पेरिसमा कवि दिनेश अधिकारीको एकल कविता वाचन
पेरिस । फ्रान्सको राजधानी पेरिसमा कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको सन्दर्भ पारेर फ्रान्सस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ्रान्स च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि अधिकारीले आफ्ना करिब दुई दर्जन कविता तथा गीतहरू वाचन गरे ।

सोही अवसरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा कवि अधिकारीले नेपाली कविताका विविध पक्षबारे आफ्नो धारणा पनि राखे ।
प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला संचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै पाठशाला खुलेमा दूतावासले आवश्यक पाठ्य सामाग्री उपलब्ध गराउने वचन दिए ।
कार्यक्रममा अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेतीका साथै राम पाण्डे, हरिहर अर्याल, सुमित्रा बुर्लाकोटी लगायतले प्रवासमा नेपाली भाषा र साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौती आदिबारे चर्चा गरेका थिए ।

कार्यक्रमको दोस्रो खण्डमा ओम गौचन, निश्चल रिमाल, हरिहर अर्याल लगायतले पनि आ-आफ्ना रचना वाचन गरेर सुनाए । गायक रन बराइलीले गीतकार अधिकारीका दुईवटा गीतमार्फत दर्शक श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए ।
वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी पारिवारिक भ्रमणका सिलसिलामा युरोप आइपुगेका बेला फ्रान्समा उक्त भव्य कार्यक्रम सम्पन्न भएको हो ।

