‘सेतो धरती’ को गम्भीर दार्शनिक समिक्षा: चेतनाको बन्ध्याकरण र प्राकृतिक लयको हत्या
-देवी कँडेल (भरतपुर),
नेपाली इतिहास र साहित्यले सधैँ दरबारका ‘राजमाता’ हरूको विलासिता, शक्ति संघर्ष, र सुन्दरी गाथाहरूलाई मात्र केन्द्रमा राख्यो। तर, सेतो धर्ति उपन्यास ती सीमित सम्भ्रान्त महिलाहरूको कथा होइन; यो त समाजको पिँधमा पारिएका, दबाइएका, र जिउँदै जलाइएका असंख्य ‘योगमाया’ हरूको कठोर आँसुको समुद्र हो। सती प्रथाविरुद्ध पहिलो क्रान्ति गर्ने बिधवा योगमाया न्यौपानेले ६८ जना साथीहरू सहित अरुण नदीमा जलसमाधि (आत्मादाह) लिएकी थिइन्। ताराको कथा त्यही सामूहिक पीडाको निरन्तरता हो, जसले इतिहासको वास्तविक र कुरुप ऐना देखाउँछ।
अबका आधुनिक ताराहरूले अरुण नदीमा हाम फाल्ने (जलसमाधि) वा देवघाटको बालुवामा जवानी सुकाउने आत्मघाती बाटो रोज्नु हुँदैन। उनीहरूले अब समाजको यो क्रूर संरचनालाई सिधै चुनौती दिनुपर्छ। महिला मुक्ति -निराशा, रुवाबासी वा सहानुभूति भीख मागेर कहिल्यै प्राप्त हुँदैन; यो त आफ्नो अस्तित्वको ‘आफैँ निष्कर्ष’ निकालेर आकाशिने अदम्य साहस र आशाबाट मात्र सम्भव छ।
अर्को कुरा,”उपन्यासले ताराको माध्यामबाट दिन खोजेको मौन माग-आवाज सहितको माग भन्दा प्रभावकारी छ।” जब अन्यायको सीमा नाघ्छ, तब शब्दहरू हराउँछन् र मौनता आफैँमा एउटा ठुलो विद्रोह बन्छ। ताराले देवघाटको कुनामा बसेर बगाएको आँसु र उनको मौन जीवन नै पितृसत्तात्मक र पाखण्डी समाजको विरुद्धमा सबैभन्दा ठुलो ‘आवाज’ हो। यो मौनताले पाठकको अवचेतन मन (Subconscious Mind) लाई यसरी हल्लाइदिन्छ कि मानिस स्थापित सामाजिक नियमहरूमाथि प्रश्न उठाउन बाध्य हुन्छ। यो मौनता पराजय होइन, यो त चेतनाको अर्को विस्फोटका लागि जम्मा भएको ऊर्जा हो।
नेपाली समाजले नारीलाई कहिल्यै स्वतन्त्र अस्तित्वको रूपमा स्विकारेन, उसलाई सधैँ पुरुषको ‘छाया’ वा ‘बस्तु’ का रूपमा मात्र हेर्यो।
बालविवाह आफैँमा अपराध थियो, त्यसमाथि अबोध बालिकालाई ‘पोइ टोकुवा’ (श्रीमान् खाने) को जैविक रूपमै असम्भव र अपमानजनक आरोप लगाउनु समाजको सामूहिक मानसिक सुकेनास हो। ताराले देवघाटमा आफ्नो अधिकतम ऊर्जावान् जीवन चढाउनु उनको इच्छा थिएन, बरु समाजको ‘घृणा र अपमानको भारी’ बाट बच्ने अन्तिम आत्मसमर्पण थियो। यो उपन्यासले पुरानो नेपाली समाजको सभ्य मुकुण्डो उतारेर त्यसभित्रको कुरुप अनुहार देखाइदिन्छ।
