पद्मश्री पुरस्कारका लागि प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । पद्मश्री साहित्य पुरस्कार- २०८१ का लागि पहिलो चरणमा छानिएका १५ उत्कृष्ट साहित्यिक पुस्तकहरूको विस्तारित प्रारम्भिक सूची सार्वजनिक भएको छ ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानलाई प्राप्त वि.सं. २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तकहरू मध्येबाट उत्कृष्ट १५ वटा छानेर प्रारम्भिक सूचीमा राखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पन्ध्रवटा मध्येबाट ५ वटा कृतिलाई आगामी महिना उत्कृष्ट संक्षिप्त सूचीमा समेटिने पनि विज्ञप्तीमा जनाइएको छ ।
शैलेन्द्र अधिकारीको ‘अर्हत’, टंक चौलागाईको ‘रूदाने’, सरस्वती प्रतीक्षाको ‘स्व’, डा. श्रीधर खनालको ‘सावर्णि’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ शिर्षकका उपन्यासहरू प्रारम्भिक विस्तारित सूचीमा परेका छन् । छुदेन काविमोको ‘उरमाल’, पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ र वसन्त बस्नेतको ‘सिमसारा’ शिर्षकका आख्यान, रमेश भुसालको ‘छालबाटो’ शिर्षकको गैह्र आख्यान तथा रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ र श्रेयज सुवेदीको ‘बहुरुपी’ शिर्षकका कथासंग्रह उक्त सूचीमा छन् ।
त्यस्तै दिनेश अधिकारीको ‘पानीको परेड’ र हेम प्रभासको ‘साँझमा सेल्फी’ शिर्षकका कविता कृति तथा भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ शिर्षकको नियात्रा र हेमन्त मिश्रको ‘श्री ५ को सेवामा’ शिर्षकको संस्मरण प्रारम्भिक छनौटमा परेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
वर्षभरि प्रकाशित उत्कृष्ट साहित्यिक कृतिहरू मध्येबाट सर्बोत्कृष्ट छानेर तीन लाख नगद राशि र सम्मानपत्र हस्तान्तरण गरी हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।