‘वर्तमान’को कार्यक्रममा फरक पुस्ताका कविहरूको संयोजन
काठमाडौँ । वर्तमान कविता समूहद्वारा आयोजना गरिएको “अग्रज स्रष्टासँग वर्तमान कविता” कार्यक्रमको पहिलो शृंखला सम्पन्न भएको छ । कार्यक्रममा तीसको दशकदेखि कविता लेखनमा सक्रिय कवि स्नेह सायमी र उनका समकालीन कवि लक्ष्मी माली विशेष अग्रज स्रष्टाका रूपमा सहभागी भए ।
कार्यक्रममा वर्तमान कविता समूहका विश्व सिग्देलले “अग्रज स्रष्टासँग वर्तमान कविता” जस्ता कार्यक्रममा पुस्ताबीचको संवाद विशेष अर्थपूर्ण हुने बताए । अग्रज कविहरूले आफ्नो जीवन अनुभव, समयले दिएको संघर्ष र कविता सिर्जनामा संचित गरेको गहिरो संवेदना बोकेका हुने भएकाले अनुज पुस्ताले उनीहरूलाई सुन्नु आवश्यक रहेको सिग्देलले उल्लेख गरे । अग्रज पुस्ताबाट अनुज कविहरूले भाषा र अभिव्यक्तिको परिपक्वता, साहित्यप्रतिको समर्पण, समाजप्रतिको उत्तरदायित्व र सिर्जनात्मक अनुशासन जस्ता मूल्यहरू ग्रहण गर्न सक्ने उनको भनाइ थियो ।
रविभवनस्थित रातो घरमा आयोजित सो साहित्यिक जमघटमा कवि स्नेह सायमीले आफ्नो पाँच दशक लामो काव्यिक यात्रा र सङ्घर्षका पाटाहरू उधिने । उनले तीसको दशकको निरंकुश पञ्चायती व्यवस्था, वाक स्वतन्त्रताको अभाव र ‘प्रतिभा प्रभा’ जस्ता साहित्यिक अभियानहरूका माध्यमबाट गरिएको वैचारिक विद्रोहको स्मरण गरे । पारिजातसँगको सामीप्यता र उनको सादा जीवनशैलीले आफ्नो लेखनमा पारेको गहिरो प्रभावबारे चर्चा गर्दै सायमीले साहित्य सधैँ भुइँमान्छेको पक्षमा हुनुपर्नेमा जोड दिए । ‘शंखधरको नुगःख्वा’ शिर्षकमा ठिमीको सांस्कृतिक वैभव र फेरिँदो समयको चित्र खिच्दै ‘राजमार्ग’ शिर्षकमा देशको अस्थिर राजनीति र विकासको दुरावस्थामाथि कडा व्यङ्ग्य प्रहार गर्ने कविता पनि वाचन गरे । उनको चर्चित कविता ‘झोला’ ले भने २५ वर्षको समय अन्तरालमा एउटा क्रान्तिकारी पुस्ताको सपना र बदलिएको प्राथमिकतालाई मार्मिक ढंगले प्रस्तुत गरेको थियो ।
कार्यक्रमकी अर्की मुख्य आकर्षण कवि लक्ष्मी मालीले आफ्नो बाल्यकालको स्मृतिदेखि शिक्षण पेशाका चुनौतीपूर्ण दिनहरू समेतको अनुभव सुनाइन् । बालकृष्ण समको हातबाट साहित्यको कखरा सिकेकी मालीले घरको जिम्मेवारी, बुबाको बिमारी र पितृसत्तात्मक समाजको घेरा तोडेर आफूलाई कवितामा स्थापित गरेको प्रेरणादायी कथा सुनाइन् । झापामा शिक्षिका हुँदा बालिका शिक्षाका लागि गरेको सङ्घर्ष र बालविवाह विरुद्धको उनको अभियानले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनायो । काठमाडौँको एउटा पुरानो गल्लीको जीवन्त समाजको चित्र देखाउने ‘नच्छे गल्ली’, पौराणिक पात्रको माध्यमबाट वर्तमानको सामाजिक विभेद र अन्यायलाई उजागर गर्ने ‘एकलव्य’, महिलाको पहिचान र अस्तित्वमाथि गम्भीर प्रश्न उठाइएको ‘आमा तिम्रो नाम के हो’ र युद्ध अनि हिंसा विरुद्धको स्वर मुखरित गरिएको ‘बेलगाम घोडा’ शिर्षकका कविता वाचन गरिन् ।
कार्यक्रममा अन्य कविहरूले पनि आ-आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरेका थिए । कवि भीष्म उप्रेतीले ‘बादल माथि म’ र ‘कमल’ जस्ता कवितामार्फत मानवीय स्वभाव र प्राकृतिक सुन्दरताको चर्चा गरे भने विधान आचार्यले ‘थिमी टु ठिमी’ र ‘पहाड उत्रेका’ कवितामा सङ्घर्ष र स्मृतिको बिम्ब प्रयोग गरे । प्रोल्लास सिन्धुलीयको ‘जन्मजात क्रान्तिकारीको विज्ञप्ति’ ले व्यवस्थाप्रति प्रश्न उठाएको थियो भने अभय श्रेष्ठले ‘अखिल स्त्रीजनको दुखान्त प्रेम कथा’ मार्फत नारी संवेदनालाई स्पर्श गरे । रीमा कार्कीले ‘सृष्टिको प्रयोगशालामा’ कवितामा महिला हिंसा विरुद्धको आक्रामक स्वर प्रस्तुत गरिन् भने रीता बलामीले बालमनोविज्ञानमा आधारित ‘नकुट न मलाई’ कविता वाचन गरिन् ।
त्यस्तै अनिता लामाले ‘घर’ कवितामा सहरको एक्लोपन, बासुदेव अधिकारीले ‘जेन्जी (Gen Z) हरु’ मा पुस्तान्तरणको प्रविधि, रमी प्रियाले ‘रहर’ मा जीवनको उत्कण्ठा, चन्द्रबहादुर लामाले ‘खरानीका सपना’ मा विश्व शान्तिको खोजी र विश्व सिग्देलले ‘बेगर मास्टर’ कवितामा विश्व राजनीतिको दादागिरीमाथि कडा प्रहार गरे ।
अग्रज र अनुज पुस्ताका कविहरूको यो सुन्दर संयोजनले नेपाली कविताको भविष्य उज्यालो रहेको सन्देश दिँदै कार्यक्रम भव्य रूपमा सम्पनन भएकोमा कविहरू दङ्ग थिए ।
