प्रदीपको नियात्रा ‘यात्राको लय’ दोश्रो संस्करणमा
काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’को दोस्रो संस्करण सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. सृजना शर्मा, लेखनाथ हुमागाईं, छविरमण सिलवाल र नियात्राकार स्वयं लगायतले कृतिको घुम्टो खोले ।
सार्वजनिकीकरण कार्यक्रममा प्रा.डा. गौतमले यात्रा संस्मरण या नियात्रा लेख्दा ढाँट्ने छुट लेखकलाई नभएको कुरा प्रदीपले इमान्दारता पूर्वक निभाएका बताए । पछिल्लो समय नियात्रा लेखनमा विकृति आएको चर्चा गर्दै सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक यात्रा संस्मरण लेखिनुपर्ने गौतमले सल्लाह दिए ।
समीक्षक प्रमोद प्रधानले यात्रा निबन्ध, नियात्रा र यात्रा संस्मरणबारे चर्चा गर्दै ती चित्रात्मक हुनुपर्ने र प्रदीपको यात्राकृतिमा त्यो गुण रहेको उल्लेख गरे ।
अर्का समीक्षक डा. सृजना शर्माले प्रदीपका नियातराले पाठकलाई मेची, महाकाली मात्र नभएर सीमापारिको दार्जिलिङ पनि घुमाउन सफल रहेका बताइन् ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताउँदै सापकोटाका कृति निजात्मक भावले ओतप्रोत रहेको स्पष्ट पारे । पछिल्लो समय यात्रा साहित्यका लेखक मात्र नभई पाठक पनि बढ्दै गएको उनको भनाइ थियो ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रकाशक भुँडी पुराण पुराण प्रकाशनका केशव पराजुली, साहित्यकारहरू पवन आलोक, किशोर पहाडी, लेखनाथ हुमागाईं, राधेश्याम लेकाली, तारा केसी, छविरमण सिलवाल र कृतिका सर्जक सापकोटाले आ-आफ्ना धारणा राखेका थिए ।