समीक्षाका केहि कुराहरुलाई बुँदागत रुपमा राख्दा अझ उपन्यासको बहु आयामिक सन्देशलाई सहज बनाउन सकिन्छ :
१. अस्तित्ववादी सङ्कट र ‘निषेधित’ स्वतन्त्रता :
दार्शनिक कसीमा ‘सेतो धरती’ मानव अस्तित्व र स्वतन्त्रताको अपहरणको कथा हो। फ्रान्सेली अस्तित्ववादी दार्शनिक जाँ-पाल सार्त्रले भनेका छन्-“मानिस स्वतन्त्र हुनका लागि अभिशप्त छ।” तर उपन्यासकी मुख्य पात्र ताराको हकमा समाजले यो स्थापित अस्तित्ववादी मान्यतालाई नै उल्ट्याइदिन्छ। ताराको जन्म एउटा स्वतन्त्र ‘जैविक एकाइ’ (Biological Entity) का रूपमा भएको थियो, तर समाजको कृत्रिम नियमले उनलाई जन्मनासाथ ‘कसैको श्रीमती’ र लगत्तै ‘बालविधवा’ को कुरुप विम्बमा कैद गरिदियो। ताराले जीवनभर भोग्नुपरेको सङ्कट के हो भने-उनले आफ्नो अस्तित्व के हो भनेर आफैँले परिभाषित गर्ने अवसर कहिल्यै पाइनन्। उनको परिचय, उनको कपडाको रङ (सेतो), र उनको बस्ने ठाउँ (देवघाट) सबै समाजले पहिले नै ‘फिक्स’ गरिदिएको थियो। यो चेतनाको भयंकर दासता हो, जहाँ एउटा जीवित मानिस आफ्नो अस्तित्व प्रमाणित गर्न अर्काको इसारामा बाँच्न बाध्य हुन्छ।
२. प्राकृतिक फ्रिक्वेन्सी भर्सेस सामाजिक जडता :
जैविक’ कसीमा हेर्दा, ब्रह्माण्डको प्रत्येक जीवको एउटा निश्चित प्राकृतिक गति र ‘फ्रिक्वेन्सी’ हुन्छ। ताराको शरीर र मनमा पनि किशोर, जवान र प्रौढ उमेरका प्राकृतिक तरंगहरू (Biological Waves) प्रस्फुटित भइरहेका थिए। उनको जवानी र ऊर्जा (Life Force) प्रकृतिको नियम अनुसार प्रवहमान हुन चाहन्थ्यो। तर, समाजको परम्परागत संरचनाले त्यो उच्च ‘फ्रिक्वेन्सी’ लाई जबर्जस्ती रोकेर ‘न्यूनतम फ्रिक्वेन्सी’ (Low Frequency) अर्थात् देवघाटको खरानी र सेतो वस्त्रको मृत अवस्थामा झारिदियो। यो प्रकृतिको नियम विरुद्ध समाजले गरेको ‘जैविक अपराध’ हो। जब प्रकृतिको जीवन्त बहावलाई धर्म र संस्कृतिको नाममा रोकिन्छ, तब समाजमा ‘नेगेन्ट्रोपी’ (सुधार र ऊर्जा) समाप्त हुन्छ र ‘एन्ट्रोपी’ (विनाश र मानसिक सुकेनास) सुरु हुन्छ, जसले तारा जस्ता अनगिन्ती पात्रहरूको मनोविज्ञानलाई थिलोथिलो बनाउँछ।
३. ‘द्रष्टा’ र ‘दृश्य’ को कृत्रिम विभाजन र करुणाको हत्या:
