गजल-कपिल अर्याल

गजल

      कपिल अर्याल

पहिले मुरी सोर्ने हात, अचेल मात्र माना टिप्छ।
कठै! किसान खेती गर्छ, दलाल उस्को खाना टिप्छ।।

आखाँसामु एउटा भोको, परेवा डुल्दैछ रन्थनिदै
झुक्किएर होला शायद, बालुवाका दाना टिप्छ।।

कृत्रिम शहर रहला खै !, कहिलेसम्म अछुतो भै ?
पक्षपाती छ की बतास, गाउँकै धुरी छाना टिप्छ।।

पसिना रगतले माटो, सिँच्दा पनि नसकेर पो
युवा गुहार माग्छ अरब, हर साल लाखौँ जाना टिप्छ।।

देशले सपूत जन्माउँछ, चिन्न शासक सक्दैन
आफ्ना असफलता ढाक्न, वहाना उल्टै साना टिप्छ।।

छोरो बढ्छ उमेरसँगै, पर्देशी बाउ घर फिर्दा
विडम्बना ! कोशेलीलाई, जहिले छोटा नाना टिप्छ।।

यति लाचार सरकार, दुखी जनता हाल देख्दा
मौन कहाँ बस्छ कपिल ?, कलम टिप्छ पाना टिप्छ ।।

डुसेलडोर्फ़, जर्मनी बसोबास गर्ने कपिल अर्याल अनेसासको आजीवन सदस्य र जर्मनी च्याप्टर कार्यसमितिको सदस्य हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्