डंगोलको ‘चित्रमय चाडपर्वको देश : नेपाल’ सार्वजनिक
काठमाडौं । प्रेममान डंगोलको संस्कृति सम्बन्धि पुस्तक ‘चित्रमय चाडपर्वको देश : नेपाल ‘ सार्वजनिक गर्दै कृतिमाथि परिचर्चा कार्यक्रम पनि सम्पन्न भएको छ ।
डा. पुरुषोत्तम लोचन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. लक्ष्मण प्रसाद गौतम, शितल गिरी र स्रष्टा स्वयंले सो पुस्तक लोकार्पण गरेका हुन् ।
नेपाल मण्डलको संस्कृति विश्वकोष भएको र यहि बारे नूतन कुराहरु कृतिमा रहेका बताउँदै डा. श्रेष्ठले कृतिमाथि परिचर्चाका क्रममा भने – ‘संस्कृति मरे देश नै मर्छ, तसर्थ प्राचिन संस्कृति बारे जानकारी दिने यो कृति हरेक नेपालीको हातहातमा पुग्नुपर्छ ।’
अर्का चर्चाकार शितल गिरीले आनो भाषा, संस्कृति र चाडपर्वसंग जोडिएका बिभिन्न कुराहरु समेटिएको पुस्तकले नेपाल मण्डल बुझ्नलाई महत्वपुर्ण भएको बताए । स्रष्टा समाजका अध्यक्ष रोदनले संस्कृतिलाई सबैसंग जोड्ने उक्त कृतिले संस्कृति चाडपर्वको परम्परालाई जीवन्त बनाउन सघाउने उल्लेख गरे भने कृतिकार डंगोलले लेखकीय मन्तव्य राखे ।
नेपाल स्रष्टा समाज केन्द्रीय कार्य समितिद्वारा आयोजित कार्यक्रमको सन्चालन रन्जना निरौला र स्वागत तारा सुबेदीले गरेका थिए ।
