रेखा पवन स्रष्टा सम्मान- २०८२ शर्मा र घिमिरेलाई
काठमाडौं । ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा प्रदान गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आयोजित एक समारोहमा श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कंडेल लगायतले दोसल्ला, सम्मानपत्र, माला र नगदराशि सहित शर्मा र घिमिरेलाई संयुक्त रुपमा सम्मान अर्पण गरेका हुन् ।
एक लाख १ सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कंडेलको नाममा स्थापना गरिएको हो । उहाँका छोरीहरु बिमला कंडेल थापा, रीता कंडेल बस्नेत, अनिता कंडेल, छोरा सुनिल कंडेल तथा बुहारी माला कटुवाल कंडेलले मातापिता रेखा -पवन बैवाहिक वर्षगाँठको अवसरमा कोष स्थापना गरिदिएका आयोजकले बताए ।
सम्मानित स्रष्टाहरुको बारेमा समालोचक प्रमोद प्रधानले नगेन्द्रराज शर्मा र रोचक घिमिरे नेपाली भाषा साहित्यमा थुप्रै लेखक, साहित्यकारहरु जन्माउने व्यक्ति भएको बताए । वि.सं.२०२७ सालदेखि प्रकाशित अभिव्यक्तिका पर्यायका रुपमा सबैले शर्मालाई लिने गरेको बताउँदै उनले भने- ‘दुई उपन्यास र दुई कथासङ्ग्रह नेपाली साहित्यलाई दिइसकेका शर्माको नेपाली साहित्यिक पत्रकारीतामा अतुलनीय योगदान छ । नेपाली भाषा, साहित्यमा पछिल्ला पुस्ताका साहित्यकारहरुका निम्ति मानसपिता रहेका शर्मा र घिमिरे व्यवहारमा हार्दिक, सरल, शिष्ट र शालिन हुनुहुन्छ ।’ उहाँहरुको अरुसँग तुलना गर्न नसकिने कुरामा प्रधानले जोड दिए ।
शुभकामना मन्तव्य दिंदै नेपाल स्रष्टा समाजका सल्लाहकार प्रा. डा. गोविन्दराज भट्टराई, अशेष मल्ल तथा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तिहरु आफैं इतिहास भएको बताए । उनीहरुले सात दशकभन्दा लामो समय साधना गर्नु आफैंमा अतुलनीय भएको बताए । आफ्नो पुस्ताको असल अभिभावकको रुपमा सम्मानित व्यक्तिहरुलाई पाएको समेत उनीहरुले बताए ।
सम्मानित व्यक्तित्व घिमिरेले आफुलाई साहित्यिक पत्रकारीतामा लाग्न प्रेरित गर्ने भैरव अर्याल र रमेश विकललाई सम्झिँदै र तारिणीप्रसाद कोइरालाले आफुलाई लेखनीमा ल्याएको बताउँदै सम्मानित भएकोमा खुशी व्यक्त गरे ।
अर्का सम्मानित व्यक्तित्व शर्माले सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै भने – ‘मेरो पूजा अभिव्यक्तिको काम हो मेरा भगवान मेरा साथीभाइहरु हुन् ।’
पुरस्कार संस्थापक मध्येबाट रिता के.सी.कंडेलले सम्मान कसरी स्थापना गरियो भन्ने बारेमा बताइन् । साहित्यकार पवन आलोकले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए । सहजीकरण मधु पाठक तथा स्वागत प्रकाश घायलले गरेका थिए ।
नेपाली साहित्यमा ६० वर्ष उमेर पुगेका, उत्कृष्ट लेखनीमा निरन्तरता दिइरहेका स्रष्टालाई उक्त सम्मान प्रदान गर्ने गरिएको समाजका अध्यक्ष रोदनले जानकारी दिए ।
वि.सं.२०८० मा स्थापना गरिएको उक्त सम्मानबाट कवि / गीतकार कालीप्रसाद रिजाल २०८१ मा सम्मानित भएका थिए ।
