अनेसास केन्द्रले मनायो ३४ औँ अनेसास स्थापना दिवस

२०८१ पुस २७ जनवरी ११
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आफ्नो ३४ औँ स्थापना दिवस भव्य रुपले मनाएको छ ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी प्रमुख अतिथि रहेको उक्त दिवस समारोहलाई अनेसासका महासचिव राजु सिटौलाले सञ्चालन गरेका थिएभने वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा अनेसासका माता अर्थात् अनेसासकी संस्थापक सदस्य एवं संस्थापक अध्यक्ष होमनाथ सुवेदीकी धर्मपत्नी नन्दादेवी सुवेदीको शोककाव्यको भिडियो युटुयुबमार्फत सार्वजनिक गरिएको थियो । नन्दा शोककाव्यका लेखक होमनाथ सुवेदी हुन्भने यस काव्यलाई कवि साहित्यकार शिव त्रिपाठीले वाचन गरेका छन् ।

उक्त शोककाव्यको समीक्षात्मक मन्तव्य समालोचक साहित्यकार महेश पौडेलले दिएका थिए ।

स्थापना दिवसको अवसरमा अनेसास केन्द्रीय कार्यसमितिले पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । सम्मानपत्र समारोहका सभापति तथा केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले वाचन गरेका थिए ।

भच्र्युअल मार्फत भएको उक्त समारोहमा अनेसासका पूर्व अध्यक्षहरुलगायत वर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरु, अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा तथा पदाधिकारी सदस्यहरु, विभिन्न च्याप्टरका अध्यक्ष तथा प्रतिनिधिहरु, आजीवन सदस्यहरु, सल्लाहकारहरुका साथै साहित्यानुरागीहरुको बाक्लो उपस्थिति थियो ।

समारोहमा पूर्व अध्यक्ष वसन्त श्रेष्ठ, भीम रेग्मी, गोवर्धन नपूजा, मोहन सिटौलालगायत उपस्थित पूर्व अध्यक्षहरुले शुभकामना मन्तव्य तथा कविता वाचन गरेका थिए । निवर्तमान अध्यक्ष गोवद्र्धन पूजाले अनेसासको ३४ औँ स्थापना दिवस भएता पनि दिवस मनाउने परम्परा अघिल्लो कार्यसमितिले थालनी गरेको र यसको निरन्तरताको शुभकामना दिएका थिए ।

त्यसैगरी सल्लाहकार तीर्थराज अधिकारी, रोहिणी शर्मा, ट्रस्टी सभापति पदम विश्वकर्मा, महासचिव प्रकाश नेपाल आदिले नन्दा शोककाव्यको महत्व र उत्कृष्टताबारे बोल्दै अनेसासका भावी योजना र कार्यक्रमबारेमा आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

साथै वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, उपाध्यक्ष गणेश खड्का, सुदीपभद्र खनाल कोषाध्यक्ष तारा अधिकारी, सदस्यहरु शकुन ज्ञवाली, पुष्पा खनाल, सुमन वर्षा घिमिरे, मणि पौडेल, क्यानडाबाट सुरेन उप्रेती लगायत च्याप्टर अध्यक्षहरु राजेन्द्र केसी सुशन वर्देवा, सुजाता घिमिरे राउत, आदिले कविता वाचनसहित मन्तव्य राखेका थिए । त्यसैगरी पोर्चुगल च्याप्टरकी सचिव कवि गोमा रेग्मीले अनेसासका पूर्व अध्यक्षहरुको महिमासहित छन्द कविता वाचन गर्नुका साथै अनेसास यस्तो होस् भन्ने भावको छन्द कविता वाचन गरेकी थिइन् ।

बिओटीका सभापति पदम विश्वकर्माले नन्दा शोककाव्यले माधव घिमिरेको गौरी खण्डकाव्य देवकोटाको मुनामदनको स्तरियतालाई कायम गरेको कुरा बताउँदै अनेसासको भावी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।

अनेसास दर्पणका प्रधान सम्पादक डिल्ली अम्माई कार्यकारी सम्पादक रमेश दाहालको समेत उपस्थित रहेको थियो । सप्ताहव्यापी अनेसास दिवस मनाउने भनिए तापनि सबै च्याप्टरहरुले यस दिवस मनाउने दिन लम्बिने कुरा महासचिव राजु सिटौलाले बताएका थिए ।

प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसास स्थापनाका अवस्थामा भएको अनेसास र आज संसारभर फैलिएको अनेसासलाई हेर्दा हर्षाश्रु खसेको कुरा बताउँदै अनेसासमा दरिला र साहित्यमा खारिएका व्यक्तित्वहरुले अनेसास अझ मौलाउँदै जाने कुरामा विश्वस्त रहेको कुरा बताए ।

साथै उनले धर्मपत्नी नन्दाको अनेसासमा रहेको योगदान र उनको वियोगमा लेखिएका कृतिहरु कुनै सार्वजनिक भइसकेको र कुनै प्रकाशनको तयारीमा रहेको बताए । युट्युबबाट सार्वजनिक गरिएको भिडियोको लिखित नन्दा शोककाव्य चाँडै नै प्रकाशनमा आउने बताएका थिए ।

समारोहमा उपस्थित तथा समारोहलाई हेरिरहने सम्पूर्ण साहित्यिक मनहरुलाई धन्यवाद दिँदै हिजो गोरेटोमा हिँडेको अनेसास आज ठूलो हाइवेमा यात्रा गरिरहेको कुरा बताउँदै समारोहका सभापति तथा अध्यक्ष सर्वज्ञ वाग्लेले सभा विसर्जन गरेका थिए ।

प्रतिकृया दिनुहोस्