किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न

गत शनिवार साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले आज संयुक्त रुपमा अनेसास नेपाल च्याप्टरका निवर्तमान काोषाध्यक्ष सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको आयोजना गर्यो ।

काठमाडौं महानगरपालिका वडा नं. २९ को अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा कक्षमा सम्पन्न सो कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका हुन् ।

सर्जक श्रेष्ठको “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिबारे समालोचक डा. शान्तिमाया गिरी र कवि दिलीप श्रेष्ठले समीक्षात्मक मन्तव्य राखेका थिए ।

गुन्जनकी अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरीले किशोरको आख्यानमा भौगोलिक परिवेश, सांस्कृतिकता, सामाजिकता र चालचलन लगायत अनगिन्ती विषयबस्तुलाई विवरणात्मक शैलीमा लेख्नु भएको बताएकी थिइन् ।

यसैगरी अर्का समीक्षक कवि दिलीप श्रेष्ठले सर्जक किशोरको योगदानको चर्चा गर्दै कृतिमा समावेश कवितामा सांस्कृतिक, सामाजिक र राजनीतिक चेतको उल्लेख गरेका थिए ।

कार्यक्रममा अध्यक्ष लेकालीले सर्जक श्रेष्ठको समग्र परिचय र योगदानको उल्लेख गर्दै चैनपुरको विशेष चर्चा गरेका थिएभने प्रमुख अतिथि जलेश्वरी श्रेष्ठद्वारा कृतिको चर्चा गर्दै बधाई ज्ञापन गरिएको थियो।

कृतिकार किशोर श्रेष्ठले आफ्नो सिर्जना यात्राबारे उल्लेख गर्दै कार्यक्रम आयोजक संस्था र उपस्थित सबैलाई धन्यवाद गरेका थिए । कार्यक्रममा कविहरु सविता श्रेष्ठ “बेहोसी” र मन्जिला अनिलले “म अनि मेरा भोगाइहरु” बाट कविता वाचन गर्नु भएको सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि जलेश्वरी र साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंहले सर्जक किशोर श्रेष्ठलाई दोसल्ला, माला र खदा लगाएर सम्मान गरेका थिए ।

काठमाडौं संखुवासभा साहित्य समाजका सदस्य डा. बंशी शर्माले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको सहजीकरण साहित्यिक पत्रकार संघकी सचिव नीता श्रेष्ठले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्