रमेश गुरुङको ‘महाप्रस्थान’ सार्वजनिक

प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यप्रति निरन्तर समर्पित कवि रमेश गुरुङको नयाँ कविता सङ्ग्रह महाप्रस्थान राजधानीमा आयोजित विशेष साहित्यिक समारोहबीच सार्वजनिक गरिएको छ । जीवनका जटिल प्रश्न, मानवीय संवेदना, अस्तित्वको खोज र आध्यात्मिक यात्रालाई केन्द्रमा राखेर तयार गरिएको यो कृतिले नेपाली साहित्यमा नयाँ विमर्श थप्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर को आयोजनामा गत शनिवार काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा साहित्यकार, समालोचक, कवि तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. ले सभापतित्व गरेका थिए ।

कृतिको लोकार्पण वरिष्ठ साहित्यकारहरू रामप्रसाद भट्टराई, राधेश्याम लेकाली, गीता खत्री, रामप्रसाद दाहाल तथा प्रा.डा. खगेन्द्र प्रसाद लुइटेल ले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले ‘महाप्रस्थान’ लाई केवल कवितासङ्ग्रह नभई चेतना, अनुभूति र आत्मसंवादको दस्तावेजका रूपमा व्याख्या गरे ।

समारोहका प्रमुख अतिथि प्रा. रामप्रसाद भट्टराईले रमेश गुरुङका कवितामा आधुनिक जीवनको पीडा, दार्शनिक दृष्टि र गहिरो संवेदनशीलता भेटिने बताए । विशेष अतिथि प्रा. डा. खगेन्द्र प्रसाद लुइँटेल ले प्रवासमा रहेर पनि नेपाली साहित्यलाई निरन्तर ऊर्जा दिने स्रष्टाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

कृतिमाथि समीक्षा प्रस्तुत गर्दै नवराज लम्साल ले रमेश गुरुङका कविताहरूलाई नवीन शैली, गहन चिन्तन र ताजापनले भरिएको बताए । उनका अनुसार कविले परम्परागत अभिव्यक्तिभन्दा फरक बाटो समात्दै आधुनिक मानिसको मानसिक अवस्था र अस्तित्वबोधलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । त्यसैगरी खेमराज पोखरेल ले पनि सङ्ग्रहका कविताहरू भावनात्मक रूपमा अत्यन्त प्रभावशाली रहेको टिप्पणी गरे ।

कार्यक्रममा निर्मल पराजुली, मञ्जिला अनिल लगायतका वक्ताहरूले कृतिको भाषिक सौन्दर्य, दार्शनिक गहिराइ, सामाजिक चेतना र भावप्रवाहबारे धारणा राखेका थिए । उनीहरूले रमेश गुरुङले प्रवासबाट नेपाली साहित्यको निरन्तर सेवा गरिरहेको उल्लेख गर्दै त्यसलाई प्रेरणादायी योगदानका रूपमा व्याख्या गरे ।

कार्यक्रमको सञ्चालन सुशीला खड्का (हसिना) ले  गरेकी थिइन् । कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले यस्ता सिर्जनात्मक गतिविधिले नेपाली भाषा र साहित्यलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. ले नेपाली साहित्यलाई समृद्ध बनाउन प्रवासमा रहेका स्रष्टाहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ‘महाप्रस्थान’ जस्ता कृतिले साहित्यिक यात्रालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

अमेरिकाको कोलोराडो च्याप्टरसँग आबद्ध कवि रमेश गुरुङ ले प्रवासको व्यस्त जीवनबीच पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई निरन्तर आत्मसात गर्दै सिर्जनामा सक्रिय रहँदै आएका छन् । उनको नयाँ कृति महाप्रस्थान ले पाठकलाई जीवनका गम्भीर प्रश्नहरूसँग साक्षात्कार गराउने मात्र होइन, आत्मिक र भावनात्मक यात्रातर्फ पनि डोर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्