साहित्यकार एवं साहित्यिक पत्रकार शर्माको सम्झनामा शोक सभा
काठमाडौँ । साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको स्मृतिमा शोक सभा भएको छ । राजधानीमा हालै आयोजित शोकसभामा शर्माको तस्विरमा माल्यार्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरियो ।
सभामा बोल्ने अधिकांश बक्ताहरुले शर्माको व्यक्तित्व र योगदानको चर्चा गरे । सो क्रममा शर्माका मित्र साहित्यिक पत्रकार एवं रचनाका प्रधान सम्पादक रोचक घिमिरेले शर्मासँगका विभिन्न अविष्मरणीय पलहरु स्मरण गर्दै भाषा साहित्यमा शर्मालाई आफ्नो जोडाको रुपमा बिम्ब स्थापित भएको बताए । दुबैजनाले कतिपय पुरस्कार र सम्मानहरु संयुक्त रुपमा पाएको पनि उनले जानकारी दिए । शर्मा र अभिव्यक्ति साहित्यिक पत्रिका परिपूरक देखिएको भन्दै घिमिरेले शर्माको अगुवाइमा अनवरत प्रकाशित ‘अभिव्यक्ति’को निरन्तर प्रकाशन नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यस्त गरे ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं नराश कोषका सदस्य रामप्रसाद पन्तले शर्माको बारेमा जति लेखेपनि कम हुने बताए । उनले उदार र सहृदयी व्यक्तिका रुपमा शर्मालाई स्मरण गरे ।
नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष एवं जनमतका प्रधान सम्पादक मोहन दुवालले अभिव्यक्तिमा बाँचिरहेका व्यक्तित्वको रुपमा शर्मालाई सम्झिए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष एवं नराशका सदस्य श्रीओम श्रेष्ठ ‘रोदन’ले शर्मालाई नबिर्सन उहाँले गरेका सत्कर्मलाई अनुसरण गर्न सकियो भने उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । अभिव्यक्ति पत्रिकाको निरन्तरताको निम्ति उनले सबैजना लाग्नुपर्नेमा जोड दिए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शर्मासँगका पुराना दिनहरू स्मरण गर्दै आँखामा राख्दापनि नबिझाउने मान्छेको रुपमा शर्मालाई चित्रण गरे भने कवि एवं नराश सदस्य विधान आचार्यले शर्माले सुन्दर र अनुकरणीय जीवन बाँचेको भावना व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार किशोर पहाडी, ज्ञानुवाकर पौडेल, डा. नवराज रिजाल, शर्माका सुपुत्र प्रणयराज शर्मा, त्रिभुवनचन्द्र वाग्ले, शुकदेव उपाध्याय, तारा सुवेदी लगायतले शर्माको व्यक्तित्व बारे प्रकाश पार्दै आफ्ना अनुभव र अनुभूतिहरू साझा गरे ।
नेपाल स्रष्टा समाज, अभिव्यक्ति परिबार र नराशको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम ‘अभिव्यक्ति’का प्रधान सम्पादक एवं नराश साहित्यिक पत्रकारिता पुरस्कार कोषका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको थियो ।
पुरस्कार कोषका सदस्य सचिव देविका तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष शंकर भारतीले धन्यवाद ज्ञापन गरे ।
शर्माको गत असार ३१ गते ८९ वर्षको उमेरमा निधन भएको थियो ।
