योगमाया स्रष्टा र अभियन्ता सम्मान वाइवा तथा बस्नेतलाई

काठमाडौं । यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमशः काठमाडौंका साहित्यकार सुकन्या वाइवा र भोजपुरका अभियन्ता भूपाल बस्नेतलाई प्रदान गरिने भएको नेपाल स्रष्टा समाजले जानकारी दिएको छ ।
नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने र सामाजिक रुपान्तरणमा योगदान गर्ने महिलालाई २५ हजार १ सय ११ रूपैयाँ नगद राशिसहित सम्मानपत्र प्रदान गर्ने गरी साहित्यकार पवन आलोकद्वारा स्थापित ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ बाट वि.सं.२०६५ सालदेखि हालसम्म १६ जना व्यक्तिहरु सम्मानित भइसकेका छन् ।
त्यसैगरी समाजसेवी राजेश न्यौपाने , केदार न्यौपाने, दीपा न्यौपाने र अर्लिन पर्ज न्यौपानेद्वारा स्थापित ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट वि.सं.२०७५ सालदेखि हालसम्म सातजना व्यक्तिहरु सम्मानित भइसकेका छन् । सामाजिक रुपान्तरणमा विभिन्न माध्यमबाट योगमाया प्रवृत्तिका अभियान्ताका रुपमा काम गरेका व्यक्तिलाई ५० हजार १ रूपैयाँ नगद राशिसहित सम्मानपत्रले सम्मानित गर्ने गरिएको छ ।
आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहका बिच यी दुवै सम्मान समर्पण गरिने कुरा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले बताए ।