भोटेकोशी बाढीमा साहित्यिक संघ–संस्थाको ऐक्यबद्धता

विपत्तिमा परेकाको उद्धार र सहयोगमा जुट्न
सिर्जनकर्मीको आह्वान

काठमाडौं, भदौ ११ — छिमेकी मित्रराष्ट्र चीनमा हिमताल फुटेर आएको बाढी नेपाल प्रवेश गरी सीमावर्ती भोटेकोशी नदी हुँदै रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुर्‍याएको अकल्पनीय जनधनको क्षतिप्रति विभिन्न साहित्यिक संघ–संस्थाले गहिरो दुःख व्यक्त गर्दै सामूहिक ऐक्यबद्धता जनाएका छन्।

रमेश विकल साहित्य प्रतिष्ठान, साहित्यिक पत्रकार संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नेपाल च्याप्टर, शंकर लामिछाने प्रतिष्ठान, नेपाल स्रष्टा समाज, वासु शशी स्मृति परिषद्, एपेक नेपाल, नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, गुन्जन, नेपाल मुक्तक प्रतिष्ठान, उपन्यास समाज नेपाल, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान, लीलाध्वज थापा साहित्य प्रतिष्ठान, दायित्व वाङ्मय प्रतिष्ठान, गीतकार संघ नेपाल, भूगोल साहित्य समाज, सुनकोशी वाङ्मय प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र लघुकथा समाज, अनेसास दर्पणलगायतका साहित्यिक संस्थाका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विपत्तिप्रति दुःख व्यक्त गरेका हुन्।

विज्ञप्तिमा अप्रत्याशित रूपमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले सम्पूर्ण नेपालीलाई शोकमग्न बनाएको उल्लेख गर्दै घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिमा परेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

“यो समय राष्ट्रिय शोकको समय हो” भन्दै सिर्जनकर्मीहरूले विपद्को यस घडीमा सम्पूर्ण नेपाली एकजुट भएर उद्धार, राहत तथा सहयोगमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा सरकार तथा निजी क्षेत्रबाट भइरहेका र आगामी दिनमा हुने उद्धार तथा राहतका प्रयासप्रति ऐक्यबद्धता प्रकट गर्दै विपत्तिबाट नआत्तिई धैर्य र संयमताका साथ आ–आफ्नो ठाउँबाट उद्धार तथा सहयोगका कार्यमा सहभागी हुन सबै नेपालीमा हार्दिक आह्वान गरिएको छ।

साहित्यिक क्षेत्रका अग्रणी संस्थाहरूको यस सामूहिक अपिलले विपद्को घडीमा साहित्य र सिर्जनाको क्षेत्र मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिएको सन्देश दिएको छ।

संयुक्त विज्ञप्तिमा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, साहित्यिक पत्रकार संघ तथा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नेपाल च्याप्टरका अध्यक्ष मन्जिला शर्मा तथा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वासु शशी स्मृति परिषद्का अध्यक्ष कालीप्रसाद रिजाल, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ, नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिला, गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारती, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल, नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य र लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइरालाको नाम उल्लेख छ।

संयुक्त विज्ञप्तिका लागि संस्था समन्वय समिति संयोजक राधेश्याम लेकाली रहेका छन् ।

प्रतिकृया दिनुहोस्