युरोपेली नेपाली साहित्यको इतिहासमा पहिलो ‘मृत्युञ्जय खोज’: एक सैद्धान्तिक समीक्षा
अन्वेषक/लेखक: लालगोपाल सुवेदी
समीक्षात्मक कोण: डायस्पोरिक पहिचान, सबाल्टर्न चेतना र ऐतिहासिक अभिलेखीकरण
-अनाथ अंकल 
समयको गतिसँगै इतिहासका पाटाहरू र साधकहरूको योगदान विस्मृतिको गर्तमा हराएर जान्छन्। भौतिकवाद र चरम व्यस्तताले भरिएको युरोपेली भूमिमा रहेर नेपाली भाषा, लिपि र रैथाने संस्कार बचाउन लडिरहेका स्रष्टाहरूको खोजी गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो। लेखक लालगोपाल सुवेदीले यस कृतिमा जुन अन्वेषण गर्नुभएको छ, त्यो केवल पुस्तक लेखन मात्र होइन, त्यो नेपाली डायस्पोराको इतिहासमा “मृत्युञ्जय खोज” (Immortal Exploration) हो। जसरी मृत्युञ्जय मन्त्रले जीवन दान दिन्छ, त्यसै गरी यो कृतिले भौतिक रूपमा ओझेलमा पर्न सक्ने झन्डै पैचालिस जना युरोपेली नेपाली स्रष्टाहरूको साधना र परिचयलाई अक्षरको माध्यमबाट सधैँका लागि अमर बनाएको छ। आज उक्त पुस्तकको माध्यामबाट युरोपका यी श्रष्टाहरु डेनमार्कको राष्ट्रिय पुस्तकालयदेखि नेपालको केन्द्रीय पुस्तकालयसम्म अमरत्वको बुटी लिएर बसेका छन्।
यो कृति केवल स्रष्टाहरूको जीवनीको सङ्ग्रह मात्र होइन, यसले युरोपेली नेपाली साहित्यको विधागत र वैचारिक प्रवृत्तिको गहिरो विश्लेषण गरेको छ:
उत्तर-औपनिवेशिक तथा सबाल्टर्न चेतना: विषयसूचीमा गोर्खा इतिहास बोकेका स्रष्टादेखि प्रवासी सङ्घर्ष गरिरहेका ‘भुइँमान्छे’ को आवाज (सबाल्टर्न चेतना) लाई सैद्धान्तिक रूपमा केलाइएको छ।
मिश्रित संस्कृति र पहिचान (Hybridity & Identity): युरोपेली आधुनिक जीवनशैली र नेपाली रैथाने माटोको सुगन्धबीचको द्वन्द्व र समन्वयलाई यसले विधागत रूपमा (कविता, गजल, गीत, नियात्रा, र नाटक) वर्गीकरण गरेर न्याय गरेको छ। जीवा लामिछानेको नियात्रा चेतदेखि केदार सङ्केत, र दीपेन्द्र के.सी. हरूको साङ्गठनिक–साहित्यिक उचाइसम्मलाई यसले एउटै कसीमा राखेको छ।
नारी चेतनाको मानवतावादी स्वर: कृतिले युरोपमा रहेर कलम चलाउने महिला स्रष्टाहरू (जस्तै माया गुरुङ, सबी श्रेष्ठ , सीता बराल, लारा, शारदा पौडेल निशा, सुजाता घिमिरे, मञ्जु भण्डारी खरेल आदि) को सिर्जनालाई विशिष्ट स्थान दिँदै लैङ्गिक समता र मानवतावादी दृष्टिकोणलाई बलियोसँग स्थापित गरेको छ।
साहित्यिक जगत्मा ‘म-त्व’ (अहङ्कार) र आत्म-प्रशंसाको बाहुल्यता बढी देखिने वर्तमान समयमा लालगोपाल सुवेदीले यो कृतिमा आफूलाई पूर्णतः नेपथ्यमा राख्नुभएको छ। उहाँले आफ्ना २१ वटा कृति र चार दशक लामो प्राज्ञिक उचाइ (महेन्द्र विद्याभूषण र प्रज्ञा पुरस्कार) को घमण्ड कतै नदेखाई, सिङ्गो पुस्तक युरोपका स्रष्टाहरूको श्रीवृद्धि र मूल्यांकनमा समर्पित गर्नुभएको छ। आफ्नो बारेमा भन्दा बढी अरूको पसिना र साधनाको कदर गर्ने उहाँको यो प्रवृत्तीले उहाँलाई एउटा उच्च कोटीको निष्पक्ष अनुसन्धानकर्ता र ‘त्यागी साधक’ का रूपमा प्रमाणित गर्दछ।
कुनै पनि ऐतिहासिक कार्य आफैँमा पूर्ण हुँदैन र यो पुस्तकको पहिलो संस्करण पनि त्यसबाट अछुतो छैन। युरोपको विशाल भूगोलका कारण आदरणीय अग्रज पदम गुरुङजस्ता विशिष्ट व्यक्तित्व र अन्य कतिपय स्रष्टाहरू प्राविधिक कारणले यसमा समेटिन छुट्नुभएको छ। तर, यस सीमालाई लेखकले लुकाउनुभएको छैन, बरु “अब युरोपले लेख्नुपर्छ” भन्दै युरोपेली स्रष्टाहरूलाई नै यसको परिमार्जन र पूर्णताको साँचो सुम्पिनुभएको छ। यो उहाँको प्राज्ञिक इमानदारिताको पराकाष्ठा हो।
निष्कर्षमा,लालगोपाल सुवेदी रचित र महेश पौड्यालद्वारा सम्पादित यो कृति युरोपेली नेपाली साहित्यको इतिहास लेखनको प्रस्थानविन्दु हो। यो कृतिले स्थापित गरेको ‘मृत्युञ्जय खोज’ को सिद्धान्तले डायस्पोरिक साहित्यलाई नेपालको केन्द्रीय प्राज्ञिक मूलधार (विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठान) सँग जोड्न एउटा बलियो कडीको काम गर्नेछ। 
प्रतिकृया दिनुहोस्