‘लैङ्गिक समानतातर्फको प्रगति कार्यलाई तीव्र बनाऔं’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय नारी दिवस मार्च ८, २०२५ को विशेष अवसरमा अनेसास महिला समितिले एक साहित्यिक कार्यक्रम गर्दै भव्य रुपमा ११५औं महिला दिवस मनायो ।

समितिका संयोजक, उर्मिला निर्दोषीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा, अनेसासका पूर्व अध्यक्ष गीता खत्री रहनुभएको थियो भने समालोचक लीला लुइटेल कार्यक्रमको बिशेष अतिथि रहनुभएको थियो । यसैगरी अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास बोर्ड अफ ट्रष्टीजका सभापति पदम विश्वकर्मा, अनेसास बोर्ड अफ ट्रष्टीजका पदाधिकारीहरू, अनेसास केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, अनेसास केन्द्रका पूर्व अध्यक्षहरू, च्याप्टर अध्यक्षहरू र अन्य पदाधिकारीहरू लगायत सहभागी हुनुभएको उक्त कार्यक्रममा एसिया, अफ्रिका, अमेरिका र युरोप चारै महादेशलाई प्रतिनिधित्व गर्दै कवि तथा साहित्यकारहरूले सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा झन्डै ९० भन्दा बढी कवि/ कवियत्रीहरूको सहभागीता रहेको थियो ।

समितिका सदस्य एवं अनेसास नर्वे च्याप्टरका संस्थापक अध्यक्ष/ संरक्षक विष्णुमाया विभुको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्मा, बोर्ड अफ ट्रष्टिकी पूर्व अध्यक्ष गीता खत्रीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।

 

 

कार्यक्रमको समापन सत्रमा समालोचक लीला लुइँटेल र महेश पाैड्यालले कार्यक्रमको समीक्षात्मक टिप्पणीसहित आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम सञ्चालन समितिका चार सदस्यहरू क्रमशः अम्बिका लोहनी (जर्जिया च्याप्टर), गीता कार्की (नेपाल च्याप्टर), चन्द्रा आचार्य (अफ्रिका महादेश च्याप्टर) र कल्पना तामाङ (क्यान्सस च्याप्टर) ले गर्नुभएको थियो ।

इनेपालीडटकम, अनेसास केन्द्र लगायत थुप्रै सामाजिक सञ्जालका पेजहरूबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

अन्त्यमा धन्यवाद ज्ञापन सहित समितिकी संयोजक उर्मिला निर्दोषीले लैंगिक एकता, समानता र सन्तुलनको सौन्दर्यतामाथि प्रकाश पार्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्