नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी नियुक्त

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी नियुक्त भएका छन् । प्रतिष्ठानको उपकुलपतिमा  अविनाश श्रेष्ठ र सदस्य–सचिवमा रोशन शेरचन नियुक्त भएका छन् भने परिषद् सदस्यहरूमा प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रुपाकुमारी, नविन नेपाली, दीपक सापकोटा र दुर्गाबहादुर घर्ती नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले साउन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पनि पदाधिकारीहरू नियुक्त गरिएको उल्लेख छ ।

विज्ञप्ति अनुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डंगोल तथा सदस्य–सचिवमा कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन् भने परिषद् सदस्यहरूमा जुपिटर प्रधान, कुबिर देवान, सङ्गी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याल छन् ।

यसैगरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम, सदस्य–सचिवमा भुपेन्द्रसिंह रायमाझी र परिषद् सदस्यहरूमा छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङलाई नियुक्त गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्