एपेकले गर्यो ‘दिलदार देहल्वी साँझ,नेपाली गजलकार माझ’
काठमाडौँ । एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा ‘दिलदार देहल्वी साँझ,नेपाली गजलकार माझ’ कार्यक्रम गरेको छ । कवि,गजलकार एवं गीतकार वसन्त चौधरीको प्रमुख आतिथ्यमा आइतबार साँझ राजधानीमा उक्त कार्यक्रम आयोजित भएको हो ।
कार्यक्रममा देहल्वीले ‘किसी तौर कोइ बहाने तो आ मोहम्बत नही दिल दुखाने तो आ’ लगायत आधा दर्जन गजल पेश गरेका थिए । सो अवसरमा वसन्त चौधरीले ‘रोज अन्दाज नयाँ हुस्न ने दिखलाया हे’ लगायत केही थान गजल सुनाए । साँझ ढल्दै जाँदा गजलको महफिल पनि झन जम्दै गयो ।
यसै क्रममा घनेन्द्र ओझाले ‘यस्तो जुलुम नगर्नु दोषी म बन्न सक्छु।’ इम्तिहाज बफा के कम,’बस यहि सोच के हम और भी घबराने लगे’ लगायतका अन्य गजल पस्के । जय पौडेलले ‘मन थियो एउटा मसंग बाँकी त्यो पनि उनलाई दिएर आएँ’ भन्ने गुनासो गजल मार्फत नै गर्दै थिए ।
विन्टु केसीका गजल सुन्दा यस्तो लाग्थ्यो, गुनासा नै गुनासाले मन भरिएको छ । तर पनि भन्दै थिइन- ‘गुनासोलाई थाती राखी बात गरौं’ । शान्ति शर्माको गजल उस्तै बेजोड थियो । रवि प्राञ्जलको भिन्दै गुनासो थियो- ‘कागज भए मजबुद हुन्थें फलाम भएर गल्ती गरें’ ।
सानो तर उल्लेख्य गजलकारहरुको जमघटमा माहोल उल्लासमय थियो । धिरेन्द्र महर्षी पनि के कम ! उनले हामी सबैको दैनिकी बनेको मोबाइलमाथि गजलबाट प्रहार गरे- ‘मेरो साथी मोवाइलले जे कुरा नि जान्दोरैछ ।’ रुपक बनवासी, प्रेम प्रमोद ढकाल लगायतले पनि गजल पेश गरेका थिए ।
कार्यक्रममै जीवनमा सधैं दुःख आएको बह पोख्दै सुख पाउने कहिले भन्दै थिए करूण थापा- ‘दुःख मात्रै साथ आयो यो खुशी चाहिँ कहिले आउँछ ?’
प्रमुख अतिथि चौधरीले दिलदारसंगको मञ्च साझा गरेको एक दशकभएको स्मरण गर्दै भने- “दिलदार जस्ता छन्, लेखनीमा उस्तै राम्रा लेख्छन् र त्यतिनै मीठो बोल्छन् ।” जिन्दगी माग्दैमा सकिने भन्दै उनले भने- ‘कहिले आफन्तसंग प्रेम माग्छौं, कहिले उपरवालासंग दुवा माग्छौं । राम्रो काममा मेरो तर्फबाट साथ, समर्थन र सहयोग रहनेछ ।’
यसअघि एपेकका कार्यकारी निर्देशक, कवि राजेन्द्र शलभले समेत मन्तव्य राखे । सोही कार्यक्रममा देहल्वीलाई दोसल्ला र सम्मानपत्र सहित अभिनन्दन गरिएको थियो । कार्यक्रममा गजल बाचन गर्नेहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
सभाध्यक्ष, आयोजक संस्थाका अध्यक्ष विश्वविमोहन श्रेष्ठले एपेक नेपाल विगत २७ वर्षदेखि समकालीन साहित्यका क्षेत्रमा विभिन्न विचारबिमर्श सहितका कार्यक्रमहरुमा अविरल लागिरहेको जानकारी दिए । उनले चैतमा हुने वार्षिक उत्सवमा गजलको एक कृति पुरस्कृत हुने पनि बताए । कार्यक्रमको सहजीकरण धिरेन्द्र महर्षीले गरेका थिए ।
