‘कैवल्य’ तर्फ सोझिएको मार्गमा अडिग देखिन्छ।
साहसिक खोज र वैश्विक चेतनाको निष्कर्ष:
कविले आफ्नो वैचारिक यात्रामा एक्लै हिँड्ने साहस बटुल्दै सिर्जनामार्फत निरन्तर पाइलाहरू अगाडि बढाइरहेका छन्। सङ्ग्रहका छोटा-लामा सबै कविताका निष्कर्षहरू अत्यन्त सटिक र बोधगम्य छन्। उनले आन्तरिक सङ्घर्ष र आत्मिक द्वन्द्वको सुकिलो बाटोको रूपमा ‘निर्वाण’ वा ‘कैवल्य’ को सङ्कल्पलाई अत्यन्त निखारिएको रूपमा प्रस्तुत गरेका छन्। कविको सोचमा कुनै पनि खोजको पूर्वसर्त भनेको मानवसहित समस्त सिर्जना र सृष्टिको हित हो। त्यस्तै, उनको वैश्विक राजनीतिक सङ्घर्षको अन्तिम साध्य ‘समतावादी मानव विश्व व्यवस्था’ हो। विचार र सङ्कल्प निर्माणको क्रममा अनेकौँ द्वन्द्व र सङ्घर्षबाट गुज्रिएर चेतनालाई उच्च तह अर्थात् ‘सहस्रार’ सम्म पुर्याई लोककल्याणमा समर्पित गर्नुपर्ने विशिष्ट निष्कर्ष कविले अघि सारेका छन्।
वर्तमानको द्वन्द्वरत विश्व व्यवस्था मानव हितको पक्षमा नरहेको कविको ठहर छ। यद्यपि, पूर्ण मानवको रूपमा विकसित भइनसकेको वर्तमान ‘होमोसेपियन्स’ का सन्ततिहरूबाट उनी कतिपय निराश भने देखिँदैनन्। उनले जीव विकासको क्रम र त्यसभित्रका क्रमभङ्गतालाई मिहिन ढङ्गले बुझेका छन्। त्यसैले, चेतनाको निरन्तर प्रवाहले मानव सोचलाई अझ गहन र परिष्कृत बनाउँदै लैजाने कुरामा कवि पूर्णतः निर्धक्क र आशावादी देखिन्छन्।
भविष्यको उज्यालो र दार्शनिक प्रसव’:
केही कवितामार्फत उनले पृथ्वीको वर्तमान दुःखबाट अभिशप्त समस्त दिदीबहिनी तथा दाजुभाइहरूलाई ज्ञान, सुख र बहुआयामिक हितका लागि निरन्तर अगाडि बढ्न प्रेरित गरेका छन्। उनका कविताले पुर्खाबाट सिक्ने आग्रह मात्र गर्दैनन्, बरु आमा-बुबा र अग्रज नेतृत्वका अनुभव र अनुभूतिबाट पाठ सिक्दै भविष्यको उज्यालो मार्ग निर्माण गर्ने प्रेरणा समेत दिन्छन्।
यस सङ्ग्रहबारे मदन पुरस्कार प्राप्त कवि डा. नवराज लम्सालले भूमिकाको ‘आनन्दको बाटोमा दर्शनका कविता’ शीर्षकमा लेख्नुभएको छ— “सुकिलो विचार जन्मिएपछि उज्यालो आफैँ अँध्यारोलाई पनि उज्यालो पार्दै हिँड्छ। उनी कविताको अक्षरमा उज्यालोको बिउ रोपिरहेछन्। उनीभित्र एउटा भित्रको डिल्ली र अर्को बाहिरको डिल्ली छ। बाहिरको डिल्लीलाई भित्रको डिल्लीले परास्त गरेको दिन डिल्ली कवि भएर जन्मन्छ। हो, यही प्रसवबाट उनी उनीभित्रै प्रवेश खोजिरहेछन्।” डा. लम्सालले अझ प्रष्ट पार्दै लेख्नुभएको छ— “म उनका कविताबाट खुसी भएको छु, आनन्दित भएको छु र मन्त्रमुग्ध भएको छु।”
पंक्तिकार स्वयंले पनि कविका कविताहरूमा उनको आत्मिक अन्तर्द्वन्द्वका साथै बाह्य सङ्घर्षका भिन्न-भिन्न चरणहरू थुप्रै पटक महसुस गरेको छ। सङ्ग्रहमा समाहित ‘शरद ऋतु’ र ‘बसन्त ऋतु’ जस्ता बिम्बात्मक कविताहरूको लेखन शैली उच्च कोटिको छ। यी दुवै कविताले मानव र प्रकृतिबिचको लयात्मक सम्बन्धलाई कलात्मक उचाइ प्रदान गरेका छन्। समग्रमा, सङ्ग्रहका निष्कर्षहरू अत्यन्त चोटिला र मर्मस्पर्शी छन्।
कविका भावनाहरूलाई बुझ्न निम्न हरफहरूले थप मद्दत गर्दछन्:
‘म धरतीको लामो आयु चाहन्छु
त्यसमा जीवात्माको श्वास बन्न चाहन्छु
आकाशमुनि नाचेका माहुरीले झैँ
संसारभर प्रेम र हरियाली चाहन्छु ।’ (श्वास बन्न चाहन्छु)
त्यस्तै, उनी लेख्छन्:
‘मानवीय तत्त्व त्रिमूर्ति त्र्यम्बकम् जस्तै
त्रिकोण हो—
प्रकृति, ईश्वर र मान्छे !’ (प्रकृति)
चेतन प्रवाहका फरक-फरक आयामबिच आउने शान्ति, सङ्घर्ष, प्रेम, सङ्कल्प र ज्ञानको रूपान्तरणबारे कविको गहिरो भावलाई बुझ्न पङ्क्तिकार स्वयंलाई निकै हम्मेहम्मे पर्यो। उनको अन्तिम इच्छामा ‘आफ्नो लासले पनि अरूको छहारी बनेर बटुवाहरूको सेवा गरोस्’ भन्ने जुन सदिच्छा व्यक्त भएको छ, त्यसले भविष्यमा ‘बोधिवृक्ष’ को महत्त्वलाई दर्शाएको मात्र छैन, बरु प्रचलित काया-संस्कार र परम्परागत सोचभन्दा कविको भाव-चेतनालाई निकै माथि उठाएको छ।
कविको परोपकारी चाहना र अस्तित्वको खोजीलाई यी हरफहरूले थप प्रष्ट पार्छन्:
‘फरक रूपमा पुनर्जन्म र
‘बोधिवृक्ष’ को रूपमा अर्को जीवन चाहन्छु,