‘द्रष्टा, दृश्य र दर्शन’ को कसीमा यो उपन्यास झन् गम्भीर बन्न पुग्छ। देवघाटका पाखण्डी धार्मिक ठेकेदारहरू (द्रष्टा) ले तारा (दृश्य) लाई कहिल्यै एउटा मान्छे वा एउटा निर्दोष बालिकाको रूपमा हेर्दै हेरेनन्। उनीहरूले तारालाई केवल ‘पापको प्रतीक’, ‘पोइ टोकुवा’, वा ‘भोगको अदृश्य वस्तु’ का रूपमा मात्र देखे। द्रष्टाको यो संवेदनहीन र विकृत नजरका कारण ‘दर्शन’ कुरुप बन्न पुग्यो। पूर्वीय अद्वैत दर्शनले भन्छ—”सबैभित्र एउटै आत्मा छ।” तर देवघाटको व्यवहारमा त्यो अद्वैत कतै देखिएन, त्यहाँ केवल पुरुष सत्ताको अहङ्कार र नारीमाथिको चरम विभेद (द्वैतवाद) मात्र देखियो। द्रष्टा र दृश्यको बीचमा ‘करुणा र साथी भाव’ को च्यानल काटिँदा उत्पन्न हुने भयावह चित्र नै ‘सेतो धरती’ को मूल दार्शनिक पीडा हो।
४. मौन विद्रोह र ‘शून्य’ को दर्शन :
उपन्यासको सबैभन्दा बलियो दार्शनिक पक्ष भनेको ताराको ‘मौनता’ हो। यो मौन माग आवाज सहितको माग भन्दा धेरै गुणा बढी प्रभावकारी छ। दार्शनिक रूपमा, जब अन्याय र पीडाले शब्दको सीमा नाघ्छ, तब त्यो ‘शून्य’ (Vacuum) मा परिणत हुन्छ। ताराको यो मौनता पराजयको आत्मसमर्पण होइन, यो त सिंगो पितृसत्तात्मक र पाखण्डी सामाजिक व्यवस्थामाथि गरिएको सबैभन्दा ठुलो दार्शनिक व्यङ्ग्य र ‘मौन विद्रोह’ हो। उनले देवघाटको एकान्तमा बगाएको आँसुको समुद्रले स्थापित धर्मशास्त्र र कानुनी ठेलीहरूलाई सिधै अवैध घोषित गरिदिन्छ। यो मौनताले पाठकको अवचेतन मनमा एउटा यस्तो वैचारिक ‘भ्याकुम’ पैदा गर्छ, जसले मानिसलाई पुरानो व्यवस्था तोड्नका लागि भित्रैदेखि ऊर्जा प्रदान गर्छ।
५. तोडिनुको महत्त्व र नयाँ आशाको उज्यालो:
तोड्नु: पुराना, सडेगलेका, र अन्यायपूर्ण सामाजिक नियमहरूलाई जरैदेखि तोडिदिनु।
तोडिनु: पुरानो परिचय, दास मानसिकता, र समाजले दिएको कृत्रिम मुकुण्डोबाट आफू स्वयं तोडिएर नयाँ ‘जैविक चेतना’ मा पुनर्जन्म लिनु।
अन्ततः, यो उपन्यासले हामीलाई “जोड्नु भन्दा तोड्नु र तोडिनु महत्वपूर्ण हुन्छ” भन्ने क्रान्तिकारी निष्कर्षमा पुर्याउँछ। पुरानो कुरुप समाजसँग सम्बन्ध जोडेर वा सम्झौता गरेर बाँच्नु भनेको आत्महत्या गर्नु सरह हो। ताराहरू आत्मादाह (आत्महत्या) को बाटोमा जानु भनेको पुरानो व्यवस्थाकै जित हुनु हो। त्यसैले, दर्शन’ को निष्कर्ष के हो भने-अबका आधुनिक ताराहरू निराशामा होइन, आशा र चुनौतीको नयाँ आकाशमा उड्नुपर्छ। पुराना विषाक्त ‘रेकर्डेड फाइलहरू’ (अन्धविश्वास र दास मानसिक कडीहरू) लाई जरैदेखि तोडेर र आफ्नो पुरानो कमजोर परिचयबाट मुक्त भई तोडिएर नै नयाँ ‘सह-चैतन्य’ (Co-consciousness) को उदय सम्भव छ।
