विश्व कविता यात्री कवि कविन्द्र सिटौलासँग साक्षात्कार कार्यक्रम

२०८१ माघ २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरको आयोजनामा अनेसास डीसी मेट्रो च्याप्टरका उपाध्यक्ष विश्व कविता यात्री कविन्द्र सिटौलासँग साक्षात्कार कार्यक्रम भएको छ ।

अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले गरेका थिए ।

अनेसासका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य गरेको कार्यक्रममा अनेसास नेपाल च्याप्टरका निवर्तमान उपाध्यक्ष कमला ओलीको ममतामयी माता सावित्रा ओलीको दुखद निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

त्यसैगरी विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदनसहित प्रमुख अतिथि, सभापतिलगायत मञ्चासीनहरुले विश्व कवितायात्री कवि कविन्द्र सिटौलालाई सम्मान गरेका थिए ।

विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदनले विश्व कविता यात्राका लागि शुभकामना दिँदै कवि तुलसी दिवसको कवितायात्राको संस्मरण गरेका थिए ।
त्यसैगरी कार्यक्रममा कविन्द्र सिटौलाले आफूले गर्न लागेको विश्व कवितायात्राको विषयमा बोल्दै यात्राको उद्देष्यबारे प्रष्ट्याएका थिए भने कवितायात्रासम्बन्धी वृत्तचित्र प्रस्तुत गरेका थिए ।

प्रेम कविताहरु संकलन गरी विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ निर्माण तयारीका लागि सिटौलाले विश्व यात्रा शुरु गर्न लागेको जानकारी दिए ।
नेपालको पूर्वी जिल्ला तेह्थुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा जन्मिएका सिटौला सन् १९९१ देखि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा गैर आवसीय नागरिकका रुपमा बस्दै आएका छन् ।

‘मेरो देश, प्रेमको देश’ भन्ने मुल नाराका साथ सिटौलाले विश्वका एक सयभन्दा बढी देशको साहित्यिक यात्रा गर्ने बताए । यसअवसरमा उनले सयभन्दा बढी मुलकमा पुगेर नेपालका गौरवमय विषयवस्तुका बारेमा जानकारी गराउने पनि उद्देश्य रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि राधेश्याम लेकालीले विश्व कविता यात्राका लागि सिटौलालाई शुभकामना दिँदै यसको महत्व र यात्राको उद्देश्य सफल पार्न कवि सक्षम हुने कुरा बताए ।

कार्यक्रमका सभापति राजेन्द्र केसीले यात्री सिटौलालाई शुभकामना दिँदै अनेसास नेपाल च्याप्टरको आयोजनामा छोटो समयमै गरिएको कार्यक्रम उत्साहपूर्ण रुपमा सफल भएको कुरा व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने च्याप्टरले लगातार यस्ता कार्यक्रम सफलतापूर्वक गर्दै आइरहेको कुरा बताउँदै सभा विसर्जन गरेका थिए ।

अनेसास नेपाल च्याप्टरकी उपाध्यक्ष मन्जिला शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल च्याप्टरका पदाधिकारीहरु रन्जना निरौला, डिआर राई, इन्दिरा ढकाल तथा अन्य सदस्यहरुलगायत अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, आजीवन सदस्य किशोर घिमिरे, साहित्यकार हरिश कल्पित, उषा केसी, जयदेव भट्टराईका साथै उल्लेख्य रुपमा साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएको थियो ।

प्रतिकृया दिनुहोस्