योगमायाका नाममा स्थापित दुई पुरस्कार समर्पण र कृति लोकार्पण
काठमाडौँ । योगमाया दिवसको अबसरमा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ द्वारा निनु चापागाईँलाई सम्मानित गरिएको खबर छ ।
नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कँडेल, राजेश न्यौपाने लगायतले ती सम्मान समर्पण गरेका खबरमा उल्लेख छ । दुबै सम्मानमा नगदराशी ५० हजार एकसय एक रुपैयाँ सहित सम्मानपत्र रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रोचक घिमिरेले सम्मान अर्पण गर्दै निरंकुशताका विरुद्ध संघर्ष गर्ने विलक्षण व्यक्तित्व योगमायाले सबला नारीको रुपमा समाजका विकृति विरुद्ध खेलेको भूमिका अतुलनिय रहेको बताए ।
सम्मानित स्रष्टा ठकुरीले पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको बताईन् । उनी आफ्नो बाल्यकाल सम्झँदै नोष्टाल्जिक पनि भइन् । अर्का सम्मानित व्यक्तित्व चापागाईँले दुरीको हिसावले योगमाया र आफू जन्मेको ठाउँ धेरै टाढा नभएपनि धेरै पछि मात्र योगमायाको बारेमा थाहा पाएको भन्दै योगमायाको बारेमा अझै धेरै कुरा खोजी हुनुपर्ने बताए । पुरस्कारका संस्थापकद्वय पवन आलोक र राजेश न्यौपानेले योगमायाको योगदानको चर्चा गर्दै ती आज पनि उत्तिकै सान्दर्भिक रहेका बताए ।
सम्मानित व्यक्तित्वहरुको बारेमा चर्चा गर्दै इल्या भट्टराईले माया ठकुरी विगतमा रेडियो खर्साङ र रेडियो नेपालमा गायिका रहेकी र उनका कृतिहरु भारत र नेपालका विभिन्न विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रममा रहेको पनि जानकारी गराइन् । यसैगरी चापागाईँ साहित्य र राजनीतिमा संगै हिड्न सक्ने क्षमता भएको व्यक्तित्वको रुपमा चर्चा गर्दै राल्फाली आन्दोलन र समालोचनाको क्षेत्रमा उनको योगदान बारे जानकारी दिइन् ।
न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायाका योगदानहरुको प्रचार प्रसार गर्न र राष्ट्रिय विभूति घोषणा गर्न आफूहरु लागिपरेको जानकारी दिंदै सम्मानित व्यक्तिद्धयलाई बधाई दिए ।
कृति विमोचन:
सोही अवसरमा योगमाया न्यौपानेको बारेमा लेखिएका लेख रचनाहरुको संगालो ‘योगमाया इतिहासदेखि बर्तमानसम्म’ को लोकार्पण पनि गरिएको छ । सो कृति प्रदीप सापकोटाले सम्पादन गरेका हुन् । न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले लोकार्पित कृतिले योगमायाको योगदानको चर्चा सबै सामु पुग्ने आशा समेत व्यक्त गरे ।
यसका अलावा कार्यक्रममा योगमाया रचित गीति भिडियो पनि प्रस्तुत गरियो । जसमा संगीत र स्वर गायिका लोचन भट्टराईको रहेको छ ।
अतिथिको रुपमा नेपाल स्रष्टा समाजका सल्लाहकार प्रा. डा. लक्ष्मणप्रसाद गौतम, पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, रमा शर्मा, वागमती प्रदेश संयोजक शंकर भारती, कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, गण्डकी प्रदेश अध्यक्ष रिता न्यौपाने लगायत रहेका थिए ।
सह -आयोजक न्यौपाने बन्धु समाज नेपाल रहेको कार्यक्रम समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’ रोदन’को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गोपिकृष्ण न्यौपानेले धन्यवाद ज्ञापन गरे । प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा प्रकाश घायलले स्वागत मन्तव्य राखे ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानबाट हालसम्म १८ जना व्यक्तिहरु सम्मानित भएका छन् भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट ९ जना सम्मानित भैसकेका छन् ।
