नेपाल च्याप्टरद्वारा २१३औँ भानु जयन्ती साहित्यिक गरिमाका साथ सम्पन्न

काठमाडौं। नेपाली भाषा र साहित्यका आदिप्रेरणा, आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले एक गरिमामय साहित्यिक समारोह आयोजना गरी भानुको अविस्मरणीय योगदानप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ।

पुतलीसडकस्थित अनेसास नेपाल च्याप्टरको सचिवालयमा सम्पन्न कार्यक्रममा भानुभक्तको जीवन, व्यक्तित्व र कृतित्वमाथि गहन विमर्श, कविता वाचन तथा स्रष्टा सम्मान जस्ता विविध साहित्यिक आयामहरू समेटिएका थिए। कार्यक्रममा उपस्थित साहित्यप्रेमी, स्रष्टा तथा बुद्धिजीवीहरूले नेपाली भाषालाई जनजनको जीवनसँग जोड्ने भानुभक्तको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धा व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख वक्ता नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष विधान आचार्यले आदिकवि भानुभक्त नेपाली भाषाका केवल कवि मात्र नभई सांस्कृतिक चेतनाका संवाहक र भाषिक एकताको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो। उहाँले संस्कृतको अभिजात्य सीमाबाट मुक्त गरी रामायणलाई नेपाली जनमानसको आफ्नै भाषामा रूपान्तरण गरेर भानुभक्तले नेपाली साहित्यमा युगान्तकारी योगदान पुर्‍याएको धारणा व्यक्त गर्नुभयो।

समारोहका प्रमुख अतिथि प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले भानुभक्तको काव्यचेतना, भाषिक सरलता र सामाजिक दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै नयाँ पुस्ताले उहाँको साहित्यिक दृष्टिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

विशेष अतिथिहरू अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, भानु प्रतिष्ठानका अध्यक्ष डी.पी. अर्याल, अनेसास बोर्ड अफ ट्रस्टी (बीओटी)का कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल तथा अनेसास पुरस्कार समितिकी सदस्य सन्ध्या पहाडीले पनि आ–आफ्ना मन्तव्यमा भानुभक्तले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचान निर्माणमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँको साहित्यिक आदर्शलाई वर्तमान पुस्तासम्म निरन्तर प्रवाहित गर्नुपर्नेमा जोड दिनुभयो।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा अनेसास केन्द्रीय समितिका नवनिर्वाचित सदस्य **राजेन्द्र के.सी.**को सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका लागि निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका अनेसास बीओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेललाई सम्मान तथा स्वागत गरिएको थियो। साथै, भानु प्रतिष्ठानको अध्यक्ष पदमा निर्वाचित हुनुभएका डी.पी. अर्याललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमको अर्को आकर्षक पक्ष कविता वाचन रह्यो। कविहरू अविकेशर ओली, रुपा रिसाल, देवेन्द्र के.सी. ‘देवु’, शान्ति रिसाल, ओमकुमारी रानाभाट, चेवन बस्नेत ठुलाघरे, कृष्णप्रसाद जस्ताघरे लगायतले भानुभक्तप्रति समर्पित तथा समकालीन चेतनाले ओतप्रोत आफ्ना सिर्जनाहरू वाचन गरी साहित्यिक वातावरणलाई अझ भावमय बनाएका थिए। कविताहरूमा भाषा, संस्कृति, राष्ट्रियता, मानवीय संवेदना र सृजनात्मक चेतनाका विविध स्वरहरू मुखरित भएका थिए।

कार्यक्रमको प्रारम्भमा अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष मञ्जिला अनिलले स्वागत मन्तव्य व्यक्त गर्दै भानु जयन्ती केवल एक स्मृति दिवस नभई नेपाली भाषा, साहित्य र सांस्कृतिक पहिचानप्रतिको सामूहिक प्रतिबद्धताको उत्सव भएको धारणा राख्नुभयो। कार्यक्रमको कुशल सञ्चालन महासचिव रञ्जना निरौलाले गर्नुभएको थियो।

साहित्यिक सौहार्द, सिर्जनात्मक ऊर्जा र भाषिक गौरवले भरिपूर्ण उक्त समारोहले आदिकवि भानुभक्त आचार्यप्रतिको सम्मानलाई पुनः उजागर गर्नुका साथै नेपाली भाषा–साहित्यको संरक्षण, संवर्द्धन र विश्वव्यापी प्रवर्द्धनप्रति अनेसास नेपाल च्याप्टरको प्रतिबद्धतालाई थप सुदृढ बनाएको अनुभूति सहभागीहरूले गरेका थिए। भानुको अमर काव्यधाराले पुस्तौंपुस्तासम्म नेपाली भाषा र साहित्यलाई आलोकित गरिरहने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्