आमा सम्झाउने तीज- जमुना भट्टराई

आमा सम्झाउने तीज

आमा,
तिम्रो आँखाको भदौरे भेल रोकिएर
सदाझैँ तीज आउने बेला
डुलाउँदै नेत्रहरु आँगनको डिलमा
नबस्नू, आउँछेकी छोरी भनेर
बस स्टेसनबाट फुत्त निस्केर
रातो सारीमा धपक्क बलेकी
तिम्री छोरी
लुखुर–लुखुर हिँड्दै आउँछेकि भनी
गर्दै नगर्नू आस
पाउँदिन आउन
यसपालि पनि माइत ।
कन्यादानको बेला छोरीलाई
“मारे पाप, पाले पुण्य”
भनेर जपिने मन्त्र सुन्दा
आमाले पस्केको दर खानुपर्छ
भन्ने कुराले जसोतसो
चित्त बुझाएकी छु मैले
छोरी जन्माउनु हारेको कर्म रे आमा,
यस्तै रहेछ छोरीको जन्म
न त तीज, न त माइत
न दर, न रामरौस !
तीजको दर खाने दिन
साउने बादल मडारिएजस्तो
मेरो अनुहार कल्पेर
एक्लै बिलौना नगर्नू आमा,
छोरा–बुहारी रिसाउलान् फेरि
पाहुना बोलाएर तिमी खुशी हुनू
किनकि
तिम्रो घर खुशी नहोस् भन्ने
मेरो चाहना छैन किमार्थ ।
दर खानै लाग्दा
हिक्क बाडुल्की लागेमा सम्झनू
छोरी सँगै छे भनेर
आफैं पकाएको दरलाई
आँसु मिसाएर नुनिलो पारेर निल्दा
सम्झनू,
मेरा बाउले मलाई दान दिएपछि
तीज त के, आँगन समेत टेकिन मैले
बार्ह वर्षदेखि
तथापि,
तिमीलाई नसम्झेको कुनै प्रहर छैन ।
मेरी आमा,
तिम्रो समय र मेरो समय फरक रहेछ
तिम्रो पीडा चुलोभित्र मात्र सीमित थियो,
मेरो पीडा भने संसारले चाल पाउने रहेछ
समय-समयको खेल हो आमा
तिमी त्यहाँ एक्लै हुनुपर्ने
र, म यहाँ एक्लै रुनुपर्ने ।
एउटा कुरा नि आमा,
पराईलाई दान दिएकी छोरीलाई
धन–सम्पत्ति होइन
माइतीघर चाहिने रहेछ
मनमा उर्लेर आएको भँडासो पोख्न
ज्वाइँको हात होइन
तिम्रो काख चाहिने रहेछ आमा !
बुझ्यौ आमा,
यो तीजमा पनि म आउन पाउँदिन
कहिलेकाहीँ त यस्तो लाग्छ
यो आमा सम्झाउने तीज
कि दिनहुुँ आउनू बरु
कि आउँदै नआउनू नि
जस्तो लाग्छ
कमसेकम
कि सम्झिने
कि नसम्झिने
बानी त लाग्थ्यो मलाई !
*
धरान सुनसरी सथायी घर भई हाल क्यालिफोर्निया, अमेरिका निवासी जमुना भट्टराई अनेसासकी आजीवन सदस्य हुन् भने उनले विभिन्न कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । उनको भर्खरैमात्र “मर्नुअघि” नामक नारीवादी उपन्यास बजारमा आएको छ र सर्वत्र चर्चा पाइरहेको छ ।