वर्षात् -रमेश दाहाल
रमेश दाहाल

बर्सात

 

 

 

आज फेरि
आकाशले आफ्ना सबै द्वार खोलेको छ
बादलहरू
मानौँ वर्षौंदेखि थुनिएका पीडाहरू
एकैपटक पोखिरहेका छन् ।

म झ्यालछेऊमा बसेर
बर्सातलाई हेरिरहेको छैन,
बर्सातले मलाई हेरिरहेको छ
किनकि,
यसले चिन्छ
मेरो अनुहारमा लुकेका
तिम्रा अनुपस्थितिहरू ।

मलाई आज पनि सम्झना छ,
त्यो दिन
तिमी यस्तै बर्सातमा रुझेकी थियौ ।
तिम्रो देहमा
वर्षा होइन,
हाम्रो मिलनको ऋतु झरिरहेको थियो ।
केशबाट चुहिएका थोपा
धर्तीमा झर्थेनन्,
मेरो हृदयमा झर्थे ।

तिम्रा आँखामा
आकाशभन्दा गहिरो
एउटा अथाह समुद्र थियो,
जहाँ मेरा सबै शब्दहरू
डुबेर निःशब्द भएका थिए ।

हामीबीच कुनै छाता थिएन,
त्यसभन्दा विशाल
एउटा निःशब्दता थियो
जसले हाम्रा दुई धड्कनलाई
एउटै लयमा बाँधेको थियो ।

मेरो हातले
तिम्रो हात स्पर्श गरेको त्यो क्षण
दुई अस्तित्वबीच
अनाहत प्रेमको
पहिलो स्पन्दन जागेको थियो ।

मेरा औँलाहरू
तिम्रो हातमा मात्र होइन,
तिम्रो समग्र अस्तित्वमा
सलबलाउन व्याकुल थिए;
अधरहरू
चुम्बनको याचनामा मात्र थिएनन्,
तिम्रा अधरमा थरथराएको
अनिर्वचनीय राग
आजीवन आत्मसात गर्न आतुर थिए ।

र म—
हिमशिखरको निःशब्द हिउँझैँ
तिम्रो स्पर्शको अदृश्य तापमा
क्षण–क्षण पग्लिरहेको थिएँ
त्यस दिनदेखि
वर्षा मेरो लागि मौसम रहेन
तिम्रो नाममा
आजीवन बर्सिरहने
एउटा अन्तःसलिला बन्यो ।

आज समय फेरिएको छ,
शहर फेरिएको छ,
झ्याल फेरिएको छ;
तर बर्सातको आवाज उस्तै छ ।

हरेक थोपाले
मेरो छातीभित्र
पुराना पदचिह्नहरू खोज्छन्,
हरेक गर्जनले
तिम्रो नाम उच्चारण गर्छन्,
हरेक बिजुलीले
क्षणभरका लागि
स्मृतिको आकाशमा
तिम्रो अनुहार कोर्छ
अनि फेरि अँध्यारो हुन्छ ।

याद छ तिमीलाई ?
इन्द्रेणीले धर्तीलाई
सप्तरङ्गी बाहुपाशमा बेर्दा
तिमी मेरा अस्तव्यस्त कपाललाई
औँलाहरूमा बेर्दै
बिस्तारै भन्थ्यौ—
“कवि !
म तिमीलाई धेरै माया गर्छु ।”

त्यही एउटा वाक्य
मेरो जीवनको
सबैभन्दा सानो,
तर सबैभन्दा विशाल
ब्रह्माण्ड थियो ।

त्यसपछि नै हो
मैले प्रेमलाई
कवितामा होइन,
तिम्रा आँखामा पढेँ;
ईश्वरलाई मन्दिरमा होइन,
तिम्रो विश्वासमा भेटेँ;
र घरलाई
चार भित्ताभित्र होइन,
तिम्रो अँगालोभित्र चिनेँ ।

आज तिमी छैनौ
तर अनुपस्थित हुनु
हराउनु रहेनछ ।

तिमी त
मेरो स्मृतिको रक्तनलीमा
अझै बगिरहेकी छौ,
मेरो सासमा
तिम्रो सुवास अझै बाँकी छ,
र मेरो एकान्त
आज पनि तिम्रै नाममा
बत्ती बालेर बस्छ ।

अब बर्सातसँग
मेरो कुनै गुनासो छैन
किनकि
आकाशको पानीभन्दा
स्मृतिको चिसोपन गहिरो हुनेरहेछ ।

तिमी छैनौ,
तर तिम्रो अनुपस्थिति
अझै मेरो ऋतु बनेर बर्सिरहेकी छ ।

शायद प्रेम
मिलनको पर्याय होइन;
प्रेम त त्यो बर्सात हो
जो प्रिय मान्छे टाढिए पनि
स्मृतिको आकाशबाट बर्सिरहन्छ
र जसलाई समयले पनि
कहिल्यै ओभाउन सक्दैन ।
**

 

प्रतिकृया दिनुहोस्