‘अग्रजसँग वर्तमान कविता’को चौथो श्रृङ्खलामा कवि अविनाश श्रेष्ठ

काठमाडौं । कवि अविनाश श्रेष्ठले वर्तमान कविता समूहद्वारा आयोजित ‘अग्रजसँग वर्तमान कविता’ शृंखलाको चौथो संस्करणमा सहभागी हुँदै उनले आफ्नो साहित्यिक जीवन, सिर्जनात्मक यात्रा तथा समकालीन नेपाली साहित्यका विविध पक्षबारे अनुभव साझा गरेका छन् । सो अवसरमा उनले साहित्य केवल सिर्जना मात्र नभई समाज, समय र मानवीय संवेदनासँगको गहिरो संवाद भएको बताए ।

अग्रज पुस्ताका अनुभव र ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले ‘अग्रजसँग वर्तमान कविता’ शृंखला सञ्चालन गरिएको बताउने वर्तमान कविता समूहका विश्व सिग्देलले अगाडि भने- “साहित्यिक परम्परा, मूल्य र अनुभवको हस्तान्तरणका लागि यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्दै गएका छन ।”

कार्यक्रममा कवि श्रेष्ठले असमको गुवाहाटीमा बिताएका प्रारम्भिक साहित्यिक दिन, नेपाली भाषी समुदायका संघर्ष, वरिष्ठ कवि हरिभक्त कटुवालसँगको सान्निध्य तथा नेपाल आएपछि विकसित भएको साहित्यिक यात्राबारे चर्चा गरे । नयाँ पुस्ताका स्रष्टामा सिर्जनात्मक सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै अध्ययन, अनुशासन र निरन्तर साधनाको आवश्यकता उनले औँल्याए । प्रगतिशील चेतना, सामाजिक यथार्थ र श्रमिक जीवनका विषयलाई आफ्नो कविताको केन्द्र बनाउँदै आएका कवि श्रेष्ठ नेपाली साहित्यका विशिष्ट कवि मानिन्छन् । नेपाली साहित्यमा सचेत रूपमा पर्या (इको) कविता लेखनको सुरुवात गर्ने अग्रणी स्रष्टाका रूपमा समेत परिचित श्रेष्ठले ‘करोडौँ सूर्यहरूको अन्धकार’ जस्ता कृतिमार्फत वातावरणीय चेतना र प्रकृतिप्रतिको उत्तरदायित्वलाई नेपाली कवितामार्फत सशक्त रूपमा प्रस्तुत गरेका छन् ।

‘परेवा : सेता–काला’, ‘संवेदना/ओ संवेदना !’, ‘अनुभूति यात्रामा’ लगायतका कृतिका स्रष्टा श्रेष्ठले कार्यक्रममा आफ्ना चर्चित कविता ‘फर्क’ र ‘कुन्नी कुन अपरिचित गाउँकी नैनतारा बरुवा’ वाचन गरे । कवितामा डुबाएर उपस्थित साहित्यप्रेमीहरूलाई आकर्षित गरेका श्रेष्ठ असममा जन्मिएर नेपाली साहित्यमा दीर्घकालदेखि सक्रिय रहँदै आएका स्रष्टा हुन् ।

विशेष अतिथिका रूपमा बंगलादेशकी समकालीन कवि तथा कथाकार सेँजुती बरुवाको पनि सहभागिता रहेको कार्यक्रममा संवाद सत्रपछि आयोजित कवितावाचनमा विष्णुविभू घिमिरे, सुरज पराजुली, केशव भट्टराई, उमेश अकिञ्चन, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, प्रेमिला राई, प्रज्वल अधिकारी, विश्व सिग्देल, रमी प्रिया र शकुन्तला जोशी लगायतले आफ्ना कविता प्रस्तुत गरे भने बंगलादेशी कवि बरूवाले नेपाली, बङ्गाली र अंग्रेजी भाषामा आफ्ना रचना प्रस्तुत गरिन् । बरूवाको उपस्थितिले कार्यक्रमलाई अन्तर्राष्ट्रिय साहित्यिक संवादको स्वरूप प्रदान गरेको प्रतिक्रिया सहभागीहरूले दिए ।

वर्तमान कविता समूहले सञ्चालन गर्दै आएको यो शृंखला नेपाली साहित्यमा पुस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्ने प्रयासका रूपमा लिन थालिएको छ ।

प्रतिकृया दिनुहोस्