केन्द्रीय दार्शनिक सार: अमर न्यौपानेले यस उपन्यासमा ‘कारुणिक यथार्थवाद’ (Tragic Realism) को उच्च नमुना प्रस्तुत गरेका छन्, जहाँ भाषा आफैँ रुन्छ र शब्दहरूले पाठकको मुटुमा चस्स सियोले घोपे झैँ पीडा दिन्छन्। उपन्यासको भाषा अत्यन्तै विम्बात्मक, सरल र स्थानीय सुगन्धले भरिएको छ। देवघाट, सेतो कपडा, नदीको बहाव, र ताराको रित्तो सिन्दुर भर्ने ठाउँ-यी सबै शक्तिशाली साहित्यिक बिम्ब हुन्, जसले पाठकको अवचेतन मनमा रहेका पुराना संवेदनाहरूलाई हल्लाइदिन्छन्। ‘सेतो धरती’ कृत्रिम सामाजिक कानुनले प्राकृतिक जीवन-लयमाथि गरेको ऐतिहासिक क्रूरताको चिरफार हो। तत्कालीन समयको राज्य सत्ता (राणाकाल र सुरुवाती शाहकाल) ले धार्मिक सत्ता र पुरोहितवादसँग साँठगाँठ गरेर महिलाहरूलाई कानुनी र संरचनागत रूपमै दास बनाएको राजनीतिक यथार्थ यसको जग हो।
वि.सं. २०२० को मुलुकी ऐन आउनुअघि र व्यावहारिक रूपमा लागू नहुन्जेलसम्म महिलामाथिको यो उत्पीडन राज्यद्वारा संरक्षित थियो। ताराको बुबाले चाहेर पनि समाज र कानुनको डरले छोरीलाई न्याय दिन सक्दैनन्। यो ‘जैविक समानता’ को विपरीत अवस्था हो, जहाँ राज्यले मानिसको प्राकृतिक अधिकार खोसेर उसलाई धार्मिक अन्धविश्वासको चौघेरामा बन्दी बनाउँछ। यसको समाधान आत्महत्या वा देवघाटको पलायनमा छैन, बरु पुरानो संरचनालाई चुनौती दिँदै आफ्नै निष्कर्षले नयाँ वैचारिक आकाश निर्माण गर्नुमा छ।जुन समाजले एउटा निर्दोष बालिकाको रोदन र उसको जवानीको छटपटी देख्दैन, तर उसले लगाएको रातो चोलो वा सिन्दुरमा पाप र पुण्यको हिसाब किताब खोज्छ, त्यो समाजको नैतिकता पूर्ण रूपमा ‘क्लिनिकल्ली डेड’ (मृत) भइसकेको हुन्छ।
समाजका ठेकेदारहरू आफैँ भित्रभित्रै कामवासना र कुरुपताले भरिएका छन्, तर तारा जस्ता बालविधवाहरूका लागि भने उनीहरू कठोर ‘ब्रह्मचर्य’ को नियम लागू गर्छन्। यो उपन्यासले स्थापित सामाजिक नैतिकताको कडा आलोचना गर्दै ‘सच्चा नैतिकता मानिसको खुसीमा हुन्छ, पत्थरका नियमहरूमा होइन’ भन्ने सन्देश दिन्छ।
ताराको प्राकृतिक उर्जा र जवानी (Life Force) लाई देवघाटको ‘सेतो वस्त्र’ र खरानीमा बदलेर समाजले ईश्वरको नाममा एउटा जीवित मान्छेलाई ‘लास’ बनाइदियो। यो पूर्वीय दर्शनको भाष्य बदलेर लागु गरिएको पाखण्ड हो, जहाँ आत्माको स्वतन्त्रताको कुरा त गरिन्छ, तर जीवित शरीरलाई भने जिउँदै नर्कमा हालिन्छ। ताराले जीवनभर प्रश्न गरिरहिन् तर उत्तर पाइनन्, किनकि जड भाष्यसँग प्रश्नको उत्तर हुँदैन, केवल निषेध मात्र हुन्छ।