मेरा बीजहरूले डाँडाकाँडा ढाकेको
विशाल वृक्षको शिरबाट हेर्न चाहन्छु !’ (श्वास बन्न चाहन्छु)
कवि डिल्ली अम्माईले आफ्ना कवितामा आत्मस्वाभिमानलाई पनि उचित स्थान दिएका छन्। उनले कतैकतै आफू र आफू जस्तै ‘भुइँमान्छे’ लाई हेप्ने कुलीन मानसिकतामाथि कडा व्यङ्ग्य प्रहार गर्दै चुनौती समेत दिएका छन्। ‘स्वाभिमानको फैसला’, ‘शाश्वत आवाज’ र ‘मृत्युमाथि जीवन लेख’ जस्ता कविताहरूले आत्मगौरव र स्वाभिमानलाई नै स्थापित गरेका छन्। यी कविताहरूको गहिराइ यति धेरै छ कि, केवल एक पटकको सामान्य अध्ययनले मात्र टिप्पणीकार वा समीक्षकलाई यसको वास्तविक मर्म बोध नहुन सक्छ।
कविको दार्शनिक अडान र सङ्कल्पलाई यी हरफहरूले जीवन्त पारेका छन्:
‘मान्छे थिए सत्यको पक्षमा
जसका सपना कहिल्यै बिग्रिएनन्
महान् सपना सङ्कल्पले सिङ्गारिए
म त्यही आगो हुँ
म त्यही सङ्कल्पको निरन्तरता हुँ !’ (केही मान्छेहरू)
आफ्नी छोरीलाई समेत परोपकार र सेवाका लागि ‘दधिची’ बन्न प्रेरित गर्ने कविको विशाल हृदयलाई बुझ्न एकाध कविता मात्र पर्याप्त छैनन्। थोरै अध्ययनबाट निष्कर्ष निकाल्दा कविको कृति र उचाइमाथि न्याय नहुने भयले मलाई सधैँ सतर्क बनाइरह्यो। त्यसैले, उनका कतिपय गहन कविताहरूलाई मैले पटक-पटक दोहोर्याएर र तेहेर्याएर पढेपछि मात्र उनको काव्यिक गहिराइ महसुस गर्न सकेँ।
कविको दार्शनिक अडान र सङ्कल्पलाई यी हरफहरूले जीवन्त पारेका छन्:
‘मान्छे थिए सत्यको पक्षमा
जसका सपना कहिल्यै बिग्रिएनन्
महान् सपना सङ्कल्पले सिङ्गारिए
म त्यही आगो हुँ
म त्यही सङ्कल्पको निरन्तरता हुँ !’ (केही मान्छेहरू)
आफ्नी छोरीलाई समेत परोपकार र सेवाका लागि ‘दधिची’ बन्न प्रेरित गर्ने कविको विशाल हृदयलाई बुझ्न एकाध कविता मात्र पर्याप्त छैनन्। थोरै अध्ययनबाट निष्कर्ष निकाल्दा कविको कृति र उचाइमाथि न्याय नहुने भयले मलाई सधैँ सतर्क बनाइरह्यो। त्यसैले, उनका कतिपय गहन कविताहरूलाई मैले पटक-पटक दोहोर्याएर र तेहेर्याएर पढेपछि मात्र उनको काव्यिक गहिराइ महसुस गर्न सकेँ।
छोरीप्रति कविको सदिच्छा र परोपकारी भावनालाई यी हरफहरूले सुन्दर ढङ्गले प्रष्ट्याएका छन्:
‘तिम्रा पाइलाहरू सेवाका
युगयुगसम्म सिरिफ सेवाका दधीचि बज्र बनून्,
ह्याप्पी बर्थ डे छोरी !’ (ह्याप्पी बर्थ डे छोरी)
कविको यो आशीर्वाद केवल पिताको स्नेहमा मात्र सीमित छैन, यसमा मानवीय कल्याणको ठुलो दर्शन लुकेको छ। उनी अगाडि लेख्छन्:
‘सार्थक छ, तिम्रो जन्म
बोधि वृक्षझैँ पवित्र छ, तिम्रो मन
सञ्जीवनीजस्तै छन् तिम्रा हातहरू
उपकारी मृत्युञ्जयी छ तिम्रो मार्कण्डेय मन
तिम्रो सेवाले मानव कल्याण होस्
हातले प्राणका बिरुवा बाँचिरहून्
तिम्रो कामनालाई देवताले सुनून्
मन कामधेनु बनोस्
तिम्रा फूलजस्ता हातहरू
परमार्थी उज्यालोमा मग्मगाइरहून् छोरी ।’
‘यात्रा, एक्लो हिँडाइ, बोध, ज्ञान, शील, करुणा, खोज, र ज्योति बन्ने कला’ जस्ता पक्षहरूलाई नबुझेसम्म ‘निरपेक्ष अस्तित्वको खोज’ को वास्तविक सार ठम्याउन सकिन्न। ‘निरपेक्ष अस्तित्वको खोज’ ले कविलाई पत्र-पत्रका अनेक आयामहरू छिचोल्दै समग्र अस्तित्वभन्दा परको ‘बोधगम्य शून्य’ सम्म पुर्याएको छ। सम्भवतः, त्यसैलाई कविले ‘महाशून्य’ अर्थात् ‘कैवल्य’ को संज्ञा दिएका हुन् कि भन्ने मेरो अनुमान छ। पुस्तकको आवरण (गातो) मा बिम्बात्मक रूपमा राखिएको तपस्वीको आकृति देख्दा लाग्छ— उनी शून्यभित्र विराजमान प्रतिक्रियात्मक ध्वनि सुनिरहेका छन्। तर, सुन्नेले के सुन्यो र बुझ्नेले त्यो ‘प्रतिक्रियात्मक शून्य’ लाई कसरी आत्मसात् गर्यो? यो आफैँमा खोजको विषय हो।
उनको यो कविता सङ्ग्रहले उनैले उठाएका प्रश्नहरूको उत्तर दिने सामर्थ्य राख्न पनि सक्छ र नराख्न पनि। तर, सत्यको खोजी गर्नेहरूका लागि यस सङ्ग्रहभित्र अथाह ठाउँ छ। उनको खोजीका नवीनतम् सन्दर्भहरू ‘ज्योति बन्ने कला’ मा झल्किन्छन् भने लौकिक जगत्बारेका उनका धारणा ‘विभाजित दृष्टिचेत’ र ‘विभाजित छैन मेरो देश’ जस्ता कवितामा दार्शनिक चेतनाका साथ मुखरित भएका छन्। ‘खोजी जारी छ’ भन्ने उनको उद्घोषले उनी अझै ज्ञानको मार्गमा अविचलित यात्री हुन् भन्ने प्रष्ट पार्छ। उनले ‘प्रेम धुन’ मा दुई वैश्विक दृष्टिकोण र दुई भिन्न प्रेम-आवाजलाई जोडेर पृथ्वीमा प्रेमको एकीकरण गर्ने प्रयास गरेका छन्।
