असार पन्ध्रमा राष्ट्रिकाको उर्वरा उत्सव

काठमाडौं । असार १५ को विशेष अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले काव्य वाचन गरेर उर्वरा उत्सव मनाएको छ ।
वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले पानसमा वत्ती बालेर उत्सवको शुभारम्भ गरे । कर्णाली प्रदेश र सुदुरपश्चिमी लोक संस्कृतिको चर्चा गर्दै देउडाहरु पनि सुनाएका जोशीले राष्ट्रिकाले सुदुरपश्चिमसँग सहकार्य गरेर साँस्कृतिक भ्रमण गर्न समेत सुझाए ।
कविताहरू सुनेपछि खेतमै गएको अनुभूति भएको बताउँदै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लेखक कविले विकृति र विसंगतिका विरुद्ध आफ्नो कलम चलाउनुपर्नेमा जोड दिए ।
साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, लेखक तथा सञ्चारकर्मी राजेश खनाल, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, नेपाल लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, उपन्यासकार समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले असार पन्ध्रको महत्व र सान्दर्भिकताबारे चर्चा गरे ।
प्रतिष्ठानका गतिविधिहरु र प्रकाशनको जानकारी दिँदै कार्यक्रमको समेत अध्यक्षता गरेका प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले असार पन्ध्रको सबैलाई चटारो भएजस्तै कविहरुलाई पनि आफ्नो भावना रोप्न हतार भएको बताए ।
काव्य वाचन कार्यक्रममा कविहरु श्रीबाबु कार्की, मनोजादित्य न्यौपाने, गोकुल अधिकारी, देवेन्द्र के.सी., एलिसा ढुँगाना, सुष्मा आचार्य, त्रिभुवनचन्द्र वाग्ले, डा.शान्तिमाया गिरी, रचना खनाल जोशी, डा.सिर्जना शर्मा, मुकुन्द पौडेल, निर्मलरमण पराजुली, सुमन वर्षा, प्रदीप सापकोटा, माधव विडारी, शेखर गिरी लगायतले असारको विषयमा विभिन्न शिर्षकृत कविताहरु वाचन गरेका थिए । कार्यक्रममा सहभागीहरुले असार पन्ध्रको दहि चिउरा खाएर संस्कृतिलाई निरन्तरता दिएका थिए ।
प्रतिष्ठानकी उपाध्यक्ष डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम महासचिव मधु पाठकले सञ्चालन गरेका थिए ।