‘शीतको समुद्र’ : पार्वती भट्टको दोस्रो कृति भव्य रूपमा लोकार्पित
काठमाडौं, असार १९, २०८३, शुक्रवार
शब्दका शीतल तरङ्गहरूमा संवेदना, अनुभूति र जीवनदर्शनलाई मुक्तकका सुन्दर मोतीमा उनेर तयार गरिएको मुक्तककार पार्वती भट्टको दोस्रो कृति “शीतको समुद्र” काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा एक गरिमामय साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ।
साहित्यिक पत्रकार संघ (Literary Journalist Association) को आयोजनामा सम्पन्न उक्त समारोह- संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि डा. भट्टराई तथा अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्दै मुक्तक साहित्यमा यस कृतिले नयाँ उचाइ थप्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाली साहित्य जगतकी तारा गीताकेशरीको दुःखद् निधनमा १ मिनेट मौनधारण गरी प्रारम्भ गरिएको कार्यक्रममा कवि गोकुल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण कृतिमाथिको समीक्षामा वरिष्ठ समालोचक प्रमोद प्रधानले “शीतको समुद्र” मा सङ्गृहीत मुक्तकहरू भाव, भाषा, शिल्प र अभिव्यक्तिका दृष्टिले अत्यन्त प्रभावशाली रहेको उल्लेख गर्नुभयो। उहाँले मुक्तक विधाप्रति पार्वती भट्टको निरन्तर साधना र समर्पणलाई उच्च मूल्याङ्कन गर्दै यही कृतिका आधारमा उहाँलाई नेपाली साहित्यको महत्त्वपूर्ण मुक्तककारका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गर्नुभयो। समीक्षाका क्रममा उहाँले नेपाली मुक्तकको विकासक्रम, यसको सौन्दर्य र समकालीन प्रवृत्तिबारे पनि गहन व्याख्या गर्नुभयो।
कृतिकार पार्वती भट्टले आफ्नो साहित्यिक यात्राको प्रेरणा वंशानुगत रूपमा प्राप्त भएको बताउँदै परिवार, आफन्त, शुभेच्छुक तथा साहित्यकारहरूबाट निरन्तर प्राप्त ऊर्जा, प्रेरणा र हौसलाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले साहित्यप्रतिको आफ्नो समर्पणलाई अझ सशक्त रूपमा निरन्तर अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
समारोहमा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, सभापति राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू ज्ञानुवाकर पौडेल, प्राज्ञ विवश पोखरेल, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठले आ-आफ्ना मन्तव्य राख्दै कृतिको साहित्यिक महत्त्व, मुक्तक विधाको वर्तमान अवस्था तथा सर्जनशीलताको निरन्तरतामाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमलाई थप कलात्मक बनाउँदै कृतिका प्रकाशक तथा क्यानडामा कार्यरत रेडियोकर्मी प्रीति भट्टले आकर्षक भरतनाट्यम नृत्य प्रस्तुत गर्नुभयो। साथै उहाँले आफ्नै स्वरमा “आमा” कविता वाचन गरी उपस्थित सबैलाई भावविभोर तुल्याउनुभयो।
यसै अवसरमा कृतिकारका भाइ केशवराज भट्ट तथा श्रीमान् डा. मोहनप्रसाद भट्टले पनि मन्तव्य राख्दै कृतिकारको साहित्यिक साधना, समर्पण र व्यक्तित्वबारे आफ्ना विचार व्यक्त गर्नुभयो।
कार्यक्रमको बीचमा लोकार्पित कृति “शीतको समुद्र” बाट कविहरू सीता आस्था ढुङ्गेल र मीना चौलागाईंले दुई–दुई वटा मुक्तक वाचन गरी कृतिका भाव र सौन्दर्यलाई जीवन्त बनाएका थिए।
कवि मुरारि सिग्देलको सशक्त सहजीकरणमा सम्पन्न कार्यक्रममा सांसद मनु विश्वकर्मा, वरिष्ठ साहित्यकारहरू पुष्कर लोहनी, हिरण्यकुमारी पाठक, भागीरथी श्रेष्ठ, कलानिधि दाहाल, शङ्कर भारती, शेखर ढुङ्गेल (अमेरिका), डा. भरत भट्टराई, सुनिल अधिकारी, ममता मृदुल, राजेन्द्र के. सी., बादल घिमिरे, उषा के.सी., रमेश दाहाल, ज्ञाननिष्ठ ज्ञवाली, पवन बुढाथोकी, निलान्जना भारद्वाज, दिलानन्द जोशी (डोटी), डी. आर. राई, नीरा श्रेष्ठ, दुर्गाकिरण तिवारी, तारा सुवेदी, सानुराजा अन्जान, सरला पोखरेल सरु, अविकेशर ओली, रेणुका भट्ट, करिष्मा कुँवर लगायत साहित्यप्रेमीहरूको उल्लेखनीय तथा बाक्लो उपस्थिति रहेको थियो।
मुक्तक साहित्यको समृद्धि, स्रष्टाप्रतिको सम्मान र साहित्यिक संवादलाई थप उचाइ दिने उद्देश्यले सम्पन्न यस समारोहले “शीतको समुद्र” लाई नेपाली मुक्तक साहित्यमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा स्थापित गर्ने विश्वास उपस्थित साहित्यकारहरूले व्यक्त गरेका थिए।
