कवि प्रकाशको ‘सन्नाटाका सुस्केरा’ डेनमार्कमा विमोचन

कोपन्हेगन । डेनमार्क निवासी कवि प्रकाश सापकोटाको कविता संग्रह ‘सन्नाटाका सुस्केरा’ को प्रवास विमोचन हिजो सम्पन्न भयो । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले सापकोटाको कृति विमोचन गर्दै संग्रह भित्रको ‘शीत’ शिर्षकको कविता स्वस्फूर्त वाचन समेत गर्नुभयो ।

 

 

कार्यक्रममा कवि सापकोटाले संग्रहभित्रबाट वाचन गरेका आफ्ना प्रत्येक तीन फरक कविताका आधारमा लेखक कृष्ण पौडेल, उदयराज गौतम, नील थापा, कमलराज शर्मा लगायतले समालोचनात्मक टिप्पणी गर्नुभयो । अनौपचारिक विवेचनात्मक छलफलमा दीपकराज रिजाल, नवीनराज पौडेल, बुद्धी सापकोटा, कृष्ण सागर, राधाकृष्ण(आरके) सापकोटा, रमेश घिमिरे, नारायण चापागाईँ लगायतले पनि विमोचित पुस्तक र वाचित कविताबारे आफूलाई लागेका कुरा निर्धक्क राख्नुभयो ।

आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टर रहेको कार्यक्रम समाजका सदस्य तथा नेपाली पाठशाला कोपन्हेगनका प्रशिक्षक दीपककुमार तिवारीले सहजिकरण गर्नुभएको थियो । समाजका च्यप्टर अध्यक्ष पूर्ण बस्नेतले समग्र कार्यक्रमको समीक्षा सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कविता प्रतियोगिताको नतीजा घोषणा

सोही अवसरमा अनेसास डेनमार्कले आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगिताको नतीजा पनि राजदूत तुलाधरले घोषणा गर्नुभयो । प्रतियोगितामा  धादिङ, नेपालका महान त्यागीको ‘छाउगोठकी कामाख्या’ कविता प्रथम, धनगढी नेपालका प्रेमप्रकाश सापकोटाको कविता ‘प्रेरणा’ द्वितीय र सिक्किमका गोपाल निशोधको कविता ‘बोनसाई मेरा रहरहरु’ तृतीय घोषणा गरिएको थियो । पुरस्कृत प्रतियोगीहरूलाई क्रमशः ३० थान, २५ थान र २० थान साहित्यिक पुस्तक, प्रमाणपत्र र आकर्षक उपहार प्रदान गरिने अनेसास डेनमार्क च्याप्टरले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्