त्यस्तै, ‘इतिहासको पर्दाभित्र’ र ‘सनातन संस्कृति र विभेद’ कविताहरूमा भावात्मक निकटता देखिए तापनि यिनले फरक सन्देश बोकेका छन्। ‘इतिहासको पर्दाभित्र’ ले पूर्वीय सभ्यताका विजेताहरूले कसरी इतिहासमाथि वर्चस्व कायम गरे भन्ने कुरालाई व्यङ्ग्यात्मक रूपमा प्रष्ट पारेको छ। यी दुई कवितामध्ये एउटाले जात-व्यवस्था र थरको उत्पत्तिसँगै सुरु भएको विभेदलाई चित्रण गर्छ भने अर्कोले युगौँदेखि हुँदै आएका अत्याचार र त्यसको ‘बोध-मोचन’ लाई समेटेको छ।
युग र समयमाथिको गम्भीर प्रश्न:
कविले इतिहास र वर्तमानको द्वन्द्वलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। उदाहरणका लागि यी हरफहरू हेरौँ:
‘त्यही युग हो
जसलाई अन्धाहरूको शासनमा
देख्नेहरूको समेत ज्योति लुकाइयो
र कथा सञ्जयबाट सुनाइयो !’
कविले इतिहासका पात्र र प्रवृत्तिलाई वर्तमानको ऐनामा हेर्दै निकै गहिरो व्यङ्ग्य गरेका छन्। र अन्त्यमा, उनी वर्तमान समयलाई नै यसरी प्रश्न गर्छन्:
‘समय रूप रहेछ
र सार सुरक्षित राखेर रूप फेरिरहेछ समय
आज लाग्छ
साँच्चै म
कुन युगमा बाँचिरहेको छु हँ ?’
युगीन सार र ऐतिहासिक कपटको चिरफार:
यसरी कविले उक्त कवितामार्फत चारै युगका मान्छे बदलिए पनि युगको मूल ‘सार’ नबदलिएको यथार्थ पस्किएका छन्। आफू बाँचिरहेको युगको वास्तविक चरित्र ठम्याउन नसक्नुमा उनी वर्तमानमाथि कडा व्यङ्ग्य प्रहार गर्छन्। सबै युगमा श्रमजीवीहरूको वास्तविक इतिहास लेखिएन वा लेख्न दिइएन। हार्नेहरूको दुर्दशा मात्र होइन, उनीहरूले बोकेको उज्यालो लक्ष्य समेत सधैँ ओझेलमा पारियो र उनीहरूको गाथालाई ‘दानवीकरण’ गरियो। हरेक युगमा विजेताहरूले आफ्नै भक्ति-गाथा मात्र लेखाए। त्यसैले, रूपमा युग फरक देखिए पनि सारमा यो पुरानै युगको ‘नयाँ संस्करण’ मात्र हो, जहाँ देख्नेहरूको आँखामा पनि पट्टी बाँध्न बाध्य पारिन्छ र सत्यलाई पर्दाभित्र लुकाइन्छ।
गान्धार नरेश सुबल र माता सुदर्मासहित उनका सय भाइ छोरालाई विनाकारण जेलमा भोकै मार्ने भीष्म पितामहहरूको ज्यादतीले जन्माएको ‘शकुनि’ स्वरूपको प्रतिशोधलाई मूलधारको महाभारत साहित्यले खासै महत्त्व दिएन। यस्तै खोजपूर्ण र ऐतिहासिक कपटप्रतिको चिन्ताले यो कविता ओतप्रोत छ। यो कविता मानव इतिहासको अहिलेसम्मकै ‘मौलिक समीक्षा’ हो भन्न मलाई कुनै हिनताबोध हुँदैन।
प्रवासको पीडा र वैश्विक मानवता:
कविका केही कविताहरूमा घरदेश र परदेशबिचको अन्तरद्वन्द्वबाट उब्जिएको द्वैध मनोदशा झल्किएको छ, जसले समग्र प्रवासी नेपालीहरूको साझा पीडालाई समेट्न सफल भएको छ। कतिपय सन्दर्भमा प्रवासी नेपाली मजदुरहरूको अकाल र दुःखद मृत्युले कविको मन निकै विचलित देखिन्छ। ‘कतारले निलेका बन्धुहरू’ यस्तै एक बिम्बात्मक र संवेदनशील कविता हो, जसमा रंगशाला बनाउँदा ज्यान गुमाएका नेपाली मजदुरहरूको सहादतसँगै खेल पत्रकार ग्रान्ट वाहलको असामयिक निधनलाई समेत उनेर मानवताको पक्षमा बलियो वकालत गरिएको छ।
कतारको रंगशाला निर्माणमा बगेको मजदुरहरूको रगतलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पसिना र पत्रकार ग्रान्टको बलिदानसँग मिसाएर कविले ती सबैलाई तारा जस्तै अमर बनाइदिएका छन्। कवि लेख्छन्:
‘जियानी इन्फान्टिनो
तिमी यो खेलको सम्राट हौ
तिमी खेलाडीको मात्र नबनी
मानवताको लागि एक बिम्ब बन्यौ।’
मानवीय संवेदना र वैचारिक शिखर
जियानी इन्फान्टिनो, जसले रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका मजदुरहरूको शोकमा खेलको नियमभन्दा माथि उठेर आफ्नै शैलीमा श्रद्धाञ्जली व्यक्त गरे, उनीप्रतिको सम्मानलाई कविले निकै उचाइमा पुर्याएका छन्। कविका यी मार्मिक हरफहरू हेरौँ:
‘मृत मेरा बन्धुहरूसँगै
महान् शहीद खेल पत्रकार ग्रान्टलाई
प्यारामिडको हालसँगै
सुनौलो जलपभित्र अङ्कित गर !’
