जुमन किरणको ‘यादहरुको बहिर्गमन’ सार्वजनिक

काठमाडौं । कवि जुमन किरणको कवितासङ्ग्रह ‘यादहरुको बहिर्गमन’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार, कलानिधी दाहाल, श्रीओम श्रेष्ठ रोदन, कृष्ण प्रधान, छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीय लगायतले उक्त कृति लोकार्पण गरे ।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले कविताको प्रस्तुतीकरण  आकर्षक रहेको बताए । कवि जुमनलाई प्रयोगशील कविको रुपमा चित्रण गर्दै कविताहरु सौम्य व्यङ्ग्यचेतले भरिएका आफुले पाएको बताए ।

वरिष्ठ कवि कृष्ण प्रधानले  कवि समयसँग सम्बाद गर्न खप्पिस भएको बताए । जुमनका कविताहरुमा कतैकतै दार्शनिक चेत पनि आएको बताउँदै गम्भिर बिम्बहरुको प्रयोगले कविताहरु सुन्दर भएको धारणा व्यक्त गरे ।

बरिष्ठ कवि कलानिधी दाहालले  कवि जुमनमा साहित्यप्रति निरन्तरता, संकल्प र समर्पण देखिएको बताउँदै बिम्ब छनौटबाट आफु प्रभावित भएको चर्चा गरे भने साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृति प्रकाशन आफैँमा  सार्वजनिक उत्सव भएपनि जन्मदिनको दिन नयाँ कृति ल्याएकोमा बधाई दिए ।

कृतिकार जुमन किरणले आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै पुस्तक पढेर रचनात्मक सुझाव दिन अनुरोध गरिन् ।

पुस्तकको प्रकाशक सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा अध्यक्ष छविरमण सिलवालको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार प्रोल्लास सिन्धुलीयले शुभकामना मन्तव्य दिए भने  रुविना राना, विनोद खत्री आकाश र बसुन्धरा चौहानले लोकार्पित कृतिभित्रका कविता सुनाए ।

प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा सदस्य पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्