‘पवन आलोक नियात्रा सम्मान’ व्यासलाई

काठमाडौं । नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान—२०८१’ नियात्राकार निर्मोही व्यासलाई समर्पण गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नियात्राकार घनश्याम राजकर्णिकारले निर्मोही व्यास (प्रा.डा. वेदव्यास उपाध्याय न्यौपाने)लाई उक्त सम्मान प्रदान गरे । ५० हजार एक रुपैयाँ नगद सहित सम्मानपत्रले उक्त सम्मान संस्थापक रेखा कडेलले हस्तान्तरण गरिन ।

सम्मानित व्यक्तित्व डा. व्यासले आफ्नो नियात्रा लेखनको थालनीबारे स्मरण गर्दै आफ्नो बानी रचना पटकपटक परिष्कार गर्दै जाने भएकोले आफूलाई यहाँ उभ्याएको उल्लेख गरे । छनोट समितिका सदस्य साहित्यकार श्रीओम श्रेष्ठ रोदनले नियात्राकार व्यासको यस क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै उनी आफ्नो सिर्जनामा हृदय पस्किने सर्जक भएको चर्चा गरे ।

नियात्राकार प्रतीक ढकालले पाँच वर्षअघि पुरस्कार स्थापना गर्दाको समय स्मरण गरे । कार्यक्रममा  सम्मान संस्थापक रेखा कँडेलको सम्मान स्थापनाको पृष्ठभूमि स्मरण गरिएको लिखित मन्तव्य बाचन गरिएको थियो । कार्यक्रममा नियात्रा समाजका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराई, इल्या भट्टराई, समेतले आफ्नो भनाई राखे ।

नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा सम्पन्न भवानी खतिवडाले सहजिकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य नियात्राकार विष्णुप्रसाद पराजुलीले राखे ।

नियात्राकार पवन आलोकको नाममा रेखा कँडेलले २०७७ सालमा “पवन आलोक नियात्रा पुरस्कार” स्थापना गरी कृतिगत रूपमा अर्पिँदै आएको थियो । यसै वर्षदेखि उक्त पुरस्कार “पवन आलोक नियात्रा सम्मान” का रूपमा योगदानको आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो । उक्त सम्मानबाट यस अघि भीष्म उप्रेती, डा. दामोदर पुडासैनी किशोर, इल्या भट्टराई, तेजप्रकाश श्रेष्ठलाई कृतिगत रुपमा पुरस्कार प्रदान गरिसकिएको छ ।

प्रतिकृया दिनुहोस्