त्यस्तै, यस सङ्ग्रहमा समेटिएका ‘शरद ऋतुको दिव्यता’, ‘पत्रकारको सङ्कल्प र कर्तव्यबोध’, ‘मृत्युपीडा र मृत्युञ्जयी कामना’, ‘घरअगाडिको पिपल’, ‘नयाँ वर्ष’ र ‘श्वास बन्न चाहन्छु’ जस्ता कविताहरू दार्शनिक गहिराइ र भावका दृष्टिले ‘विचारको शिखरका शिरोमणि’ झैँ प्रतीत हुन्छन्।
चेतनाको विशुद्धि र दार्शनिक गहिराइ:
सच्चा प्रेम र मानवीय संवेदनालाई ‘मेरी दिदी’ लगायतका कविताहरूमा यसरी प्रष्ट्याइएको छ, जसले आमा र दिदीबहिनीहरूप्रति दिव्य लगाबको अनुभूति प्रदान गर्छ। ‘आठ मार्च’, ‘मेरी दिदी’ र ‘मजदुर हो, माग’ जस्ता कविताहरूले अहिलेसम्मको वर्गीय र लैंगिक सङ्घर्षको उचाइलाई वर्तमानको आकाशमा बिस्कुन सुकाएझैँ छरिदिएका छन्। यो सङ्ग्रह आन्तरिक र बाह्य चेतनाको मसाल बोकेको सशक्त कृति हो।
यस कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै कवि ब्रह्मदत्त वाग्लेले योगको ‘विशुद्धि चक्र’ सँग तुलना गरेर भन्नुभएको छ— “चेतन शक्ति विशुद्धि चक्रमा पुगेपछि मानिसले आफूलाई कृत्रिम बन्धनहरूबाट मुक्त भएको महसुस गर्दछ र न्याय-अन्यायका विरुद्ध निर्धक्क बोल्न सक्छ।” वास्तवमा, यस सङ्ग्रहका कविताहरू भुइँमान्छेहरूप्रति सङ्कल्पित र समर्पित छन्। यहाँ न्यायका लागि चट्याङजस्तै जोडदार आवाज छ, खोजका लागि अथाह प्रेरणा छ, र ज्ञानबोधका लागि पूर्वाग्रहरहित आग्रह छ। समतामूलक विश्व व्यवस्थाका लागि यसले उज्यालो मार्गसहित क्रान्तिको झिल्को बालेको छ। यसमा सनातनी ज्ञानको मौलिक ज्योति छ भने जिजीविषासँग जोडिएका अनगिन्ती प्रश्नहरू पनि छन्।
सङ्ग्रहमा बौद्ध दर्शनको गहिरो प्रभाव देखिन्छ; नागार्जुनको ‘शून्य’ भित्र पुगेर कविले अस्तित्वको प्रतिक्रिया खोजिरहेका छन्। यहाँ दर्शनका निष्कर्षहरू सटिक छन्, जो निरपेक्ष अस्तित्वबाट भिन्न छैनन्। सङ्ग्रहमा पश्चिमा दर्शन र अस्तित्ववादी मतको बलियो उपस्थिति भए तापनि कविको ‘निरपेक्ष अस्तित्वको खोज’ भने निरन्तर जारी छ। यस सङ्ग्रहमा शङ्का, प्रश्न र खोजीका मार्गहरू प्रशस्त छन्। यदि केही छैन भने, त्यो केवल ‘शुद्ध अस्तित्व’ को पहिचान मात्र हो। अबका दार्शनिकहरूले खोज्नुपर्ने उत्तरको मार्ग कविले देखाएको यही बाटोबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ।
क्वान्टम चेतना र शून्यभन्दा परको खोजी:
सुरुसुरुमा पढ्दा यो सङ्ग्रह ‘तरुण तपसी’ जस्तै लागे तापनि ‘खोजी जारी छ’ सम्म पुगेपछि मात्र भान हुन्छ— यसभित्र त क्वान्टम चेतनाका तरङ्गहरू समेत विद्यमान रहेछन्। ‘खोजी जारी छ’ पढिसकेपछि एउटा सुखद आश्चर्य अनुभूत हुन्छ। इलेक्ट्रोन र प्रोटोनभन्दा परको त्यो विज्ञान, जो अझै लेखिएको छैन, कवि त्यहाँसम्म पुगेका छन्। उनले अदृश्यभित्रको दृश्य, सूक्ष्म सत्ताभित्रको हलचल र शून्यभित्रको अदृश्य सत्यलाई साक्षात्कार गरेका छन्। यो कविता यति गहन छ कि मलाई लाग्यो— कविले यसैलाई कृतिको शीर्षक किन नबनाएका होलान्? उनले यस कवितामा सूक्ष्म सत्ताभित्रको उज्यालो भन्दै केलाई सङ्केत गरेका हुन्, त्यो रहस्यमय छ। उनी शून्यसम्म त पुगे, तर ‘खोज्न अझै बाँकी छ’ भन्दै पाठकलाई अझ परसम्म पुगेर खोज्ने सल्लाह दिन्छन्। यो सल्लाह भौतिक वैज्ञानिकहरूलाई दिइएको चुनौती हो कि आध्यात्मिक ज्ञाताहरूलाई दिइएको सुझाव, यसबारे कवि मौन छन्।
यसर्थ, उनको शून्य न त बुद्धको जस्तो ‘परम शून्य’ हो, न त नागार्जुनको जस्तो ‘शान्त शून्य’। शून्यभन्दा पर पनि अर्को प्रतिक्रियात्मक सत्ता छ भन्नुले उनको दर्शनलाई कवि वाग्लेले जस्तै ‘प्रतिक्रियात्मक शून्य’ भन्न मिल्ला कि नमिल्ला? के भौतिक चेतनाले शून्यभन्दा परको त्यो रहस्यलाई ठम्याउन सक्ला? यी जिज्ञासाहरूले ‘खोजी जारी छ’ पढेपछि पङ्क्तिकारको मस्तिष्कलाई निकै उद्वेलित बनाए।
