विमला निरौला ‘अन्तर्दृष्टि’ को प्रधान सम्पादकमा नियुक्त
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले संस्थाकी पूर्व केन्द्रीय महासचिव तथा साहित्यकार विमला निरौलालाई अनेसासको मुखपत्र ‘अन्तर्दृष्टि’ को प्रधान सम्पादकमा नियुक्त गरेको छ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीद्वारा प्रधान सम्पादकका लागि प्रस्तावित निरौलाको नामलाई केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै उक्त नियुक्तिले औपचारिकता पाएको हो।
अनेसासको आधिकारिक मुखपत्रका रूपमा प्रकाशित हुँदै आएको ‘अन्तर्दृष्टि’ ले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका साथै विश्वभर रहेका नेपाली स्रष्टा, साहित्यकार तथा साहित्यिक गतिविधिहरूलाई समेट्दै आएको छ। यसले अनेसासका गतिविधि, साहित्यिक सिर्जना, विचार, समीक्षा, अनुसन्धान तथा समसामयिक साहित्यिक विमर्शलाई पाठकसमक्ष पुर्याउने महत्त्वपूर्ण माध्यमका रूपमा भूमिका निर्वाह गर्दै आएको छ।
अनेसासको केन्द्रीय महासचिवका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी निरौलासँग संस्थागत कार्य, साहित्यिक गतिविधि तथा सम्पादकीय क्षेत्रमा रहेको अनुभवले ‘अन्तर्दृष्टि’ लाई थप स्तरीय, समावेशी र प्रभावकारी साहित्यिक प्रकाशनका रूपमा अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा अनेसासले गरेको छ।
