वर्तमान समूहको श्रमिकप्रति समर्पित कविता वाचन

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा वर्तमान कविता समूहले ‘श्रम, श्रमिक विशेष कविता वाचन’ कार्यक्रम सम्पन्न गरेको छ।
मण्डिखाटारस्थित यूरेसिया स्कुलमा आयोजित कार्यक्रममा वाचन गरिएका कविताहरूले श्रमले नै सुन्दर संसार निर्माण गर्छ भन्ने तथ्यलाई कलात्मक ढंगमा अभिव्यक्त गरेका थिए ।
कार्यक्रममा कविहरू विश्व सिग्देल, चन्द्रबहादुर लामा, सञ्जय सुमन, रमी प्रिया, तीर्थराज भट्ट, दिलकुमारी डङ्गोल, नमराज घिमिरे, ईश्वर थोकर, धीरकुमार श्रेष्ठ, सुरेश गाउँले, केशव सिलवाल, अभय श्रेष्ठ लगायतका स्रष्टाहरूले श्रमिकहरूको संघर्ष, अधिकार, जीवनशैली, श्रमको सम्मान, न्याय तथा समानताको भावना झल्काउने विषयमा आधारित कविताहरू प्रस्तुत गरेका थिए।
वर्तमान कविता समूहका कवि धीरकुमार श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रमले सिर्जनालाई सामाजिक चेतनासँग जोड्दै श्रमिक वर्गप्रतिको सम्मानलाई गहिरो बनाएको ठहर सो समूहका अभियन्ताले गरेका छन् ।
वर्तमान कविता समूहले यसअघि ‘हरित कविता’, ‘भुइँ मान्छेका कविता’, ‘छोटा कविता’, तथा ‘प्रेम कविता विशेष’ जस्ता काव्य गोष्ठीहरू आयोजना गरिसकेको छ । ती कार्यक्रमहरूमा वाचित कविताहरूको अङ्ग्रेजी अनुवाद गरी अन्तर्राष्ट्रिय स्तरमा विस्तार पनि गरिरहेको छ ।