सम्पदा, संस्कृति र साहित्यको संगम बन्यो ‘रातोघर साहित्य उत्सव’
काठमाडौं । ‘रातोघर साहित्य उत्सव’ सम्पन्न भएको छ । संस्कृति, सम्पदा र सहरसम्बन्धी विमर्शलाई केन्द्रमा राख्दै रातोघर फाउन्डेसनद्वारा बिजेश्वरीस्थित नेपालभाषा मंकाखलः भवनमा आयोजित उत्सवले साहित्य, मौलिक संस्कृति र सम्पदा संरक्षणप्रति गहिरो बहस सिर्जना गरेको छ ।
कोकोमेह्न्दो टीका–प्रसाद, टुङ्ना र डम्फूको मधुर धुन तथा धिमे वादनबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो । फाउन्डेसनका अध्यक्ष स्नेह सायमिले स्वागत मन्तव्य व्यक्त गर्दै संस्कृति र साहित्यको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
कवि विश्व सिग्देलको सहजीकरणमा सम्पन्न पहिलो सत्रमा उषा शेरचन, लक्ष्मी माली, भीष्म उप्रेती, अभय श्रेष्ठ, रजनीमिला, उत्तम राउत, गीता त्रिपाठी, रजनी ढकाल, सुलोचना मानन्धर धिताल, प्रोल्लास सिन्धुलीया, दीपक सापकोटा, भोजराज न्यौपाने, रामगोपाल आशुतोष, रसिकराज, शकुन्तला जोशी, लक्ष्मी रुम्बा, सुमन थापा सङ्गम, विणा नेम्कुल, रिता खत्री, किसन पौडेल र जुमन किरणगायतले सम्पदा र सभ्यताप्रतिको चिन्तन झल्किने कविता वाचन गरेका थिए ।
उत्सवकै अवसरमा जनही रु. २५ हजार २५ नगदसहित ‘रातोघर च्वसा सम्मान’ रमेशकाजी स्थापितलाई तथा ‘रातोघर उत्कृष्ट सेवा सम्मान’ डा. शङ्करमान राईलाई प्रदान गरिएको थियो । फाउन्डेसनका उपाध्यक्ष वासुदेव अधिकारीले सम्मानित व्यक्तित्वहरूको परिचय गराएका थिए।
सोही अवसरमा कवि स्नेह सायमिको नेपाली कविता सङ्ग्रहको नेपालभाषा अनुवाद ‘ताँः व पखाः त’ को विमोचन पनि गरियो । उक्त कृतिको अनुवाद रमेशकाजी स्थापितले गरेका हुन् ।
‘यो सहर कसको हो?’ विषयक विमर्शमा सुदर्शनराज तिवारी र मल्ल के. सुन्दरले काठमाडौं उपत्यकामा लोपोन्मुख मौलिक संस्कृति, सम्पदा र सभ्यताको संरक्षण चुनौतीबारे गहन धारणा प्रस्तुत गरेका थिए । उक्त सत्रको सहजीकरण दीपक समीरले गरेका थिए ।
त्यसैगरी, ‘स्वनिगः याम्बू र सम्पदाको सहर’ विषयक छलफलमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य तथा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ सहभागी भएका थिए । फाउन्डेसनका अध्यक्ष स्नेह सायमिले सहजीकरण गरेको उक्त सत्रमा जनप्रतिनिधिहरूले संस्कृति संरक्षणसँगै विकासका योजनाबारे आफ्ना दृष्टिकोण राखेका थिए ।
उत्सवको अन्तिम चरणमा मातृभाषामा कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो । नारद बज्राचार्य, नवीनप्रकाश श्रेष्ठ, विना थिङ, अजितमान लामा, ईश्वर थोकर, चन्द्रबहादुर लामा, वसन्त नकर्मी, हिसिलिना शाक्य, रहेना नकर्मी मानन्धर, रश्मि नापित, रितेश त्रिपाठी, तिलक चाम्लिङ राई, राजेश्वरी राजोपाध्याय, अर्जुन महर्जन र राज अक्षोभ्यले आफ्ना सिर्जना प्रस्तुत गरेका उक्त सत्रको सहजीकरण कवि रजनीमिलाले गरेकी थिइन् ।
कार्यक्रमको समापन गर्दै फाउन्डेसनकी महासचिव अनिता लामाले साहित्य र सेवाको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइने बताइन् भने अध्यक्ष सायमीले मौलिक सम्पदा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि आगामी दिनमा थप सिर्जनात्मक कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे ।
वर्तमान कविता समूह, सुरेशकिरण स्मृति गुथि तथा नेपालभाषा मंका खलःको सहआयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन कवि रमि प्रियाले गरेकी थिइन् ।