साहित्यमा धारको कुरा स्वाभाविक रूपमा उठ्छ। यस सङ्ग्रहले कुन बाटो समातेको छ, त्यो त समालोचकहरूले पक्कै ठम्याउने नै छन्। तर मलाई लाग्यो— कविको संसारमा ‘मृत्यु’ भन्ने नै छैन, त्यहाँ त केवल निरन्तर ‘रूपान्तरण’ मात्र छ। नष्ट हुनु केही होइन, केवल बदलाव मात्र हो। खोज्ने, हेर्ने र बुझ्ने आत्मिक र प्रत्यक्ष गरी यहाँ दुई दृष्टिकोण छन्। अझ आत्मिक दृष्टि त यति टाढासम्म पुग्छ, जहाँ मृत्युले समेत हार खान्छ।
बहुआयामिक दर्शनको सङ्गम:
क्वान्टम साहित्यमा रुचि राख्नेहरूका लागि यो कविता सङ्ग्रह ‘क्वान्टम साहित्य’ को एउटा उत्कृष्ट नमुना बन्न सक्छ। लीलालेखनको सन्दर्भमा त यो यति परसम्म पुगेको छ कि त्यहाँसम्म पुग्न सबैको सामर्थ्य पुग्दैन। ‘अनाथ’ का कविताहरू आफ्नै परा-भविष्यवादी दिशा उन्मुख अद्वैत शैलीमा ढालिएका छन्। यसमा प्रबुद्ध-रूपान्तरण, अस्तित्वगत सापेक्षता, र नैतिक-वैज्ञानिक यथार्थवादको समिश्रण देखिन्छ भने कतै उत्सव र ‘मेटा-लीला’ शैलीको प्रभाव पनि उत्तिकै बलियो छ। कविको लीला-बोधले लीलालेखन र लीला-दर्शनलाई यसरी एकाकार गरिदिएको छ कि ती दुईलाई अलग्याउन कठिन हुन्छ।
प्रसिद्ध कवि डा. नवराज लम्सालले भनेझैँ, यो सङ्ग्रह पूर्णतः ‘दर्शनमा भिजेको’ छ। प्रगतिशील साहित्यिक धारको दृष्टिकोणबाट हेर्दा यी कविताहरू यति प्रखर र ‘तातो’ छन् कि जोकोहीले यसको गहिराइलाई सहजै समात्न सक्दैनन्। अर्कोतर्फ, कविको आत्मिक भावमा यो सङ्ग्रह उत्तिकै करुणामय र शीतल पनि छ। यो सङ्ग्रह कुन निश्चित धारको हो र यसको सन्देशले कुन दिशा निर्देश गर्छ भन्ने कुरा ठम्याउन सहज छैन। यसमा खोज, दर्शन, ज्ञान, साहित्य, चेतना, सङ्कल्प, प्रेम, करुणा, शील, स्थुल दृश्य र अदृश्य सत्ता—सबै कुरा यसरी उनिएका छन् कि यसलाई कुनै एउटा घेराभित्र सीमित गर्न सकिँदैन।
यो ज्ञान हो कि विज्ञान, या दर्शन? आयामेली साहित्यकारहरूले यसको विश्लेषण कुन आयामबाट गर्लान्? यस्तो जटिल र गहन सङ्ग्रह कविले कुन प्रेरणाले लेखे होलान्? यसमा योगीको योगरस छ, ज्ञानीको ज्ञानरस छ, र समतामूलक साम्यवादको स्वर पनि निहित छ। शून्यभन्दा परको अदृश्य ‘क्वान्टम भौतिकी’ को तरङ्ग अनुभूति समेत यसैमा समेटिएको छ। मन पखालेर भन्नुपर्दा, एउटा विशाल समुद्रजस्तै निष्कर्षहरूको भण्डार बनेको यस सङ्ग्रहका सबै कविताको ‘धुन’ र मर्म बुझ्ने पाठकहरू पाइएलान् कि नपाइएलान्? पङ्क्तिकारमा यो शङ्का भने अझै जीवित छ।
आधुनिक काव्यचेतना र निष्कर्षको लालित्य:
मेरो विचारमा, यो सङ्ग्रह कविता लेखनको एक परिष्कृत छलाङ्ग नै हो। बुद्धले भनेका थिए— “खोज्न धेरै बाँकी छ; आफ्नो ज्योति आफैँ खोज।” बुद्धले आफूलाई आवश्यक सत्य खोजे, लोककल्याणका लागि ज्ञान बाँडे र असान्दर्भिक प्रश्नहरूमा मौन रहे। तर आधुनिक खोजको क्षितिज फरक छ; केवल प्राचीन खोजले मात्र आजको जिज्ञासा शान्त हुन सक्दैन। यो सङ्ग्रह पढ्दा लाग्छ, कविले त्यही अधुरो खोजलाई निरन्तरता दिएका छन्। ज्ञान प्राप्तिका लागि धेरै कृतिहरूको भण्डार चाहिन्न, यो एउटै सङ्ग्रह जिज्ञासु पाठकका लागि काफी छ।
कविता लेखनको क्षेत्रमा यो सङ्ग्रह कवि डिल्ली अम्माईको एक नवीन प्रयोग हो। बजारमा यस्ता प्रयोगधर्मी कविताहरू मैले निकै कम भेटेको छु। कविताहरू चार-पाँच हरफमै सटिक निष्कर्ष दिने खालका छन्, जहाँ थोरै शब्दमा पूर्ण विचार व्यक्त गरिएको छ। यो कविताको आधुनिक शैली (Trend) हो, जसमा छोटा-छोटा निष्कर्षहरू मार्फत अन्तिम सत्यसम्म पुगिन्छ। यसलाई कतिपयले ‘च्याट शैली’ को कविता पनि भन्ने गर्दछन्।
मलाई लाग्छ, यो सङ्ग्रह गितारका तारहरूबाट निस्कने फरक-फरक धुनजस्तै लयदार र वैविध्यपूर्ण छ। बौद्धिक पाठकले हरेक कविता पढेपछि ‘अहा!’ नभनी सुखै छैन। भूमिकामा कविवर वाग्लेले साहित्यको भावबारे लेख्नुभएको छ— “बुझाइ र लेखाइहरू निजी हुन्छन् र हुनुपर्दछ; यो कविता सङ्ग्रहले पक्कै पनि बौद्धिक पाठक पाउनेछ।” उहाँको यस भनाइमा मेरो पूर्ण सहमति छ।
