श्रेष्ठको ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित

काठमाडौँ । कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पण गरिएको छ । चिवहाल, ठमेलमा आयोजित एक साहितयिक कार्यक्रमका बिच भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ रोदन, प्रा. डा. कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र कवि श्रेष्ठले उक्त कृति सार्वजनिक गरे ।

प्रमुख अतिथि साहित्यकार, कवि भूवनहरि सिग्देलले नेपाली साहित्यमा श्रेष्ठको पदचापमा हिड्ने प्रेरणा सबै कवि साहित्यकारले पाएको बताए । ‘कल्पनाले विलक्षण कवि बौलाउँछ, तर त्यसमा जोड दिँदा सुन्दर कविता जन्मिन्छ’, कवि सिग्देलले थपे- ‘तेजप्रकाशबाट अरुपनि कृतिहरु जन्मिउँन ।’ अर्का सहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले साहित्य र नियात्रा साहित्यमा मात्र नभएर संस्कृतिमा पनि सक्रिय स्रष्टा तेजप्रकाशको कविताप्रतिको प्रेम पनि उच्च देखिएको बताए ।

उक्त कृतिको प्रकाशक समेत रहेको सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा गर्दै प्रा. डा. लामिछानेले लोकार्पित कृतिमाथि परिचर्चा गरे । द्वन्द्व, सन्त्रास, पीडाबाट भयवित जनमानस, कोरोना कहर, दिवंगत आफन्तप्रतिको श्रद्धासुमन आदि समेटिएका श्रेष्ठका कवितामा  संस्कृतिका विभिन्न विषयहरु पनि अटाएका  लामिछानेले बताए ।

अर्का चर्चाकार प्रदीप सापकोटाले सशस्त्र द्वन्द्वकालीन समयको त्रासदी, सर्वसाधारण मान्छेका मनोदशा, नेपाली राजनीतिका विकृति, नेताहरुको स्वार्थ र आम जनताका निराशा, प्राकृतिक विपत्तिहरु, मानवीय संवेदनाका विभिन्न पक्षहरु, आफन्तहरुको शोक, प्रकृतिप्रेम र पर्याचेत, अग्रज स्रष्टाहरुप्रतिको सम्मान, ह्रासोन्मुख संस्कृति जस्ता विषयहरुमा प्रतिकात्मक रूपमा कविता लेखेका कवि तेजप्रकाश श्रेष्ठलाई कवित्वमा समसामयिक चेतका बलिया खम्बाका रूपमा चित्रित गरे ।

कृतिकार श्रेष्ठले आफूले कविता नै लेखेको भन्ने विश्वास नलागेर साथीभाइलाई देखाउँदा आफ्ना रचनाहरूलाई कविताका रूपमा अनुमोदन गरी उत्प्रेरित गरिदिएकाले ‘जाँगरको कल्पवृक्ष’ जन्मिएको बताए । कार्यक्रममा कविहरु सुमन थापा संगम,विश्व सिग्देल र सञ्चारकर्मी तथा लेखक राजेश खनालले लोकार्पित कृतिबाट केही थान कविताहरु बाचन गरे ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गरेका थिए भने पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्