अस्ट्रेलियामा कवि लालगोपाल सुवेदीको एकल कविता वाचन
ब्रिस्बेन, अष्ट्रेलिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कवि लालगोपाल सुवेदीको एकल कविता वाचन कार्यक्रम अष्ट्रेलियामा भव्यतापूर्वक सम्पन्न भयो ।
अनेसास क्विन्सल्याण्ड च्याप्टरले गत अप्रिल २६ तारिखका दिन ब्रिसबेनका आयोजना गरेको साहित्यिक कार्यक्रममा अनेसासका आजीवन सदस्य, स्थानीय साहित्यकार तथा साहित्युरागीहरूको भेलाका बीच उक्त एकल कविता वाचन सँगसँगै भाषा साहित्य तथा अनेसास ( केन्द्र ) को भावी कार्यदिशाबारे व्यापक छलफल र अन्तर्क्रिया पनि गरिएको थियो ।
अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा क्वीन्सल्याण्ड च्यापटरका अध्यक्ष केशव शर्माले स्वागत मन्तव्य राख्दै प्रवासी परिवेशलाई मध्यनजर गरी बालबालिकाका लागि छुट्टाछुट्टै नेपाली भाषा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिनुपर्ने धारणा राखे भने कार्यक्रमको सहजीकरण गर्दै महासचिव इशा शर्माले विश्वका विभिन्न देशका च्याप्टरमा अनेसास केन्द्रका पदाधिकारी उपस्थित भई स्थानीय स्तरका कार्यक्रममा सहभागिता जनाई केन्द्र र च्याप्टरको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिइन् ।

पहिलो सत्रमा केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा कवि लालगोपाल सुवेदीले अनेसासको भावी कार्यदिशा र भाषा साहित्यको महत्त्वबारे प्रकाश पारेको कार्यक्रमको दोस्रो चरणमा गद्य कविता, छन्दकविता र युट्युवमा रेकर्ड भएका सुवेदीद्वारा रचित गीत प्रस्तुत गरिए । कवि सुवेदीले ‘फूलको देशमा’, ‘नारी’, ‘मेरो देश’, ‘देवकोटा’ शीर्षकका छन्द कविता र ‘समय’, ‘फूलको आँखामा’, ‘अस्तित्वबोध’ लगायतका गद्य कविता सुनाउँदा काव्यसभा ध्यानमग्न बन्यो ।
कार्यक्रको अर्को चरणमा भाषा, साहित्य र अनेसासका गतिविधिबारे अन्तर्क्रिया गरिएको थियो । साहित्यका पारखीहरू केशव शर्मा, विनोदभक्त आचार्य, आमोद रिजाल, विमल खरेल, दुर्गामणि शर्मा, देव पौडेल (सानो बाबु ), केशु शर्मा, गोविन्द बराल , नारायण सुवेदी, राजन कोइराला, विमल ज्ञवाली, इशा शर्मा कोइराला, शेखर अधिकारी, रवि सुवेदी, तारा डाँगी, केदार चापागाईं, हरि खड्का, रजनी खड्का लगायतले छलफल र अन्तर्क्रियामा सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रमको अन्त्यमा क्वीन्सल्याण्ड च्याप्टरले अर्थपूर्ण कार्यक्रम आयोजना गरेकामा धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि सुवेदीले केन्द्रद्वारा प्रकाशित अन्तर्दृष्टि साहित्यिक पत्रिकाको ४९ औँ अंक र ‘युरोपेली नेपाली स्रष्टा’ पुस्तक क्वीन्सल्याण्ड च्याप्टरका लागि हस्तान्तरण गर्नुभयो ।