वैश्विक जागरण र मानवीय संवेदनाको सङ्गम:
अर्कातर्फ, यो कविता सङ्ग्रह ‘वैश्विक जागरण’ को एउटा सशक्त शङ्खघोष जस्तो पनि देखिन्छ। सामाजिक चिन्तनका दुई भिन्न प्रवृत्तिबिचको द्वन्द्व, आत्मिक जागरणका क्रममा आउने उतारचढाव, जनजनको युद्धविरोधी भावना, एकान्तको गुह्य अर्थ, र अग्रजहरूको वात्सल्य यसका मूलभूत पक्ष हुन्। त्यति मात्र होइन, जीवहिंसा वा बलि प्रथाको विरोध, नेपालमा ‘बिचौलिया गणतन्त्र’ हाबी भएपछिको राजनीतिक विद्रूपता, कोरोना कालको मृत्युभय, शासक र किसानबिचको सङ्घर्ष, प्राकृतिक न्यायको पक्षपोषण, र सपनामा स्वर्गीय आमाले दिनुभएको अन्तर्बोधको सन्देशसम्म कविका कविताहरू फैलिएका छन्।
विशेषगरी, १४ फेब्रुअरीको ‘भ्यालेन्टाइन डे’ (प्रेम दिवस) लाई कविको चेतनाले डोर्याउँदै शकुन्तला र दुष्यन्तको पूर्वीय प्रेम-चौपारीसम्म ल्याई पुर्याएको छ। यसले विश्वका विभिन्न प्रेम-कथाहरूलाई मानवताको एउटै मजेरीमा उनेर प्रेमलाई एक साझा र सार्वभौम विषय बनाइदिएको छ। कवि स्वयं भन्छन्— “मलाई होइन, मेरा कविताहरूलाई विश्लेषण गरेर बुझ्नु; सांसारिक मुक्तिका लागि कर्मलाई नछोड्नु र आत्मिक मुक्तिका लागि पनि कर्मलाई नै निरन्तरता दिनु।”
साहित्यिक चेतना र सामाजिक रूपान्तरणको महामन्थन:
साहित्य केवल मनोरञ्जनका लागि मात्र हुनुहुँदैन; यसको वास्तविक सफलता चेतनाको विस्तार र समाजको रूपान्तरणमा निहित हुन्छ भन्ने मान्यता राख्छन् कवि, पत्रकार तथा लेखक डिल्ली अम्माई। उनका दार्शनिक लेखहरू बेलाबेलामा सार्वजनिक भइरहन्छन्, जसले समाजका विसङ्गतिमाथि कडा प्रहार गर्छन्। वर्तमानमा धर्म, कुसंस्कार र गलत रीतिथितिहरूले मानिसलाई भय, त्रास र भ्रमको जालोमा पारेर मानवीय स्वतन्त्रतालाई साँघुर्याउँदै लगेका छन्। धर्मगुरु, राजनीतिज्ञ र कथित बुद्धिजीवीहरूले भय सिर्जना गरेर आफ्नो प्रभुत्व टिकाइरहेको अवस्थामा डिल्ली अम्माईका कविताहरू ती विकृतिमाथि सोझो प्रहारका रूपमा उभिएका छन्। उनले यस सङ्ग्रहमा सामाजिक चिन्तन र व्यवहारलाई आफ्नो अद्भुत प्रज्ञाले मथेका छन्। यस्ता स्रष्टा र सिर्जना समाजले विरलै पाउँछ, जसलाई उछिन्न कैयौँ समय लाग्न सक्छ।
यद्यपि, पङ्क्तिकारलाई लागेको एउटा कुरा— सङ्ग्रहमा समाहित ६१ वटा कविताहरूलाई दार्शनिक, प्रकृतिवादी, सङ्कल्प/कर्मवादी र प्रगतिवादी गरी छुट्टाछुट्टै खण्डमा वर्गीकरण गरेर पुस्तक तयार पारिएको भए पाठकका लागि अझ सहज हुने थियो। साथै, शीर्षक चयनका हकमा ‘निरपेक्ष अस्तित्वको खोज’ भन्दा ‘खोजी जारी छ’ ले समग्र कविताहरूको अझ बढी प्रतिनिधित्व गर्थ्यो कि भन्ने मलाई लाग्छ। गह्रौँ शीर्षक सबैले सहजै आत्मसात् गर्न सक्दैनन्। मेरो विचारमा पुस्तकको शीर्षक आफैँमा आधा पुस्तक सरह हो; यदि शीर्षक बोधगम्य र आकर्षक भयो भने त्यसले सबैको ध्यान सहजै तान्न सक्छ।
साहिलीको करुणा र आक्रोशको झिल्को:
यस सङ्ग्रहमा ‘करुणा’ शीर्षकको एउटा अत्यन्तै हृदयविदारक कविता छ। यसमा इँटाभट्टामा मजदुरी गरेर आफ्नो जिजीविषा धानिरहेकी ‘साहिली’ भन्ने पात्रको कारुणिक कथा उनिएको छ। खोलाको किनारमा रहेको सुकुम्बासी बस्तीमा सुतिरहेको बेला साहिलीका साना सन्तानलाई बाढीले बगाएर निष्प्राण बनाइदिन्छ। सन्तान वियोगको त्यो असह्य पीडामा साहिली बेहोस छिन्— उनी बाँच्छिन् या मर्छिन्, केही अत्तोपत्तो छैन। यो दृश्यले कवितालाई करुण रसले निथ्रुक्क भिजाएको छ।
तर, प्राविधिक त्रुटिका कारण होला, यस कविताको अन्तिम अंश ‘केवल स्वप्न’ नामक अर्को कविताको अन्त्यमा गएर झुण्डिएको देखिन्छ। यो सम्भवतः सम्पादन वा छापाखानाको गम्भीर लापरबाही हुन सक्छ। उक्त अंश यस्तो छ:
‘प्रारब्ध एक्कासि हाँस्यो
खै के भएर हो कविको आँसु
साहिलीको पसिनाझैँ गालामा झर्यो
ओठ पिट्यो र करुणा बनेर छातीमा टाँसियो
राप बनेर मुट्ठीहरू ततायो
र आक्रोशका कविताहरूमा मिसियो !’
