हराएका पसिना- गोमा न्यौपाने
हराएका पसिना
उसैगरी आयो आज पनि लखतरान
परदेशी ड्यूटीबाट
र, बस्यो उही पुरानो कुर्सीमा
पोत्न थाल्यो क्यानभासमा
आफ्ना पसिनाहरूको हुलिया ।
आजै थापेको तलबको बन्द खाम
खोल्नै मन छैन उसलाई
यसपालि पनि कति सस्तोमै बेचिएछन्
उसका पसिनाहरू
सम्झ्यो–
अघि दिनभरि उसको नाकबाट तप्पतप्प खसेका
ती अनगिन्ति पसिनाका थोपाहरूलाई
एउटा थोपामा थियो
छोराले हिजैमात्र गरेको म्यासेज –
‘स्कुलको फी तिर्न ढिला भयो रे बाबा !’
अर्को थोपामा थियो
सानी छोरीको तोते बोली –
‘हाम्लो घल्माचाहिँ किन टिबी नलाखेको बाबा ?’
एउटा थोपामा थियो
आमाको फाटेको चोली र बुच्चो कान
अर्को थोपामा थियो
बरण्डाको उदाङ्गो छाना
एउटा थोपामा थियो
छिमेकी साहूको ताकेता
अनि अर्को थोपामा थियो
श्रीमतीको मलिन अनुहार–
‘म पनि दुःख गर्दैछु प्यारा !
पुगे एउटा सानो तिलहरी लाउने मन छ
नपुगे अर्को साल छँदैछ नि !’
खोइ त अरू पसिनाहरूको हुलिया ?
हुलिया पोत्दापोत्दै अल्मलिन्छ ऊ
परदेशीका गीतहरूको शब्द शब्दमा
डुब्छ सम्झनाहरूको तलाउमा
हराउँछ अधुरा सपनाहरूको कुहिरोमा
बिर्सन्छ बाँकी पसिनाहरूको हुलिया
कस्ता थिए ती पसिनाहरू ?
पसिना –
बाको उदास अनुहारजस्तै थियो ?
पसिना–
घर तल्तिरको बाँझो खेतजस्तै थियो ?
पसिना –
वर्षौंदेखि भत्किएर बनाउन नपाएको
कुलोजस्तै थियो ?
पसिना –
बर्सेनी आउँदै-जाँदै गरेका
खल्लो चाडपर्वजस्तै थियो ?
पसिना –
ऊ परदेश गएपछिको
एक्लो नेपालजस्तो थियो ?
यस्तै यस्तै अनगिन्ति हराएका पसिनाहरूको
हुलिया खोज्दैछ ऊ
पोत्दैछ क्यानभासमा उसैगरी
बेपत्ता पसिनाहरूको जीवन्त चित्र
र भेटियोस् तिनीहरूलाई
घर फर्किने बाटोहरूमा
र, आज पनि उसैगरी
उसको बन्द ढोकाको च्यापबाट
मडारिँदै बाहिर निस्किरहेछ
सिगरेटको टर्रो धुँवासँगै
मोबाइलमा बजिरहेको उसको प्रिय गीत –
‘हजार सपनाहरूको माया लागेर आउँछ…।’
कवि गोमा न्यौपानेको प्रकाशोन्मुख कृतिबाट