मधुपर्कको नयाँ सम्पादकमा कोइराला

काठमाडौँ । गोरखापत्र संस्थान अन्तर्गत देशकै जेठो साहित्यिक पत्रिका मधुपर्क साहित्यिक मासिकको नयाँ सम्पादकमा तुलसीहरि कोइराला नियुक्त भएका छन् । ‘मधुपर्क’ गोरखापत्र दैनिकको भगिनी प्रकाशनमध्येको एक हो ।

गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी र महाप्रबन्धक लालबहादुर ऐरीले मङ्गलबार (माघ ६ गते) कोइरालालाई पदस्थापन गराए । अध्यक्ष भण्डारीले मधुपर्कको महत्वपूर्ण भूमिकामा कोइराला आउनुले अबका दिनमा थप नयाँ आयाम थपिने अपेक्षा गर्दै कोइरालालाई सफल कार्यकालको शुभकामना दिए ।

महाप्रबन्धक ऐरीले साँच्चैको बौद्धिक र अध्ययनशील व्यक्तिले पढ्ने मधुपर्कलाई अझ परिमार्जनसहित अघि बढाउन कोइरालालाई शुभकामना दिए ।

गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपालका प्रधान सम्पादक विष्णुप्रसाद गौतम लगायतले पनि मधुपर्कका नवनियुक्त सम्पादक कोइरालालाई सफल कार्यकालको शुभकामना दिएका थिए । ५७ वर्ष लामो इतिहास बोकेर नेपाली साहित्य एवं साहित्यिक पत्रकारितामा विशेष टेवा पुर्‍याउँदै वि.सं. २०२५ सालदेखि नियमित प्रकाशित हुँदै आएको मधुपर्कका निवर्तमान सम्पादक त्रिभुवनचन्द्र वाग्लेले माघ ६ गते देखि नै अवकाश पाएपछि कोइरालालाई सो जिम्मेवारी दिइएको हो ।

गोरखापत्र दैनिकको दिवा डेस्कमा सम्पादक देखि प्रमुखका रूपमा कार्य सम्हालिसकेका कोइरालासँग पेशागत शुरुवातदेखि नै मधुपर्कमा पनि लामो आवद्धता र विशिष्ट सम्पादकीय अनुभव छ ।

प्रतिकृया दिनुहोस्