यसरी करुणाबाट सुरु भएको यो कविता अन्त्यमा पुग्दा आक्रोश र विद्रोहको झिल्कोमा रूपान्तरण भएको छ, जसले समाजको विभेदकारी संरचनाप्रति प्रश्न उठाउँछ।
आलोचकीय दृष्टि र ‘केवल स्वप्न’ को सौन्दर्य:
मैले अघि उल्लेख गरेको अंश ‘केवल स्वप्न’ कविताको भाग हुनै सक्दैन, किनकि भाव र संरचनाका दृष्टिले यो त्यहाँ फिट हुँदैन। ‘केवल स्वप्न’ मा साहिलीको प्रसङ्ग कतै पनि छैन। यस कवितामा त कविले सपनामा देखेको भविष्यको एउटा सुन्दर चित्र मात्र छ। मानव बनिसकेका अर्थात् पूर्ण चेतना प्राप्त गरेका व्यक्तिहरूले देख्ने सपना वा कल्पनाको तस्बिर र कविको सुकिलो सोच यसमा प्रतिविम्बित छ। यो कविता वास्तवमै स्वप्निल र सुन्दर छ। उदाहरणका लागि यी हरफहरू हेरौँ:
‘थोपरिएको पीडाको टनक नसहनु
प्रतिरोधको मुठ्ठीभित्र आगो बल्नु
नागरिकको प्रेममा शीतल जस्तै बर्सिनु
बाटो हिँड्दा सिंहावलोकन गर्नु
उठ्नु, उठाउनु र जुट्नु, जुटाउनु
कर्मको उचाइमा हिमाल जस्तै अग्लिएर
आफन्तको मायामा “मम” झैँ बाफिनु
चम्किलो बाटोमा पारसमणि भेटे जस्तै हो ।’
कविको ‘केवल स्वप्न’ कवितामा भविष्यप्रतिको आशावादिता निकै सुन्दर ढङ्गले व्यक्त भएको छ। यस कविताका अन्तिम हरफहरूले पाठकको मनमा उज्यालोको नयाँ बिस्कुन छरिदिन्छन्:
‘क्षितिजमा नयाँ सूर्योदय हुनेछ समानताको
वेद विज्ञानमा फेरिने छन्, प्रकाश ज्योतिर्मय बन्नेछ
झगडाको बीज फालिनेछ भट्टीमा
आगोका फिलिङ्गा उड्ने छन् र जुनकिरी बन्नेछन्
तिनै जुनकिरी मिलेर पृथ्वी उज्यालिनेछ भोलि ।’
कति मीठो छ कविको यो ‘उज्यालो भोलि’ को परिकल्पना! अहा, यी हरफहरूले मानवता र समानताको सुखद भविष्यप्रति हामीलाई विश्वस्त तुल्याउँछन्।
काव्यिक संरचना र भाषिक गाम्भीर्य: केही सुझावहरू-
समालोचना गरिरहँदा केही पक्षहरूलाई औँल्याउनु सान्दर्भिक देखिन्छ। यस सङ्ग्रहका कतिपय कविताहरू निकै लामा छन्। कविताहरू सुन्दर र विचारोत्तेजक हुँदाहुँदै पनि, आजको व्यस्त जीवनमा पाठकहरूलाई धेरै लामा फुटकर कविताले केही हदसम्म बोझिलो महसुस गराउन सक्छन्। पुरानो समयमा जस्तो फुर्सद र धैर्यता अहिलेको भागदौडपूर्ण जीवनमा कमै पाइने हुनाले, कविताको आयामबारे स्रष्टाहरूले हेक्का राख्नु उचित हुन्छ। त्यस्तै, केही कविताहरूमा लाक्षणिक शब्दहरूको पुनरावृत्ति देखिएको छ। शब्द चयनमा अझ बढी विविधता ल्याउन सके रचनामा नवीनता र ताजापन झन् प्रखर रूपमा देखिने थियो।
कतिपय कवितामा संस्कृतका शब्द, वाक्यांश र श्लोकहरूको बाक्लो प्रयोगले गर्दा भाषा अलिक क्लिष्ट र दुर्बोध्य भएको भान हुन्छ। तर, यसको एउटा सबल पक्ष पनि छ— यसले हाम्रो शब्द भण्डारको वास्तविक स्रोत पहिचान गर्न मद्दत पुर्याउँछ। पूर्वीय दर्शनका मुख्य स्रोत संस्कृत र पालि भाषा हुन्। यी भाषाहरूका बारेमा जानकारी मात्र राखेर पुग्दैन, अध्ययन पनि गर्नुपर्छ भन्ने मतलाई स्वीकार गर्ने हो भने, कविले प्रयोग गरेका ती वाक्यांशहरूलाई “जननी वा स्रोत भाषालाई बुझ र नत्याग; हाम्री पुर्खा (बज्यै) को हृदय कति विशाल थियो” भन्ने सन्देशका रूपमा लिन सकिन्छ। वास्तवमा, हाम्रो सिङ्गो शब्दकोशको आधार तिनै मातृ-भाषाहरूको कोखबाट जन्मिएको हो।
पुस्तकको बनोट र प्रकाशन व्यवस्थापनमा केही टिप्पणी:
पुस्तकको बाह्य बनोट (कभर पेज) का सन्दर्भमा पनि केही सुधारका पक्षहरू देखिएका छन्। कभरमा लेखकको नामको ठिक तल सम्पादक र प्रकाशन गृहको नाम उल्लेख नगरेको भए किताबको सौन्दर्य अझ निखार्ने थियो र भद्दा देखिने थिएन। सामान्यतया, सर्वाधिकार लेखक स्वयंमा सुरक्षित भएको पुस्तकमा आवरण पृष्ठमै लेखकसँगै सम्पादक र प्रकाशन गृहको नाम लेख्ने चलन हुँदैन; यसले कतै न कतै स्रष्टाको व्यक्तित्वलाई छायामा पार्ने काम गर्दछ। पत्रपत्रिकाको हकमा स्थानको अभावले यसलाई स्वाभाविक मानिएला, तर लेखकको निजी लगानी र सर्वाधिकार रहेको पुस्तकमा सम्पादक र प्रकाशकको नाम ‘फेस साइड’ (आवरण) को विपरीत पृष्ठमा राख्नु नै मानक परम्परा हो। आवश्यक परे लेखकले आफ्नो ‘भनाइ’ वा ‘भूमिका’ मा उनीहरूको नाम र सहयोगको चर्चा गर्न सक्छन्।
