ठकुरी र चापागाईँले पाउने भए योगमाया स्मृति सम्मान
काठमाडौँ । नेपाल स्रष्टा समाजले वि.सं.२०८३ सालको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानको घोषणा गरेको छ ।
नेपाली इतिहासकी एक अत्यन्तै साहसी, विद्रोही र क्रान्तिकारी व्यक्तित्व योगमायाको नाममा स्थापित ५० हजार १ सय ११ रूपैयाँ नगद राशीका ती सम्मानहरु हरेक वर्ष अर्पण गरिंदै आएको छ ।
यस पटक ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा वरिष्ठ साहित्यकार माया ठकुरी सम्मानित हुने भएकी छिन् भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गरिने भएको छ ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार वि.सं.२०६५ सालदेखि योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान प्रदान गरिंदै आएको हो । नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक यसका संस्थापक हुन् । यसैगरी राजेश न्यौपाने लगायतको संस्थापनमा वि.सं.२०७५ सालदेखि योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान प्रदान गरिंदै आएको बताइएको छ ।
योगमाया स्मृति दिवसको दिन आगामी असार २२ गते ती सम्मानहरु अर्पण गरिने समाजले जनाएको छ ।
