मूक दुनियाँ र पीपल

मूक दुनियाँ र पीपल

चौबाटोको छेउमा
विशाल चौतारोबीच
थेगेर अजङ्गको शरीर
गरेर प्रतीक्षा आफ्नो मृत्युको दिन
लगाएर बिल्ला शरीरको एउटा भागमा
ठिङ्ग उभिएको छ बरपीपल।
छोडेको छैन आफ्नो कर्म उसले
छोडेका छैनन् मान्छेले आफ्नो स्वार्थ साँच्न
शनिको दशा कटाउन अँध्यारोमै आउँछ्न्
र, चढाउँछन् झिसमिसेमै जल
अनि,
घुम्छ्न् वरिपरि,
बाँधेर सेतो धागोले
गर्दै भाकल र मनोकाङ्क्षा पूर्तिको
बाल्दछन् बाती र धूप ।
बसेर त्यहीँ चौतारोमै
छेक्दै सूर्यको चर्को ताप
कुरिरहन्छ्न् सवारी साधन
स्कुले केटाकेटीहरू ।
बूढाबूढी हुन् वा जवान
जो कोही पनि एकछिन
रोकिन्छ्न् टक्क देखेपछि चौतारो ।
बेग्लै मिल्छ शीतलता चौतारोमा
त्यसै शान्त हुन्छ अत्तालिएको मन
पुगेपछि चौतारोमा ।
अफ्सोच् !
समयसँगै आएको विकासे हुरीले
ढाल्ने हो कुन दिन पत्तो छैन ।
आधुनिकताका दास मान्छेहरूलाई
चाहिएको छ फराकिलो बाटो
निमोठेर प्रकृत्या सहजीवनलाई
कङ्क्रिट र अलकत्र बिच्छ्याएर
गुडाउनु छ तुफान गाडी ।
जिजुबाजेले रोपेको त्यो बरपीपल
र, पसिना चुहाएको चौतारोले
कयौँ पुस्ता मानव र पशुपन्छीलाई
दिएको थ्यो छहारी
किं कर्तव्य विमूढ बूढो बरपीपल
आज आफ्नो अस्तित्व रक्षार्थका लागि
अलापिई रहेको छ फिँजिएका हातहरू पसार्दै ।
आधुनिकताको धब्बाले लतपतिएको दुनियाँ
बनिरहेको छ मूकदर्शक
आफ्नै आयुलाई छोट्याएर
विकासे सपनामा रमाउँदै ।
बुटवल निवासी गङ्गा पोखरेल पर्याकविका रूपमा परचित छिन् । अनेसासकोआजीवन सदस्यसमेत रहेकी पोखरेलका पर्या कविता एवं लेखहरू विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा पढ्न पाइन्छ । -सम्पादक