अक्वैरियम जिन्दगी
अथाह सागरको अनन्त गहिराइबाट
कठै ! अलग्याइएको म
तिम्रो निगाहले पठाइएका
कृत्रिम अक्सिजन फुल्का लिएर
फुत्त–फुत्त खसालिने खुराकमा बाँचिरहेको
एक अक्वैरियम जिन्दगी ।
मेरा रङ्गिन वदनबाट परावर्तित किरणहरूले
तिमी आफूलाई उजिल्याइरहेछौ
विनष्ट पारिरहेछौ आफ्ना थकानहरू
च्याम्बरभित्रको मेरो पीडाको पौडीमा
मुसार्दैछौ
महंगो काँचको एउटा सानो आयतन
मेरो संसार
एक अक्वैरियम जिन्दगी ।
कसरी देख्नु र तिमीले !
सो–केसभित्र पानीमा मिसिएका नयन धाराहरू ।
कसरी सुन्नु मौन मेरो आवाज !
जब वाक् इच्छाहरू हरदम मारिरहेछु
एउटा भयानक डरले
“बोल बोल माछा मुखभरि पानी”
कहावत एक यथार्थ
आखिर म त तिम्रो लागि रङ्गिन
एक अक्वैरियम जिन्दगी ।
तिम्रो आनन्दको नाममा बन्दी म
अकिञ्चन जलचर
फनफनी घुमिरहेछु एउटा लघु संसारमा
काँचका भित्ताहरूमा
बारम्बार ठोक्किँदै
तिम्रै बैठकको एउटा कुनाबाट
भेट्न खोजिरहेछु काँच बाहिरको
सीमाहीन पानीको साम्राज्य
उन्मुक्तिको ‘मिथ अफ सिसिफस’
यात्रामा तल्लीन
म एक निर्दोष कैदी
एक अक्वैरियम जिन्दगी ।
(सम्पर्क: [email protected])
(कवि अधिकारी वरिष्ठ मानसिक रोग बिशेषज्ञ तथा मानसिक अस्पताल पाटनका निर्देशक हुनुहुन्छ)