त्यस्तै, पुस्तकको अन्तिम पृष्ठमा पनि प्रकाशकले आफ्नै लगानीमा पुस्तक निकालेको झैँ गरी अन्य पुस्तकहरूको विज्ञापन राखेका छन्। यदि यो लेखकसँगको पूर्वसहमति बिना गरिएको हो भने, यसलाई प्रकाशकको ‘व्यापारिक चलाखी’ मात्र मान्न सकिन्छ। यस्ता स-साना प्राविधिक कुराहरूले लेखकको चित्त दुखाउन सक्छ र कृतिको गरिमामा समेत असर पार्न सक्छ।
निष्कर्ष: अन्तरात्माको यात्रा र युगान्तकारी सङ्कल्प:
प्रस्तुत टिप्पणीहरू मैले आफ्नै निजी अनुभूति र ठम्याइका आधारमा तयार पारेकी हुँ। कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’ एक गहन दार्शनिक अन्वेषण हो भन्ने कुरामा कसैको मतान्तर होला या नहोला, त्यो समयले बताउनेछ। तर, समग्रमा यो पुस्तक पठनयोग्य र उत्कृष्ट छ। सङ्ग्रहभित्र प्रवासको पीडा कम देखिए तापनि मानवीय सोच र कर्मका अलमलहरूलाई निकै गहिराइमा केलाइएको छ। यसका सबै गद्य कविताहरू लयात्मक, साङ्केतिक र बिम्बप्रधान छन्।
कविले अरूलाई बाहिर होइन, आफ्नै अन्तरात्मातर्फ फर्कने सल्लाह दिएका छन् र उनी स्वयं पनि त्यही आत्मिक यात्रामा निस्किएका देखिन्छन्। अरूको कुभलो चिताउने र व्यक्तिगत स्वार्थका लागि अरूलाई निचोर्ने प्रवृत्तिलाई उनले कडा चुनौती दिएका छन्। समुदायको भलाइ, करुणा, प्रेम र मानवताको मार्गबाट मात्र उज्यालोको खोजी सम्भव छ भन्ने उनको मूल मन्त्र छ। सही मार्गको छनोटले मात्र भविष्यको उज्यालो समात्न सकिन्छ र चेतनाको जुनकिरीलाई प्रत्येक घर-आँगनसम्म पुर्याउन सकिन्छ। अन्याय सहनुको साटो विद्रोह गर्ने मान्छे नै युगान्तकारी भविष्यको वास्तविक संवाहक हो; सायद यही सन्देश नै यस सङ्ग्रहको मूल सङ्कल्प हो।
मैले जे-जसरी यस कृतिको समालोचना गरेँ, त्यसको अन्तिम मूल्याङ्कन र टिप्पणी गर्ने जिम्मा अब पाठकहरूकै हातमा छ। मेरो एउटै आग्रह छ— सचेत पाठकले सङ्ग्रहका कविताहरूलाई अत्यन्त मिहिन ढङ्गले बुझ्ने प्रयास गरून्। साथै, यस्ता प्रतिक्रियाहरूबाट कवि पनि प्रेरित मात्र होउन्, नहौसिउन्।
विज्ञको दृष्टि र कृतिको गाम्भीर्य:
वरिष्ठ समालोचक तथा भाषाविद् प्रा. डा. नारायणप्रसाद खनालले आफ्नो भूमिका ‘निरपेक्ष कविताका सापेक्ष उद्गार’ मा कृतिको गाम्भीर्यबारे यसरी उल्लेख गर्नुभएको छ— “साँचो कुरा गरूँ, यी कविताभित्र प्रयुक्त पौराणिक मिथक, ऐतिहासिक उपमान, बिम्ब, भौगोलिक भेदभाव, लौकिक अनुभूति र अलौकिक यात्रोन्मुखताको सङ्गम छ। शून्य-महाशून्य, ब्रह्म, कैवल्य, द्वैत-अद्वैत, प्रज्ञा-पारमिता, बुद्ध देशना र माता-पिता एवं मातृभूमिका जे-जस्ता बिम्ब-प्रतिबिम्बहरू ‘निरपेक्ष अस्तित्वको खोज’, ‘खोजी जारी छ’, ‘यात्रा’, ‘केवल स्वप्न’, ‘ज्योति बन्ने कला’, ‘विष्फोटित सृष्टि र संयोग’, ‘शील’ र ‘ज्ञान’ जस्ता कविताका अन्तरालोडनबाट प्राप्त भएका छन्; तिनको मर्म बुझ्न ‘मै हुँ’ भन्ने समीक्षकलाई पनि वर्षौँ लाग्न सक्छ। म स्वयं पनि त्यसैभित्र पर्छु होला। अतः मैले यहाँ चञ्चु-प्रवेश गर्ने किञ्चित् प्रयास मात्र गरेको हुँ।”
साहित्यका मूर्धन्य व्यक्तित्व खनाल गुरुको यही यथार्थपरक र विनम्र भनाइलाई सापटी लिँदै म यस समालोचनाबाट बिदा लिन्छु। अन्त्यमा, कवि डिल्लीजीको सिर्जना यात्राको उत्तरोत्तर प्रगतिको मङ्गलमय कामना गर्दछु।
